मोबाइलको भन्सार कर र देशको परनिर्भरता

मेघराज भट्टराई / आज एउटा विवादले देश प्रदेश तातेकोछ । त्यो हो विदेशबाट फर्किने नेपालीले एक भन्दा बढी मोबाईल ल्याए १८% भन्सार तिरेर ल्याउनु पर्ने, दुई देखि बढी ल्याए जफत नै गर्ने सरकारको निर्णय आए पछि सरकारको त्यो निर्णयका विरुद्ध चौतर्फी विरोध भएकोछ । प्रधानमन्त्रीले पुष्पकमल दाहालले यो योजना लागु नगराउने प्रतिबद्धता गर्दा सम्म पनि यहाँका ब्यापारी माफियाहरुले सरकारलाई नै घुडा टेकाएको देखियो । यो बिषय जत्ति सजिलो देखिन्छ त्यती सरल विषय चाँही होइन। आखिर विदेशबाट आउने नेपाली नागरिकले किन विदेशी मोबाईल, ल्याप्टप, टि.भी., घडी जस्ता विद्धुतीय समान लिएर आउँछन् ? यो बिषयलाई सुक्ष्म तरिकाले अध्ययन गर्न जरुरी देखिन्छ ।

आज हामीले हाम्रो तराइ तिरको सीमा नाकामा नेपालीको घुइचो लागेको देख्न सकिन्छ। कंचनपुरको सिमाना बन्बासा देखि पूर्व झापाको बिर्तामोडमा हामीले सजिलै भेट्ने छौ। लाखौं नेपाली नागरिक भारतीय बजारमा सरसामान किन्न जाने गर्दछन। यसलाई रोक्ने कि नरोक्ने? नेपालीको आर्थिक शक्ति अनुसारको उपभोग्य बस्तु रोज्नु खोज्नु प्रत्येक नेपाली नागरिकको बाध्यता हो। भारतीय बजारमा गएर चिनी, सरफ, सबुन, तेल, दाल, चामल, कपडा ल्याएर आउँछन। यसको भंसार छलिन्छ । यसबाट राज्यलाई घाटा हुन्छ। तर राज्य निरीह छ । केही गर्न सक्दैन। यहाँ उत्पादन हुँदैन । विदेशीले गरेको उत्पादनमा कमिशन खाएर उसैको समान बेच्ने गरिन्छ । यो नै हाम्रो लागि घातक छ ।

नेपालीको जेब रित्तिन्छ । राष्ट्रको पैसा विदेश जान्छ । हामीले यहाँ सम्म भेटेका छौ कि भारतीय नम्बर प्लेटका गाडी नेपालका सडकमा दौडिएका छन । यिनको संख्या धेरै छन तर आज सरकार एउटा मोबाईलको पछि लागेर मूलबिषयबाट ध्यान अन्यत्र मोडिएको छ। यहाँ गुड्ने गाडीमा कति अवैध कारोबार हुन्छ कसैले खोतल्यो ? राज्यले आफ्नो उपस्थिति भएको प्रमाण खै? के रहर छ विदेशबाट फोन बोकेर आउन? नेपाल धेरै सानो देश पनि हैन । ३ करोड जनतालाई जीवन धान्न विदेशिनु पर्ने बाध्यता नहुनु पर्ने हो। भूगोल पनि धेरै सानो छैन । जमिन, पानी, वन अर्थात प्राकृतिक साधन श्रोतले हामी कमजोर पनि छैनौ । बरु राष्ट्रले अगाल्ने नीति, सिस्टम ठीक छैन । यसै कारण हामीलाई विदेशिन बाध्य पारेको छ। विदेश मै जीवन समाप्त भएका छन् । कोही समुन्द्रमा डुबेका छन् । कोही अरबका तातो घामले मरेका छन् कोही मलायाको झाडीमा मरेका छन। कोही वन जंगलमा शिकार बनेका छन् । कोही के कोही के ! यो सबै राज्यको गलत नीति कै कारण भएको छ।

आज २१ औं शताब्दीमा प्रविधिले जत्ती टाढा भए पनि मानिसहरू एक अर्का सँग जोडिएका छन् । तर हाम्रो देशमा भौतिक पूर्वाधारको विकास त भएन नै जो जति पुर्वजहरुले गरेका थिए तिनीहरु पनि मासिए। यहाँ कुनै बेला काठमाडौमा ट्रली बस चल्थ्यो । ठुला ठुला कृषि औजार, कागज, छालाजुत्ता, कपडा, औषधि जस्ता मान्छेका लागि चाहिने आधारभूत चीजको विकास भएको थियो । यो प्रयाप्त थिएन होला तर के आज ती उद्योगमा थपेर केही नयाँ रोजगारी श्रृजना गर्ने र राष्ट्रिय पुँजिको विकासको लागि कुनै एउटा काम भयो? आज हाम्रो भारत सँग जोडिएका सिमानाका नागरिकको बेदना सुन्यौ भने आँसु आउछ । उनीहरु हाम्रा नागरिक त हुन तर न सुरक्षा छ न शिक्षा छ । न राशन छ न औषधि छ ।न पिउने शुद्ध पानी छ । न संचार सेवा छ तर पनि उनीहरु आफुलाई नेपाली हुनु को गर्व गर्दैछन । यो भन्दा ठुलो पीडा के होला? भारतीय सीमा सुरक्षा बल आउँछ । लुटपाट गर्छ खसी बोका पैसा मात्रै होइन चेलीबेटीको इज्जत पनि लुटिन्छन, कुटिन्छन। कोही छैन रोक्ने छेक्ने। काङ्ग्रेस, कम्युनिस्ट जसको सरकार आए पनि नेपालीको पीडा उस्तैछ। यो बिषयमा हरेक नेपाली नागरिकले समय मै सोच्ने समय आयो । फेसबूकमा नो रेमिट्यान्स लेखेर मात्र पुग्दैन । हाम्रो देशको आर्थिक अवस्था बलियो बनाउने ब्यबस्था ल्याउन जरुरी छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित