नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ। राणा शासनका विरुद्ध संघर्ष गर्दा बिक्रम सम्बत १९९७ मा धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेका थिए । उनीहरूको सम्झनामा नेपालमा सहिद दिवस मनाउन थालिएको थियो । नेपाल मगर संघले लखन थापलाई नेपालको पहिलो सहिद घोषणा गर्न माग राख्दै आएको थियो । नेपाल सरकारले लखन थापालाई पहिलो सहिदको मान्यता दिएकोछ । राणा शासनका विरुद्धमा विद्रोहमा लागेको आरोपमा बिक्रम सम्बत १९३३ फागुन २ गते उनकै गृह जिल्ला गोर्खामा उनको हत्या गरिएको थियो ।
विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती नजिक मृत्युदण्ड दिइएको थियो। नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडिएको थियो। राणाहरूले ब्राहमण हत्या गर्न नहुने हिन्दु धार्मिक मान्यतालाई ख्याल गरेकाले आचार्य र शर्मा दुई जना मृत्युु दण्ड पाउनबाट बचेका थिए । यो घटनापछि जेल बन्दीहरूले जेलमै सहिद दिवस मनाउन थालेका थिए ।
१९९७ को घटना पछि नेपालको राष्ट्रिय स्वाधीनता ,लोकतान्त्र, जनजीबीकाका लागि चलेका संघर्षहरूमा कैयौं वीर बिरङ्गनाहरूले सहादत प्राप्त गरेका छन् । विद्यार्थी आन्दोलनमा काठमाडौको विश्व निकेतन स्कूलका विद्यार्थी चिनियाँ काजी श्रेष्ठ ( २००८ ) देखि पन्चायतकालमा विद्यार्थीहरू मित्रमणि आचार्य,फणीन्द्र तिमिल्सिना,शिव पौडेल, शिक्षक टङ्क भुसालले सहादत प्राप्त गरेका थिए । २०४६ को जन आन्दोलनको पहिलो सहिद सूर्य घिमिरे थिए । उनले पाल्पाको रामपुरमा सहादत प्राप्त गरेकाथिए । ०६२÷०६३ को जन आन्दोलनको पहिलो सहिद देविलाल पौडेल हुन् । उनी बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी थिए । ०६२÷०६३ को जन आन्दोलनमा २५ जनाले सहादत प्राप्त गरेका थिए । १० वर्षको जनयुद्धमा हजारौंले सहादत प्राप्त गरेका थिए ।
देश र जनताको लागि जीवनको आहुती दिने महान सहिदहरुलाई सम्झिने र उनीहरुको सपना प्रति प्रतिवद्ध रहन सहिद दिवस मनाइन्छ । सहिदहरूको त्याग वलिदानकै कारण आजको व्यबस्था आएको हो । सत्तामा पुगे पछि सहिद दिवस औपचारिकतामा सीमित राख्ने ,सहिदको सपना बिर्सने र व्यक्तिगत स्वार्थ सिद्धीमा लाग्ने प्रवृति अत्यन्तै मौलाएर गएकोछ । देश र जनताको सुन्दर भबिष्यको सपना देखेका ज्यानको आहुती दिएका सहिदहरूका सपना पूरा भएका छैनन् । देशको स्वाधीनता, राष्ट्रियता र जनताका अधिकार कमजोर हुँदै गएका छन् । जहिलेसम्म जनताले वास्तबिकरूपमा यो देशमा स्वतन्त्रता र समानताको अनुभुति गर्ने गरी परिवर्तन आउँदैन त्यतिन्जेल सम्म सहिदको सपना पूरा हुने छैन । सहिदको सपनालाई अपमान गर्नेहरूका विरुद्ध संघर्ष गरेर ,अन्याय, अत्याचार, शोषण ,दमनका विरुद्धमा न्यय र समानताका पक्षमा संघर्ष गरेर नै हामी सहिदले देखेको सपनाको पथलाई अनुशरण गर्न सक्ने छौँ ।
सहिदहरुले ज्इान बलिदान दिन तयार नभएको भए आज नेपाली जनताले जे जति स्वतन्त्रता उपभोग गर्न पाएका छन्, ती पनि प्राप्त हुने थिएनन् । नेपाली जनताले उपभोग गर्न पाएका मौलिक अधिकारदेखि सम्पूर्ण स्वतन्त्रताका हकहरुमा सहिदहरुको बलिदान मिसिमएको छ । देश र जनताको वास्तविक मुक्ति त अझ बाँकी नै छ । त्यो मुक्तिका लागि पनि हामी सहिदहरुकै निष्ठालाई अनुशरण गर्नुपर्दछ । सहिद दिवसका अवसरमा हाँक साप्ताहिक परिवारको तर्फबाट सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुमा हार्दिक श्रद्धाञ्जली !
सहिद दिवस

Comments