स्वर्गद्वारीको गुठी मोहीका समस्या

स्वर्गद्वारी मन्दिर प्यूठान जिल्लाको दक्षिण पश्चिममा पर्दछ । मन्दिरस्थल दाङ र रोल्पा जिल्लाको सिमानामा पर्दछ । स्वर्गद्वारी गुठीका मोहीहरु जमिनको स्वामित्वको माग गर्दै माघ २० देखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । त्यसो त उनीहरु वषौंदेखि स्वर्गद्वारी मन्दिरका मोही किसानहरु आन्दोलनमा छन् तर उनीहरुको आन्दोलनको उपलब्धि हुन सकेको छैन । स्वर्गद्वारी गुठीको जग्गामा पुस्तौंपुस्तादेखि जोतभोग गर्दै आइरहेका किसानहरुले भू–स्वामित्वको अधिकार प्राप्त गर्न सकेका छैनन् ।
व्यवस्था फेरियो, सरकारहरु पटक पटक फेरिएका छन् । सरकारका विगत र वर्तमानका प्रमुखहरु,राजनीतिक दलका शीर्ष नेताहरु सबैलाई भेटेर आफ्नो मागको विषयमा कुराहरु राखे पनि उनीहरुको माग अझै पूरा हुन सकेको छैन । उनीहरुको मुख्य माग स्वर्गद्वारी गुठीको जग्गा मोही किसानको नाममा रैतानी गर्नु पर्छ भन्ने हो । विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनस्र्थापित गर्नुपर्ने, किसानहरुले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडा मार्फत बुझाउने व्यवस्था हुनु पर्ने लगायत उनीहरुको माग रहेका छन् ।
उनीहरुले २०४५ सालदेखि पटक पटक आन्दोलन गर्दै आएका छन् तर पनि उनीहरुको मागको सुनुवाई हुन सकेको छैन । गत वर्ष २०८० फागुन ७ देखि ३१ दिनसम्म दाङ मै आन्दोलन गरेका थिए । सरकारसँग सम्झौता पनि भएको थियो । सम्झौतामा भनिएको थियो, “स्वर्गद्वारी गुठीका मोही किसानहरुको समस्या समााधान हुने गरी अविलम्व एकीकृत गुठी विधेयक ल्याउने प्रक्रिया थालनी गरिने छ ।” तर सम्झौताको कार्यान्वयन हुने कुनै सुरसार भएन । अहिले उनीहरु हलो जुवा सहित फेरि काठमाडौं आएर आन्दोलनमा छन् । उनीहरुसँग भएको मोहियानी पूर्जा पनि २०६२ चैत्र १४ को सर्वोच्चको परमादेश पछि खारेज भएको छ ।जग्गाआवाद गरेवापत गुठीलाई रकम बुझाउँदै आएका छन् । उनीहरुले जोतभोग गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा मोहीहरु अत्यन्तै मर्कामा परेका छन् । जग्गाको स्वामित्व गुठीसँग भएकाले जग्गा चलाएर अप्ठ्यारो गाह्रो टार्नसक्दैनन् ।बैंक,वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सक्दैनन् । देशै भरिका गुठीमा जोत भोग गर्दै आउने किसानहरुको अवस्था यही हो । यो स्थितिको समाधानको माग गर्दै किसानहरुले आन्दोलन गर्छन् । समाधान हुन्छ भनेर आश्वासन पनि प्राप्त हुन्छ तर आश्वसनमात्रै हुन्छ अधिकार प्राप्त हुँदैन ।
स्वर्गद्वारी गुठीका मोही दाङ जिल्लामा १२ गाउँमा ३ हजार ५ परिवारका करिब १६ हजारको बसोबास छ । कुल १ हजार ५० विघा जमिन गुठी अन्र्तगत दाङमा र करिब ३ सय विघा जमिन प्यूठानमा किसानले खेतीपाती गर्दै बसोबास समेत गर्दै आएका छन् । उनीहरुको पुस्तौं पुस्ता बितेको छ । यो सामन्ती शोषणको अवशेष हो । किसानहरुको हातमा जमिनको स्वामित्व छैन । किसानहरु केवल शोषणको मारमा छन् ।
रैतानी दिनकोलागि कानुनी जटिलताहरु रहेका छन् । ती जटिलताहरुलाई तत्कालै हटाउनु पर्दछ । उनीहरुको हक स्थापित हुनको लागि भूमि स्वामित्वको अधिकार मोहीहरुलाई प्राप्त हुनु पर्दछ ।वर्षौंदेखि भोग चलन गर्दै आएको जमिनको स्वामित्वको पर्खाइमा पुस्तौं वित्नु लोकतान्त्रिक गणतन्त्रको उपहास हुनु हो । जनताले पटक पटक जनअधिकारको लागि भन्दै गरेका संघर्षको अवमूल्यन हो । किसानविरोधी नीति खारेज गर्नु पर्दछ ।किसानहरुको स्वामित्वकाृ हक तुरुन्त स्थापित हुनु पर्दछ ।
१७ महिला सहित ३८ जना मोही किसानहरु दिनदिनै सडकमा प्रदर्शन गरेका छन् । घर, व्यवहार छोडेर काठमाडौं आन्दोलनमा आउनु उनीहरुको बाध्यता हो । उनीहरुले समग्र गुठी पीडित मोहीहरुको प्रतिनिधित्व गर्दछन् । सरकारले अविलम्व उनीहरुको माग सम्बोधन गर्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित