काठमाडौँ । गत मङ्सिरको संसदीय निर्वाचनबाट गठन भएको संघीय संसदको पहिलो बैठक सुरु भएकोछ । २५ गते दल प्रमुखहरूले मन्तब्य राखेका थिए । संसदीय व्यवस्था भनेकै बेइमानी गर्न जसले सक्छ उ नै सफल ठानिने व्यवस्था हो भन्ने कुरा व्यवहारबाट स्पष्ट हुँदै आएको छ ।
संसदमा देश र जनताका समस्या समाधान बारे बोल्नेभन्दा पनि पीडा पोख्ने, कटाक्ष गर्ने र हाँसी मजाक गर्ने अवसरका रुपमा दल प्रमुखहरुले सम्बोधनको अवसरलाई प्रयोग गरेको दखियो । निवर्तमान काङ्ग्रेस नेता एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई पछिल्लो अवधिमा प्रधानमन्त्री बन्न अवसर दिएका दलहरुलाई बधाई दिए र गत निर्वाचन सम्पन्न गर्न मद्दत पुराउने सबैलाई बधाई दिए । एमाले नेता केपी ओलीले विगतमा संसद विघटन ‘प्रतिगमन’ थिएन भने । वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि संसदमा नवनिर्बाचित सबैलाई बधाई दिए ।
मधेशी दलहरूले नागरिकताको विषय, नेपाल स्वतन्त्र पार्टीले सुशासनको विषय, नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको विषय उठाए । जनमोर्चाका चित्रबहादुर केसीले ‘बालुवाटारमा ८ बजेसम्म तातो पानी खाँदासम्म गठबन्धन थियो, दस बजे कता हरायो’ भनेर सांसदहरुलाई हँसाए । नेमकिपाका प्रेम सुवाल बाहेक कसैले पनि एमसीसीको कुरा उठाउन सकेनन् । सुवालले एमसीसी खारेज किन नगर्ने भनेर प्रश्न उठाए । आज प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत लिने कार्यतालिका रहेकोछ । अप्रत्याशित घटना घटेन भने प्रचण्डले विश्वासको मत प्राप्त गर्ने छन् ।