काठमाडौं । प्रगतिशील सांस्कृतिक आन्दोलनको सुपरिचित अगुवा सङ्गठनका रुपमा परिचित रक्तिम सांस्कृतिक अभियानले २०७९ फागुन महिनामा देशका विभिन्न भागमा “रक्तिम बिबिध सांस्कृतिक कार्यक्रम” गर्ने भएको छ । देशमा साम्राज्यवादी छाडा विदेशी संस्कृतिको प्रभाब बढ्दै गएको, देशको राष्ट्रियता दिन प्रतिदिन कमजोर बन्दै गएको, राजनैतिक पार्टीहरुमा नैतिक मूल्य मान्यता हराउँदै गएर सांस्कृतिक रुपमा पतन भैरहेको जनाउँदै रक्तिमले त्यसका विरुद्ध प्रगतिशील सांस्कृतिक आन्दोलनलाई सशक्त र प्रभावकारी रुपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याएको छ । रक्तिमले साम्राज्यवादी छाडा पाश्चात्य संस्कृति र सामन्ती संस्कृतिका विरुद्ध संघर्ष गर्दै जन संस्कृति र देशको राष्ट्रिय संस्कृतिको जगेर्ना एवं बिकास गर्नका निम्ति आफुहरुले उक्त बिबिध सांस्कृतिक कार्यक्रम गर्न लागेको बताएको छ ।
सङ्गठनका उपलब्ध केन्द्रीय सदस्य सहित केन्द्रीय कार्यालयले बैठक पश्चात् रक्तिमका अध्यक्ष नारायण शर्माद्वारा जारी प्रेस बक्तब्यमा उक्त कुरा जनाइएको छ । अध्यक्ष शर्माद्वारा २०७९ पौष १९ गते जारी सो बक्तब्यमा क्रान्तिकारी सांस्कृतिक सङ्गठनहरु एक ढिक्का भएर संयुक्त सांस्कृतिक आन्दोलन अघि बढाउनु पर्नेमा समेत जोड दिइएको छ । जारी बक्तब्यमा अगाड भनिएको छ –“उपलब्ध केन्द्रीय सदस्यहरु सहितको रक्तिम सांस्कृतिक अभियान केन्द्रीय कार्यालयको बैठक २०७९ पौष १६ देखि १८ सम्म नवलपुरको अमरापुरीमा सम्पन्न भएको छ । बैठकले लिएका निर्णयहरुको सार्वजनिक जानकारीका लागि यो प्रेस बक्तब्य जारी गरिएको छ ।
बैठकमा रक्तिम सांस्कृतिक अभियानले आफ्ना गीत ÷सङ्गीत र कला साहित्यका माध्यमबाट देश र जनता प्रति अहिलेसम्म निभाउँदै आएको भुमिका प्रति गम्भरीतापूर्वक समीक्षा गरियो । वर्गीय पक्षधरतामा अडिग रहँदै नेपालमा सर्वहारा वर्र्गीय सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन रक्तिमको भुमिका अब झनै सशक्त रुपमा अघि बढाउनु पर्ने आवश्यकतालाई बैठकले महशुस गरेको छ । देशमा विदेशी संस्कृतिको बढ्दो आक्रमण, सङ्कटग्रस्त बन्दै गैरहेको देशको राष्ट्रियता र स्वाधीनता, जनघात र राष्ट्रघातका श्रृंखला, राजनैतिक पार्टी र तीनका शीर्ष नेतृत्वतहमा देखिंदै आएको सांस्कृतिक बिचलन र सिद्धान्तहीनता यी सबै तथ्यहरु माथि गम्भीर छलफल गर्दै बैठकले आगामी कार्यक्रमहरु तय गरेको छ । देशमा सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलन सुस्ताएकै कारण क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले पनि अपेक्षाकृत गति लिन सकिरहेको छैन ।
बैठकले रक्तिमले एकल रुपमा र अन्य क्रान्तिकारी सांस्कृतिक सङ्गठनहरुसँग मिलेर संयुक्त रुपमा पनि सांस्कृतिक अभियानहरु अघि बढाउने निर्णय लिएको छ । देशको प्रगतिशील सांस्कृतिक आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानको आफ्नो छुट्टै पहिचान र महत्व रहेको छ । श्रमजीवी जनताले रक्तिमबाट गरेको अपेक्षालाई पूरा गर्न हामी सदा दृढ संकल्पित छांै । बैठकले श्रमजीवि नेपाली जनतालाई विश्वस्त पार्न २०७९ फागुन महिनामा राष्ट्रिय अभियानकै रुपमा देशका विभिन्न भागमा “रक्तिम विविध सांस्कृतिक कार्यक्रम” संचालन गर्ने निर्णय गरेको छ ।
हामीलाई आशा एवं विश्वास छ हाम्रो उक्त अभियान पनि विगतका अभियानहरु जस्तै देशभक्त तथा शोषित पीडित न्याय र समानताका पक्षधर नेपाली जनताको साथ र समर्थनमा पूर्ण रुपमा सफल हुनेछ ।”