-कृष्णराज पौडेल
दक्षिण कोरियामा राजनीतिक संकट चुलिंदै गएको छ । करिव ५५ हजार बढी नेपाली श्रमिकले पसिना बेच्ने दक्षिण कोरियाको राजनीतिमा भएको उथलपुथलले के कस्तो असर पार्ला, कोरियन प्रायदीपको राजनीतिक संकट के हो, यस विषयमाथि थोरै प्रकाश पारिनेछ ।
गत २०२४ डिसेम्बर ३ तारिक दक्षिण कोरियाका राष्ट्रपति युन सक उलले एउटा सम्बोधन गरे र देशमा सैनिक शासन लगाएको घोषणा गरे । सम्बोधनमा उनले उत्तर कोरिया र देशभित्र बढ्दै गैरहेको कम्युनिष्ट प्रभावबाट देशलाई जोगाउन सैनिक शासन लगायतको तर्क गरेका थिए ।
राष्ट्रपति युनले साँझ करिब आठ बजे सैनिक शासन घोषणा गरेका थिए । मानिसहरु सैनिक शासनको विरोधमा तत्काल सडकमा ओर्लिएका थिए । एक घण्टाभित्र करिव एक लाख मानिसले संसद भवन घेरिसकेका थिए । सांसदहरुलाई संसद भवनभित्र जान र गिरफ्तारीबाट बचाउन हजारांै प्रदर्शनकारीले मानव पर्खाल निर्माण गरेका थिए । कैयांै सांसदहरु संसद भवनभित्र छिटो छिर्न बार, पर्खाल नाघेका थिए । एक युवा महिला सांसद अत्याधुनिक हतियारधारी सैनिकसँग कुस्ति खेलेकी थिईन । संसद अधिवेशन रोक्न र सांसद भवन कब्जा गरी सांसदहरुलाई गिरफ्तार गर्ने आदेश पाएका अत्याधुनिक हतियारधारी सैनिकले झ्याल ढोका तोडेर संसद भवन छिर्न प्रयास गरेका थिए । कैयांै सासदहरुलाई सैनिकहरुले घिसारेर बाहिर निकाले । सैनिक घेराबन्दीका बीच संसदको वैठक बस्यो र १९० सांसदको बहुमतले सैनिक शासनको विरुद्धमा मतदान ग¥यो ।
राष्ट्रपति युनले सैनिकहरुलाई निर्वाचन आयोगमा पनि छापा मार्न आदेश दिएका थिए । र संवैधानिक अदालतका न्यायधीसहरुलाई पनि नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
दक्षिण कोरियामा सैनिक शासन के हो?
कोरियन प्रगतिशील लेखक,उत्तरपूर्वि एसियान भु–राजनीतिक विश्लेषक तथा शान्ति अभियन्ता के जे न्वो भन्छन्, ’कोरियामा सैनिक शासन भनेको सम्पूर्णतयाः नागरिक अधिकारको हत्या हो । प्रतिपक्षी विचार राख्ने सबै नागरिकको सफाया हो । प्रतिपक्षी सबैलाई गिरफ्तार गरिन्छ, जेल हालिन्छ, हत्या गरिन्छ, सामुहिक चिहान खनेर गाडिन्छ । वाक स्वतन्त्रता, प्रदर्शन, मजदुर हड्ताल, सामुहिक हिडडुल र प्रदर्शन सबै रोक लगाइन्छ । प्रतिपक्षीलाई न्यायालय र उजुरबाजुरबाट समेत बन्चित गरिन्छ । यो सम्पूर्ण रुपमा सैनिक–कु हो र प्रतिपक्षीको सफाया हो ।’ उनी थप्छन,’ दक्षिण कोरियाको निर्माण नै अमेरिकी साम्राज्यवादको सहयोगमा प्रतिपक्षीहरुलाई सफाया गरेर भएको हो । यो एक कालो त्रासदी हो र फेरि कोरियन जनता यसको पुनरागमन हुन दिन चाहँदैनन् ।’
सैनिक शासनको आधार
युनसक युल कोरियाका तेह्रौ राष्ट्रपति हुन् जसले २०२२ को प्रत्यक्ष राष्ट्रपतीय निर्वाचनमा झिनो मतले विजयी प्राप्त गरेका थिए । राष्ट्रपति हुनुभन्दा एक वर्ष अगाडिसम्म उच्च पदस्त कर्मचारीको रुपमा रहेका युन पदबाट राजीनामा दिएर ‘पिपुल्स पावोर पार्टी’ भन्ने एक कन्जरभेटिभ पार्टीमा प्रवेश गरेका थिए । त्यहीबाट राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरेका थिए ।
उनको निर्वाचन एजेण्डमा नै धेरै विवाद उत्पन्न भएको थियो । उनले खाद्य सुरक्षा र गुणस्तरीयको मापन र नियन्त्रण गर्न नहुने र निम्नस्तरको खाद्य सामाग्री सस्तोमा बेच्न र गरिवले ईच्छाअनुसार खान छुट पाउनुपर्ने नीति ल्याउनुपर्ने घोषणा गरेका थिए । उनले हप्ताको ५२ घण्टे कार्यदिनको बदला हप्ताको १२० घण्टे कार्यदिनको पक्षमा वकालत गरेका थिए । उनले राष्ट्रपति सम्हाले पछि ६९ घण्टे कार्यदिन बनाएका थिए । उनले २०२५ न्युनतम तलव घण्टाको १००३० वन बनाए यो, मुल्यवृद्धिको अनुपातमा अति न्युन हो ।
जापानको फुकुवसिमामा आणविक फोहर समुद्रमा चुहेको विषयमा जापानीको पक्ष लिदै, फुकुओसिमामा कुनै पनि रेडियो विकिरण नचुहेको भनी वुसान एल्बोमा अन्तर्वार्ता दिए ।
युनले राष्ट्रपति पद सम्हाल्दा बित्तिकै लैंगिक समानता र परिवार मन्त्रालय खारेज गर्ने घोषणा गरे । महिलालाई दिइएको सबै आरक्षण र सकारात्मक भेदभावमूलक कानुन अन्त्य गर्ने घोषणा गरे । स्मरण रहोस् दक्षिण कोरियामा महिलामाथि अत्यन्त भेदभाव छ । विकसित देशमा गनिएको भनिए पनि दक्षिण कोरियामा अहिले पनि महिलालाई कम ज्याला दिने गरिन्छ । राजनीति र अन्य उच्च पदहरुमा महिलाको नियुक्ति निकै कम छ । अहिले पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा खास गरेर रुढीवादी समुदायमा उनीहरुलाई हेपिन्छ । १९९० को दशकपछि कानुन र संविधानमा महिलाको पक्षमा निकै परिवर्तन गरिएको छ । तर रुढीवादी र पितृसत्तावादी चिन्तन भएका समूह र राजनीतिक पार्टीहरुले यसलाई उल्ट्याउन चाहन्छन् ।
फेबु्रअरी २०२४ मा मेडिकल पढ्ने विद्यार्थी कोटा ३०५८ बाट बढाएर ५०५८ बनाउने घोषणा गरे । उनको उद्देश्य चिकित्सकको संख्या बढाएर तलवमा प्रतिस्पर्धा गराउने थियो । खास गरेर हस्पिटल, क्लिनिक र विमा कम्पनीलाई खुशी पार्न यो नीति ल्याइएको थियो । सम्पूर्ण चिकित्सक र चिकित्सा विद्यार्थी लामो हड्ताल सहितको आन्दोलनमा उत्रियो । चिकित्सा क्षेत्रमा भएको महिनौ लामो हड्ताल सायद विश्वकै ठूलो घटना हो ।
यस्तै जनविरोधी र फासिवादी नीतिको कारण २०२४ को संसदीय चुनावमा सत्ताधारी पिपुल पावोर पार्टीले हार बेहोर्यो । विपक्षी प्रजातन्त्रवादी पार्टी कोरियाले १७५ संसद पद सहित पहिलो र पिपुल पावोर पार्टी १०८ संसद सहित दोस्रो भयो । १७ संसद अरु साना पार्टीले जिते । संसदमा राष्ट्रपतिको पार्टीले बहुमत गुमायो । राष्ट्रपति युनले राष्ट्रिय संसदको पहिलो उद्घाटन बैठक नै बहिस्कार गरे ।
राष्ट्रपति युनको अर्को अत्यन्त आलोचित नीति भनेको विदेश नीति हो । झण्डै आधा शताब्दी कोरिया जापानी उपनिवेशको रुपमा जापानीहरुले शासन गरे । जापानी उपनिवेशबाट मुक्त हुन कोरियन जनताले निकै रगत बगाएको इतिहास छ । जापानको आर्थिक समृद्धिमा उपनिवेश कालमा कज्याइएका कोरियन दासको मुख्य भूमिका छ । त्यस मध्य पनि जापानी सेनाको यौन आपूर्तिको लागि ५ लाख बढी कोरियन महिलाहरुलाई यौनदासी बनाएर राखिएको घटना विश्वका कुख्यात घटनाहरु मध्ये एक हो ।
यो ऐतिहासिक मानव विरोधी अपराधको विषयलाई २०१५ मा पार्क गुन हे राष्ट्रपति हँुदा ८.८ मिलियन डलर क्षतिपूर्ति दिनेगरी टुङ्ग्याउन खोजिएको थियो । तर मुन जे ईन राष्ट्रपति हुँदा यो मानवता विरोधी अपराधको विषयमा जापान सरकार औपचारिक रुपमा माफी माग्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने भनी पुनः सो युद्ध अपराधको मुद्दा व्युँताएको थियो । युद्ध अपराधको मुद्दा नटुङ्गिएसम्म जापानसँग दक्षिण कोरियाले कुनै पनि सहकार्य नगर्ने घोषणा विपरीत राष्ट्रपति युनले जापान सरकारको माफी बिना नै क्षतिपूर्ति तेस्रो पार्टीको रोहवरमा स्वयंसेवक कोरियन कम्पनी मार्फत् दिने गरी सो युद्ध अपराधको लाञ्छनाबाट जापानलाई जोगाउन खोजेका थिए । मे २०२४ मा कोरिया, जापान र अमेरिकाको त्रिपक्षीय सम्झौता गरी चीन, उत्तर कोरिया र रसियाको विरुद्ध मोर्चाबन्दी गर्ने सम्झौता गरेका थिए । कोरियाको प्रमुख दल र जनता युनको यस कार्यबाट रुष्ट थिए र उनलाई जापान परस्तको आरोप लागेको थियो ।
पश्चिमाहरुले दक्षिण कोरियालाई प्रजातान्त्रिक देश भनेर प्रचार गर्छन । तर साँचो कुरा यो होइन । द. कोरिया एक संयुक्त अमेरिकन नवउपनिवेश हो । पाँच लाख नियमित सेना र करिव तीस लाख जगेडा सेना रहेको भए पनि खास सुरक्षा र रणनीतिक निर्णय अमेरिकाको प्रत्यक्ष संलग्नतामा हुने कुरा विशेष जानकारहरु बताउँछन् । दक्षिण कोरियामा हाल अठ्ठाईस हजार अमेरिकी सेना रहेका छन् । अधिकांश कोरियन जनताहरु अमेरिकी उपनिवेशबाट मुक्त कोरिया भएको देख्न चाहन्छन् । तर दक्षिण कोरियाको दक्षिणपन्थी र उग्र दक्षिण पन्थी सम्भ्रान्त वर्ग भने साम्राज्यवादीसँग जहिले पनि मिलेर गएको देखिन्छ । जापानी उपनिवेशी कालमा पनि दक्षिणपन्थी सम्भ्रान्त वर्ग जापानी साम्राज्यवादसँग मिलेर जनतामाथि शासन गरेको पाइन्छ । कोरियन युद्धपछि सबभन्दा लामो समय शासन गरेका राष्ट्रपति पार्क चुन हे हुन् । १९६२ देखि १९७९ सम्म शासन गरेका सबभन्दा बढी विवादास्पद तानाशाह पार्क चुन हे जापानी सैनिक स्कुलले तालिम दिएका मानिस थिए ।
दक्षिण कोरियाको जनस्तरमा जापानी साम्राज्यवादप्रति गहिरो घृणाभाव छ । तर दक्षिणपन्थी सम्भ्रान्त वर्ग भने कुनै न कुनै रुपमा जापानी साम्राज्यवाद प्रति नतमस्तक देखिन्छन् । जापानी उपनिवेशकालमा उनीहरुको एजेन्टको भूमिका निर्वाह गरेको त्यही वर्ग अहिले अमेरिकी साम्राज्यवादसँग मिलेर कोरियन जनतामाथि शासन गरिरहेको छ । तर पछिल्लो समय साम्राज्यवाद विरोधी पार्टीहरुले जनसमर्थन प्राप्त गर्दै गएका छन् । संसदमा समेत उनीहरुको संख्या बढेर गएको छ । संसदमा बहुमत प्राप्त प्रजातान्त्रिक पार्टी कोरियाले जापानको खुलेर विरोध गर्छ । चीनसँग सकारात्मक साझेदारी गर्न चाहन्छ र उत्तर कोरियासँग भाइचारा सम्बन्ध बढाउन खोजेको छ । यही कुरा कोरियाको दक्षिणपन्थी समुह र अमेरिकी साम्राज्यवादीलाई मन नपरेको कारण सैनिक शासन लगाएर साम्राज्यवाद विरोधीहरुलाई सफाया गर्न खोजिएको थियो ।
दक्षिण कोरिया प्रतिपक्षीको सफाया गरेरै निर्माण गरिएको देश हो । जापानी उपनिवेशबाट मुक्त कोरियामा, तिनै जापानीसँग मिलेर जनतामाथि शासन चलाएको वर्ग, पुनः आफ्नो अस्तित्व जोगाउन अमेरिकी साम्राज्यवादसँग मिलेर प्रगतिशील, वामपन्थी, साम्राज्यवाद विरोधीहरुको सफाया गरेर, अमेरिकी साम्राज्यवादको छत्रछाँयामा दक्षिण कोरिया निर्माण गरिएको हो । दक्षिण कोरिया निर्माण पछि फरक फरक तानाशाह नियुक्ति गर्ने, आम मजदुर जनतामाथि शोषण गर्ने र जनस्तरमा सो तानाशाहको विरोध हँुदै गएपछि पुनः अर्को तानाशाह नियुक्ति गर्ने प्रक्रिया चलिरहेको छ । निर्वाचन देखावटी साधन मात्र हो । निर्वाचनबाट साम्राज्यवाद र एकाधिकारी बहुराष्ट्रिय पुँजीपति, सम्भ्रान्त वर्ग अनुकूल परिणाम आए ठिकै छ नत्र कुनै न कुनै बहानामा संविधान र कानुन मिचेर तानाशाही कानुन लाद्ने श्रृंखला नै बनेको छ । दक्षिण कोरियाको इतिहासमा अहिलेसम्म बाह्रौ पटक सैनिक शासन लगाउने वा लगाउन प्रयत्न गरिएको छ ।
दक्षिण कोरियामा अहिलेसम्मका राष्ट्रपतिहरु मध्ये कुनै पनि अभियोग नलागेका, मुन जे ईन एक मात्र राष्ट्रपति हुन् । उनी वामपन्थी छवि भएका राष्ट्रपति हुन् । उनको समयमा धेरै सुधारका काम भएका थिए । उत्तर कोरियासँग वार्ता भएको थियो । मजदुरको न्युनतम ज्याला १६% सम्म एकै पटकमा वृद्धि गरिएको थियो । जनस्तरमा धेरै सुधारका काम हुन थालेपछि स्वतन्त्र छवि भएको मानिएका मुन जे ईनले नै नियुक्ति गरेका अख्तियार प्रमुख युन सक ईललाई राष्ट्रपतिको रुपमा प्रस्तुत गरिएको थियो । जनस्तरमा अपरिचित कर्मचारी युन अन्ततः उग्र दक्षिणपन्थी साम्राज्यवादपरस्त राष्ट्रपतिको रुपमा उदाएका थिए । साम्राज्यवादीले कसरी आफू अनुकूल नेता सिर्जना गर्छन् यो एक उदाहरण हो ।
राष्ट्रपति युनलाई उपयुक्त कारण बिना नै सैनिक शासन लगाई जनअधिकार हनन् गरेको, संसदीय प्रजातन्त्रको हत्या गर्न खोजिएको र कोरियन प्रायदीपमा पुनः युद्ध स्थिति सिर्जना गरिएको जस्ता आरोप सहित महाअभियोग लगाइएको छ । संसदको पहिलो वैठकका दुईतिहाई नपुगेपछि पुनः वैठक बसेर दुई तिहाईले महाअभियोग प्रस्ताव पारित गरिएको थियो । उनी महाअभियोगमा परेपछि प्रधानमन्त्री ह्वान डक स्यु कार्यवाहक राष्ट्रपति बनेकामा उनी समेत महाअभियोगमा परेका थिए । कोरियाको संवैधानिक अदालतको ईजलासमा ९ जना न्यायाधीश रहने व्यवस्था छ । त्यसमध्ये रिक्त तीन पदमा संसदले सिफारिस गरेका तीन न्यायधीस नियुक्ति गर्न ह्वानले अस्विकार गरेको कारण उनी पनि महाअभियोगमा परेका छन् । उनी कन्जरभेटिभ नेता र युनका सहयोगी हुन् ।
हाल महाअभियोगको मुद्दा संवैधानिक अदालतमा चलिरहेको छ । गत हप्ता अन्तिम सुनुवाई हुने भनिएको महाअभियोगको मुद्दाको सुनुवाई यही मार्चको अन्तिममा सारिएको छ । जानकारहरुका अनुसार,‘मुद्दालाई लम्ब्याउन र छिटो निर्णय हुनबाट रोकी महाअभियोगको विपक्षमा मत सिर्जना गर्ने षड्यन्त्र गर्न खोजिएको छ । ’
यदि महाअभियोग लागेमा देश र जनताविरुद्ध अपराध गरेको मुद्दामा आजीवन कारावास वा मृत्युदण्ड हुने प्रावधान कोरियाको संविधानमा रहेको छ ।
यसैले गत तीन महिनादेखि राष्ट्रपति युन समर्थक र विपक्षीहरुद्वारा निरन्तर प्रदर्शन जारी छ । युनको समर्थनमा अमेरिकी झण्डा बोकी सीसीपी आउट भन्ने नारा भएको प्लेकार्ड बोकी मानिसहरुले प्रदर्शन गर्ने गरिरहेका छन् । युनको समर्थनमा रुढीवादी सम्भ्रान्तहरुको समुह, साम्राज्यवादी समर्थक, एकाधिकार पुँजीपति समर्थक, पितृसत्तावादी, भेदभाव पक्षपातीहरु रहेका छन् । यसैगरी विपक्षमा विभिन्न पेशाका मजदुर, निम्नतहका कर्मचारी, प्रजातन्त्र पक्षधर, वामपन्थी, उदार पुँजीवादी पक्षधर, साम्राज्यवाद विरोधी,आम विद्यार्थी, डाक्टर, वकिल, वुद्धिजीवि, प्रवासी मजदुर, कोरिया एकता र शान्ति समूह र समग्रमा कोरियाको युवा पिंढीको सहभागिता रहेको छ ।
राष्ट्रपति युनको बहिर्गमन वा पुनरागमन के हुन्छ अझैपनि अड्कल गर्न गाह्रो छ । बहिर्गमन वा पुनरागमन जे सुकै भए पनि यसको महत्वपूर्ण असर दक्षिण कोरियाको जनजीवन मात्र नभएर समग्र कोरियन प्रायदीप र विश्व भुराजनीतिमा अझ विशेष गरेर ईन्डोप्यासेफिक क्षेत्रमा पर्ने देखिन्छ । युनको पुनरागमनले आम सर्वसाधारणको जनजीवन अझ कष्टकर, अस्थिरता र कोरियन प्रायदीपमा पुनःयुद्ध निम्त्याउने र वहिर्गमनले सुधार र शान्तिको वातावरण पैदा हुने कुरा प्रगतिशील पक्षधरहरु बताउँछन् ।