पौष १४, काठमाडौं । गृह मन्त्रालयले सुरक्षा अधिकारीहरुलाई आफूखुशी नेता र राजदुत नभेट्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रालयका तर्फबाट विज्ञप्ति निकालेर सो कुराको निर्देशन गरेका हुन् । विज्ञप्ती अनुसार विभागीय जानकारी विना सुरक्षा अधिकारीहरुले नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारवाही हुनेछ भनिएको छ ।
सुरक्षा निकायका कतिपय पदाधिकारीहरु कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको कुरा बुझिन आएको छ । शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरुले कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्न पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु निर्देशन दिइएको छ । गराउनु र सो सम्बन्धी प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ भनिएको छ ।