नवलपरासी । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल सुनवल नगर संगठन समितिले जिम्मेवारी हेरफेर गरेको छ । जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउन आयोजित कार्यक्रमबाट जिम्मेवारी हेरफेर गरिएको हो। पार्टीको सुनवल – ५ बनकट्टीमा आइतबार सम्पन्न बैठकले पार्टीको केन्द्र, व्यूरो र जिल्लाको निर्णयलाई दृढ कार्यान्वयन गर्दै अभियानलाई जनता माझ लगेर सफल बनाइने पालिका नवनिर्वाचित नगर संयोजक प्रेमलाल रिमालले जानकारी दिनुभयो ।उहाँका अनुसार निवर्तमान संयोजक रवि पुनलाई नगर कार्यालय सदस्य र अखिल नेपाल मगर रास्ट्रिय मुक्ति मोर्चामा जिम्मेवारी दिने गरेर जिम्मेवारी हेरफेर गरिएको हो ।
अभियानकै क्रममा सेल समितिलाई सक्रिय बनाउदै पालिकामा जनभेटघाट र कोण सभा सहितको कार्य गर्दै जन सङ्गठन विस्तार गर्ने निर्णय भएको उहाँको भनाई छ । अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने ,पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , संर्घषको खाका तयार गर्ने उद्देश्य राखिएको रिमालको भनाई छ ।
बैठकले पार्टीको नगर संगठन समिति पुर्नगठन समेत गरेको पार्टीले जनाएको छ । सो अवसरमा पार्टीको वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, जिल्ला कार्यालय सदस्यद्व्य गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरीले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो । कार्यक्रम जिल्ला सचिवालय सदस्य राम प्रसाद अर्गेजा, पार्टी नगर सहसंयोजक जेनिशा परियार लगायत उपस्थित रहनुभएको थियो ।