-रामबहादुर बुढा
नेपाल कम्युनिस्ट पार्टीले २०३६ साल मङ्सिर ५ देखि ११ सम्म प्यूठान जिल्ला, तत्कालीन अर्खा गाउँ पन्चायतको हालहाल डाँडा भन्ने ठाउँमा सैद्धान्तिक र शारीरिक प्रशिक्षण राखेको थियो । यहाँ नेकपा भन्नाले २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न गरेको नेकपाको एउटा समूह ÷ धार लाई सम्झनु पर्दछ । प्रशिक्षणमा सैद्धान्तिक र राजनीतिक प्रशिक्षण नेकपाका केन्द्रीय सदस्य मोहन वैद्ध र शारीरिक प्रशिक्षण खगुलाल गुरुङ्ले दिनु भएको थियो ।
अर्खाको हालहाल डाँडा अहिले प्यूठान जिल्लाको गौमुखी गाउँ पालिका वडा नम्वर २ मा पर्दछ । सोही गाउँ पालिकाको वडा नम्बर ३ खरा गाउँको सिमानामा हालहाल डाँडा पर्दछ । लेक – छहरागाउँको शिरमा हालहाल डाँडापर्दछ।हालहाल डाँडा भन्दा माथि मानव वस्ती छैन । उत्तर तर्फ खर्यान भीर, खर्यान भीर भन्दा माथि घनघोर जङ्गल र ठूलो नाङ्गीसम्मको बागलुङ जिल्ला छुट्टाउने लेक शृङ्खला पर्दछ । हालहाल डाँडा भन्दा दक्षिण तिर÷ तल्लो भागमा लेक छहरा गाउँ र त्यस भन्दा तल लसुने डाँडा पर्दछ । त्यो डाँडाको पूर्व तर्फ भलायो भिरको खर्यान र प्यूठानको सुन्दर बाईसमूल झरना पर्दछ । हालहाल डाँडा बाईसमूल झरना भन्दा उच्च स्थानमा पर्दछ । हालहाल डाँडा समून्द्र सतहबाट करीव २६ सय मिटर उचाइमा पर्दछ । हालहाल डाँडा गाउँको शिरानको समथर डाँडा हो । त्यहाँ प्यूठनको अर्खा र रजवाराको अधिकाँश भाग मात्र होइन , दक्षिण तर्फ झिम्रुकले बनाएको सुन्दर खोँच सहित प्यूठानको निकै टाढा सम्मको क्षितिज देख्न सकिन्छ ।
अर्घाखाँचीका पिताम्वर आचार्य ,गुल्मीका युवराज पन्थी, रोल्पा थवाङका कमल बुढा, सूर्यलाल बुढा, प्यूठान खराका टीका गुरुङ लगायतले त्यो प्रशिक्षणमा भाग लिएका थिए ।
गाउँलेहरुले पहाडको समथर चौरमा गाई भैंसीका लागि आहाल (पोखरी) बनाएको र आहाल अप्रभंस भई हालहाल ठाउँको नाम हुन गएको एकथरीको भनाई छ भने हलहले (तरकारी खान मिल्ने भुँइमा हुने एकप्रकारको साग) धेरै मात्रामा हुने भएकाले त्यो ठाउँको नाम हालहाल राखिएको हो भन्ने अर्को भनाई छ । जे भए पनि एक समयमा कम्युनिस्टहरुले राजनीतिक र शारीरिक प्रशिक्षणका लागि प्रयोग गरेको स्थल हालहाल डाँडा थियो । त्यो प्रशिक्षण अवधिभरका लागि बस्नका लागि लुगा र पकाएर खाने भाँडाकुडाहरु खर्चपर्च सबै खराबाट बोकेर हालहाल डाँडा पु¥याइएको थियो । राजनीतिक प्रशिक्षण मोहन वैद्यले दिनुभयो र खगुलाल गुरुङ भारतीय रिटायर आर्मी भएकाले उहाँलाई हतियार सम्बन्धी ज्ञान भएकाले उहाँले प्रशिक्षार्थीहरुलाई राइफल चलाउन सिकाउनु भएको थियो ।
त्यो प्रशिक्षणमा मोहनविक्रम सिंह पनि प्रशिक्षकका रुपमा पुग्ने कार्यक्रम थियो । उहाँ दाङबाट आउँदा खुट्टा सुन्निएकाले हिंड्न नसकेर ओखरकोटको दारिमचौरसम्म पुगेको र आफू आउन नसकेको खबर पठाउनु भएको थियो । कतिपयले सिआइडी पछि लागेकाले अगाडि नबढेको पनि भनेका छन् ।
प्रशिक्षण सकिएपछि माथि लेकतिर गएर शिकार खेल्न गएको, लेकमा रोल्पा थवाङबाट आएका साथीहरुले जंगली विषको जानकारी गराएको,रोल्पालीहरु पश्चिमतिर लागेको, गुल्मी, अर्घाखाँचीका साथीहरु पूर्वतर्फ बाइसमूलको झरनाको फेंदी हुँदै आ–आफ्नो स्थानतिर लागेको सहभागीहरुको सम्झनामा छ ।
नेपाली कम्युनिस्ट आन्दोलन (चौथो महाधिवेशन धार)मा बाघे ओडार प्रशिक्षण एउटा ऐतिहासिक प्रशिक्षण ठानिन्छ । बाघे ओडार बागलुङ गल्कोटबाट पश्चिमतर्फ पर्दछ । बाघे ओडार केन्द्रीय प्रशिक्षण थियो भने सहभागीहरुले बताए अनुसार हालहाल डाँडाको प्रशिक्षण क्षेत्रीय व्यूरोले आयोजना गरेको प्रशिक्षण थियो ।
कम्युनिस्ट आन्दोलनमा आस्था राख्नेहरुले हालहाल डाँडामा २०३६ सालको त्यस प्रशिक्षणलाई स्मरण गराउने स्मारक स्तम्भ बनाउनेतिर ध्यान दिंदा हुन्थ्यो कि ?
(नोट ः यो संक्षिप्त लेख मोहन वैद्ध, खगुलाल गुरुङ, युवराज पन्थी,पिताम्बर आचार्य, टीका गुरुङ सित फरक फरक समयमा गरिएको कुराकानीका आधारमा तयार गरिएको हो)