चित्रबहादुर केसीले कांग्रेसलाई नै भोट दिने

माघ ५, काठमाडौं । नेपाली कांग्रेसका मतदाताहरुको भोटको बलले बागलुङ क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभाको सांसदमा चुनिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई नै मत दिएर आफूलाई कांग्रेसले लगाएको गुन तिर्ने भएका छन् । केसीले मतदान गर्नु अघि २०७९ माघ ५ गते विहिवार संसद बैठकलाई सम्बोधन गर्दै आफूले कांग्रेसकै उम्मेदवारलाई भोट हाल्ने प्रष्ट पारेका छन् । नयाँ सभामुख चयनका लागि २०७९ माघ ५ गते विहिबार प्रतिनिधि सभामा मतदान हुँदैछ । सभामुखका लागि एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवार रहेका छन् । मतदान सुरु हुनु अघि संसद बैठकलाई सम्बोधन गर्दै केसीले आफूले कांग्रेस कै उम्मेदवारलाई भोट हाल्ने प्रष्ट पारेका हुन् ।
“निर्वाचनका बेला लोकतन्त्र संस्थागत गर्न सकेनौं, बेकम्मा भयौं, गणतन्त्रका लागि लडेका, पंचायत विरोधी लडेका हामी निकम्मा भयौं भनेर हल्ला चलेको थियो र नयाँ आउनुपर्छ भनिएको थियो । तर नयाँको स्थिति पनि देखियो ।” सांसद केसीको भनाई थियो–“तर जे भए पनि छातीमा मुड्की हानेर भए पनि राजमोले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्छ ।” सम्बोधनका क्रममा अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा अहिले पनि प्रतिगमन सच्चियो भन्ने पक्षमा नरहेको प्रष्ट पार्दै प्रचण्ड सरकारलाई विश्वाससको मत दिएकोमा कांग्रेसप्रति पनि गुनासो व्यक्त गरे ।
स्मरणरहोस् केसीको मातृ पार्टी नेकपा (मसाल) ले कांग्रेसलाई वर्ग दुश्मनको कोटामा राखेको छ । तर आफ्नो दस्तावेजमा वर्गशत्रु किटान गरिएको त्यही कांग्रेससँग नै अहिले पनि राजमोले घाँटी जोडिरहेको छ । मसालको नीति सिद्धान्त एकातिर व्यवहार अर्कोतिर देखिंदै आएको छ । गत मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा मसालका महामन्त्री मोहन विक्रम सिंहकी जीवन संगिनी दुर्गा पौडेल प्यूठानबाट पराजित भएकी थिइन । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार रहेकी पौडेललाई एमालेका सूर्या थापाले ठूलो मतान्तरले हराएका थिए । त्यस यता मसालका महामन्त्री मोहनविक्रम सिंह एमालेप्रति झनै आक्रोशित मुद्रामा प्रस्तुत हुँदै आएको उनका लेख, रचना र वक्तव्यहरुमा देख्न सकिन्छ । बताइए अनुसार पार्टी नेतृत्व निरन्तर कांग्रेसको भरिया बन्दै गएपछि मसाल भित्र तीब्र असन्तुष्टि पुनः चुलिंदै गएको छ । स्रोतका अनुसार राजमो अध्यक्ष चित्रबहादुर केसी समेत कांग्रेसलाई बोकेर हिंड्ने पक्षमा छैनन् । तर मसाल महामन्त्री सिंह अझै नि कांग्रेसकै पछि झुण्डिने पक्षमा रहेका छन् । उनै सिंहको निर्देशनमा केसी कांग्रेसलाई मतदान गर्न विवश रहेको उनको अभिव्यक्तिबाट पनि बुझिन्छ । “छातीमा मुड्कीले हानेर भए पनि…” भन्ने केसीको अभिव्यक्तिले उनी नचाहाँदा नचाहँदै पनि पार्टी महामन्त्रीको निर्देशनका कारण आफू कांग्रेसलाई नै भोट दिन विवश रहेको प्रष्ट बुझन सकिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित