प्रमुख प्रतिपक्षमा नेमकिपाको दाबी

माघ ५, काठमाडौं । नेपाली काङ्ग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डललाई विश्वासको मत दिएर पनि आफूलाई प्रमुख प्रतिपक्ष दल बताइरहेका बेला संसदमा अर्को दलले समेत प्रमुख प्रतिपक्ष दल आफू रहेको दाबी गरेको छ । संसदमा एक सिट मात्र हासिल गरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले त्यस्तो दाबी गरेको हो ।
“प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिमशैलीको संसदीय व्यवस्था समाप्त भयो, पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न जरुरी छ ।” – प्रतिनिधि सभाको २०७९ माघ ५ गते बिहिबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले भने “कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो ।” प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको सुवालको दाबी थियो ।
संसद बैठकमा बोल्दै सांसद सुवालले चीनमा चिनियाँ कम्युनिस्ट पार्टी बाहेक ८ वटा दल रहेको र उनीहरुलाई सरकारका सहयोगी दल भन्ने गरिएको स्मरण गराउँदै नेपालमा पनि यस्तै राजनीतिक प्रणाली ल्याउन खोजिएको हो भनी प्रश्न गरेका थिए । सत्ता पक्षसँग पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी बन्न नसक्ने भन्दै सुवालले संघीय कानुन बमोजिम विपक्षी दल तोकेर मात्र संसदको बैठक अगाडि बढाउनु पर्ने माग गरे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित