-लोकनारायण सुवेदी
आजको विश्वमा कुनै घातक र भयंकरठूलो खतराको पहिचान गर्ने हो भने त्यो निश्चय नै विद्यमान परमाणु हात हतियारको उपयोगको खतरा नै सबैभन्दा विनाशकारी र घातक हुनेछ । यतिबेला विश्वमा लगभग १३ हजार परमाणु हतियार रहेको यथार्थ विश्लेषकहरुले उल्लेख गरेका छन् । ती मध्येमा तिनको ५ देखि १० प्रतिशत मात्र उपयोग पनि वास्तवमा हुन गयो भने यो विश्वका ८ अर्बभन्दा बढी मानिसमा शायदै कोही पनि बच्ला ! यदि त्यस भयावह विस्फोटको परिणामबाट निस्कने आगोको ज्वाला र विकिरणबाट कोही बचिहाल्यो भने पनि त्यस प्रलयकारी विस्फोटको दीर्घकालीन असरले बाँकी बचेका सबै नै केही समय पछि कालकलवित हुनेछन् । त्यसैले आज परमाणु हात हतियारको यो सम्भावित घोर विनाशकारी प्रयोगको आशंकाबाट यो धर्तीका मानव लगायत सबै प्राणी र वनस्पतिलाई बचाउन सबैभन्दा उच्चतम र गम्भीर प्राथमिकता दिइनुपर्ने कुरा विश्वकै सर्वोपरी र केन्द्रीय विषय बन्नु पर्ने टड्कारो आवश्यकता बन्न गएको छ ।
अहिलेसम्म विश्वका परमाणु हतियारहरुको उपयोग केवल दुइ पटक मात्र भएको छ । सर्वप्रथम १९४५ अगष्ट ६ र ९ मा जापानको हिरोशिमा र नागाशाकीमा । त्यसमा पनि आजका अधिकांश परमाणु हतियारहरुभन्दा ती जापानमाथि खसालिएका परमाणु बमहरु धेरै नै कम विध्वंशक थिए । तर तिनैबाट मात्रै पनि अत्यन्तै भयंकर प्रलयकारी विध्वंश मच्चिएको थियो । हुन पनि ६ अगष्टका १९४५ को त्यो दिन जापानको हिरोशिमा शहरमा सूर्यका जीवनदायिनी किरणहरुले एउटा अर्को नयाँ दिनको आह्वान गरिसकेको थियो र त्यसबाट आलोकित जापानीहरु आ–आफ्नो काममा लाग्न थालिसकेका थिए । तर त्यो दिन सदा झै अरु दिन जस्तो थिएन । किनभने विहानको ३ बजेतिरै अमेरिकी वायुसेनाका कर्नेल पान ताईबत र रबर्ट लुई एउटा बी–२९ बिमानमा त्यतिबेलासम्म विश्वमा निर्मित सबैभन्दा विनाशकारी शस्त्र लिएर हिरोशिमाका लागि हिडिसकेका थिए’ । एउटा क्रूर ठट्टा अन्तरगत त्यस शस्त्रको नामा ‘सानो केटा’ अर्थात ‘लिटिल ब्वाय’राखिएको थियो । तर त्यो थियो विश्वको पहिलो ‘परमाणु बम’ । ३१,००० फिटको उच्चाईमा उडिरहेको राक्षसको अग्रदूत बनेको त्यो बिमान हिरोशिमाको ठिकमाथि आकाशमा पुग्यो र त्यहाँबाट त्यो बमलाई यसरी खसालियो कि जसबाट हिरोशिमा शहरको २००० फिट माथिबाटै त्यसको विस्फोट होस् र त्यसबाट अधिक विनाश सम्भव हुन सकोेस् ।
त्यस दिन हिरोशिमाका ती निर्दोष जापानीहरुले पहिला त एउटा अत्यन्तै तेज चमक जस्तो देखे जसको अगाडि सूर्यको चमक पनि उनीहरुका लागि फिका जस्तै लाग्यो । त्यसपछि उनीहरुलाई लाग्यो सूर्यका किरणहरु उनीहरुबाट खेस्नका लागि एउटा गहिरो अँध्यारो छायो । शायद त्यतिबेलासम्म पनि उनीहरुलाई कुनै अत्तोपत्तो थिएन कि त्यस अध्यारो धूलोको पत्रमा हजरौं हजार मानिसहरु र अन्य असंख्य जीव जन्तुहरुका कणहरु पनि सामेल थिए । त्यो अपूर्व महाविस्फोट तिनका शरीरका टुक्रा टुक्रा तुल्याएको थियो । एक÷एक ७० हजार मानिसको एकै चिहान भएको थियो । तर भयंकर पीडाले चिच्याउँदै कराउँदै मर्दै गरेका मानिसहरुको संख्या त त्यो भन्दा पनि दुइ तीन दोब्बर बढी थियो भनिन्छ । त्यतिबेला अढाई लाख जनसंख्या भएको त्यो सुन्दर जापानी शहर हिरोशिमाका १,६०,००० मानिस तत्कालै मारिए र एकदमै नराम्रोसँग घाइते भएका मानिस पछि कालकलबित भए । अनि अधिकांश अन्य मानिसहरुले र आउदो पिंढीले पनि दीर्घकालीनरुपमा त्यो परमाणु बमको असैह्य पीडा झेल्नु परेको थियो । यसरी बाँचेका हजारौ जापानीहरुले जुन यातना भोग्नु परेको थियो त्यो असैह्य र अवर्णनीय थियो ।
त्यतिबेला विस्फोटको केन्द्रमा तापमान ३००० हजारदेखि ४००० डिग्री सेण्टीग्रेडसम्प पुगेको थियो भनिन्छ । जबकि फलाम नै १,५५० डिग्री सेल्सियसमा पग्लिन्छ । त्यतिबेला एकजना १५ वर्षकी मिशियो यामोका नामकी बालिका त्यो विस्फोट भएको केन्द्रबाट झण्डै एक किलोमिटर टाढा थिइन् तर पनि तिनको अनुहार नराम्ररी जलेको थिया । त्यसबेला हिरोशिमा बस्ने एकजना जर्मन पादरी क्लिनसार्जले तिर्खा लागेर चिच्याइरहेका मानिसहरुको कोकोहोलो सुने । तिनले पानी पानी भनिरहेका थिए । ती पादरी पानी लिएर दौडिए । उनले त्यहाँ पानी लिएर जाँदा २० जना ब्यक्तिको अनुहार पुरै जलेको देखे जसको आँखाबाट आँशु सुकेर आँखा सुख्खा भइसकेका जस्ता देखिन्थे । कतिपय मानिसहरुले विस्फोटबाट फैलिँदो आगाको ज्वाला आफ्नो बस्तीतिर पुगेको देखे । टाढाटाढासम्म चारैतिर आगो लागेको देखिन्थ्यो । एउटा अस्पतालमा दर्दले चिच्याइरहेका बिमारी मानिसहरुका निम्ति पोषक तत्वको अत्यन्तै आवश्यकता थियो तर चारैतिर जलिरहेका लासको दुर्गन्धका कारण ती बिमारीको घाँटीबाट केही छिरिरहेको थिएन । अनि बिस्फोटका कारण बढ्दो जलस्तरले गर्दा कयौं मानिसहरु डुबिरहेका थिए भने कतै जलिरहेका थिए । हजारौ हजार घर र भवनहरु ध्वस्त बनेका थिए । त्यति बेलै अणु बमको प्रतिक जस्तो बनेर फुस्रो छाते च्याउ जस्तो आकार बनेका बादलको थुप्रोको घण्टौंसम्मको त्यो कोलाहलले आक्रान्त शहरमा थप आतंक मच्चाइरहेको थियो । त्यस्तो अत्यन्तै दुर्दान्त र भयवह दुष्परिणाम चलिरहकै बेलामा अमेरिकी बिमानले तुरुन्तै पहिलो बम खसालेको तीनदिन पछि अर्को ‘फ्याट म्यान’ नाम राखिएको अणुबम जापानको नागाशाकी शहरमा पनि खसाल्यो । ती दुवै शहरमा एक क्षणमै एक लाख मानिसहरुको एकाएक मृत्यु भयो भने त्यो बिस्फोटको दीर्घकालीन परिणामस्वरुप झण्डै तीन लाख मानिस कालकलवित हुन पुगे । के अनुमान लगाइन्छ भने हिरोशिमामा एउटै अणु बमले त्यत्ति मानबीय क्षति हुनपुग्यो जति सामान्य बम भरिएका २७९ वटा बिमानले भन्दा १० दोब्बर बढी जनसंख्या भएको शहरमा क्षति गर्न सक्दथे ।
कयौं दशकसम्म हिरोशिमा र नागाशाकीका मानिसहरुले विभिन्न किसिमका डरलाग्दा भिषण बिमारी पनि त्यो अणु बिस्फोटबाट झेल्नु परेको थियो । शरीरका बिभिन्न भागबाट रगत बग्नु, चोट लागेका भागहरु निको नहुनु, तीब्र ज्वरोबाट पटक पटक आक्रान्त हुनु र सबैभन्दा बढी त विभिन्न किसिमका क्यान्सर रोगहरुमा तीव्र वृद्धि जस्ता समस्या देखा परे । कति बेला रगत क्यान्सर तीव्र गतिमा बढ्ने गर्दथ्यो भने कतिबेला छालाको क्यान्सर त कतिबेला शरीरका अन्य भागमा क्यान्सर उत्पन्न हुन्थ्यो । अनि त्यो बम खसालिदा जो महिलाहरु गर्भवती थिए ती मध्ये धेरैका बाल बच्चाहरु विभिन्न किसिमका रोगका समस्यालेग्रस्त बनेका थिए । विशेषगरी मन्द बुद्धि बच्चाहरुको जन्म धेरै नै भयो । यसरी अनेक प्रकारका दीर्घकालीन असर मूख्यरुपमा विकिरण या रेडिएशनको असरका कारणले त्यस्तो भएको बताइन्छ ।
त्यतिबेला हिरोशिमामा त केवल एउटा परमाणु बम खसालको थियो त्यसले कति भयावह सन्त्रास र त्रासद बर्बादी उत्पन्न गरेको कुरा थाहा पाए पछि के तथ्य आज अझ भयंकर डरलाग्दो लाग्दछ भने आजको विश्वमा विभिन्न किसिमका निशस्त्रीकरणका वार्ताहरु र यस सम्बन्धी सम्मेलनहरु हुँदाहुँदै पनि नागाशाकी र हिरोशिमामा खसालेका भन्दा हजारौं गुणा शक्तिशाली परमाणु बमहरु १३ हजार त घोषितरुपमा रहेका छन् । त्यसले सारा महादेशमा कति डरलाग्दो वितण्डा मच्चाउन र सर्बनाश तुल्याउन सक्छ त्यसको कल्पनासम्म पनि अत्यन्तै भयकारी छ । यस्तो युद्ध भयो भने त्यसमा कसैले जित्दैन सम्पूर्ण मानब समाजको बिनाश हुन्छ भन्ने तथ्य त अमेरिकाले हिरोशिमा र नागाशाकीमा खसालेको पहिलो अणुबम प्रहारले नै प्रष्ट पारिसकेको छ ।
यो महाभयकारी सत्य तथ्य थाहा पाए पछि आजको बिश्वमा जुन १३००० परमाणु युद्ध आयुधहरु तैनाथ छन् तिनलाई प्रभावकारी किसिमले नष्ट गर्न आज वैज्ञानिक क्षमतालाई प्रयुक्त गर्नु पर्ने ज्वलन्त र अपरिहार्य आवश्यकता बनेको छ । यसो नगरीकन पमाणु शस्त्रास्त्रको अभिशापबाट यो जीवनदायिनी धर्तीलाई मुक्त गर्न सकिने छैन । भन्ने गरिन्छ कुनै कुरा बनाउन कठिन छ तर त्यसलाई नष्ट गर्न त्योभन्दा कठिन छ भन्ने विज्ञ वैज्ञानिहरु नै भनिरहेका छन् र यो दुष्कर कार्य गर्न धेरै महँगो पर्ने उनीहरु बताउँदछन् । १९८७, १९९१ र १९९३ मा अमेरिका र सोभियत संघका बीचमा तीनवटा महत्वपूर्ण सन्धि सम्झौताहरु आणविक र अन्य शस्त्रास्त्र कम गर्नका लागि भएका थिए त्यसको विश्वमा व्यापक स्तरमा स्वागत गरिएको थियो । त्यसबाट धेरै मानिसमा के विश्वास पैदा भएको देखिन्थ्यो भने धेरै ठूलो परिमाणमा त्यस्ता आणबिक शस्त्रास्तहरु नष्ट गरिन लागेका छन् । तर वास्तविक स्थितिलाई उजागर गर्दै मानव विकास प्रतिवेदन १९९४ मा के जानकारी गराइयो भने ती सन्धि सम्झौताहरुबाट विश्वमा तनाव त केही कम अवश्य भयो तर यसका महत्वपूर्ण सीमाहरु रहेका छन् । त्यसमा के बताइयो भने कतिपय हतियार अथवा युद्ध आयुधहरुलाई शत्रुसम्म पु¥याउने बाहकहरु या प्रक्षेपास्त्रबाट अलग गरिनु पर्दछ तर त्यस्तो कुनै निर्देशन भने दिइएन कि युद्ध आयुद्धहरु नै नष्ट गरिनु पर्दछ ।
अझ अगाडि त्यो प्रतिवेदनले बढी स्पष्ट शब्दमा के बताएको थियो भने न त अमेरिकासँग न त रुससँग नै एउटा उच्च प्राविधिक तथा राजनीतिक दृष्टिले स्वीकार्य यस सम्बन्धी योजना नै छ, जस अन्तरगत युद्ध आयुधहरुका विभिन्न भागहरुलाई अलग गर्न सकियोस् र नाभिकीय हिस्सालाई नष्ट गर्न सकियोस् । अतः ती युद्ध आयुधहरु आउदा पिंढीका लागि शीरमाथि झुण्डिएको तरबार जस्तै खतरा बनिरहने आशंका छ । हुन पनि ती परमाणु शस्त्रहरुलाई नष्ट पार्ने कर्यसँग सम्बन्धि विभिन्न प्रविधि सम्बन्धी कठिनाई र महँगो आर्थिक बजेटका कारणले अन्तर्राष्ट्रिय स्तरमै सवल र दृढ राजनीतिक इच्छा शक्तिको आवश्यकता छ । त्यस्तो दृढ इच्छाशक्तिले मात्र यस्तो कार्यलाई उच्चतम प्राथमिकतामा राखेर विश्वका सबै परमाणु शक्तिले सुसज्जित देशहरु र तिनका वैज्ञानिकहरुलाई सबै किसिमका संंकीर्ण स्वार्थलाई छोडेर यस निशस्त्रीकरणको अभियानमा परस्पर सहयोग गर्ने आधार तयार हुन्छ र बन्छ । अन्यथा परमाणु शस्त्रास्त्रले ल्याउने अत्यन्तै कहालिलाग्दो र सत्यानाशी बर्बादी मानव समाजले भोग्नु पर्ने नियतिबाट कोही पनि जोगिन सक्ने छैन । यो अत्यन्तै गम्भीरतम तर ध्रुवसत्य कुरा हो ।