बाबुराम आचार्य
मेरो देशको मुख्यालय काठमाडौंमा छ र त्यसले समाजवाद उन्मुख समाज भन्ने कुरा त्यही निर्जिव कागजमा उल्लेख गरेर राखेको छ । जनताका सामान्यभन्दा पनि सामान्य आधारभूत आवश्यकताहरू पुरा गर्ने आँटिलो मान्छे, नेताको देशमै अभाव छ भने गाउँमा त झन् कुरै नगरौं । हाम्रो गाउँमा अहिले चलन चल्तिका नेताहरु त छन् तर जननेता छैनन् । गाउँमा रहेका मेरा समकक्षी, सहपाठी र तमाम नयाँ पुस्ता बसाइ सरेर गएका छौं । बाग्लुङ को दक्षिणमा पर्ने मेरो गाउँ हालको जैमिनी नगरपालिका हो । म जन्मेको र हुर्केको गाउँ जहाँ अभावै अभावका चाङ मात्रै भेटिन्थे र आज पनि ती अभावका चाङ्हरु ठिङ्ग उभिएकै छन् । यिनै अभावका चाङ निमिट्यान्न पार्ने सुनौला सपनाहरू बोकेर हिडेका कयौं पुस्ता सुस्ताएका छन्, कयौंले सपना बदलेका छन् त कयौंले त्यही सपनामा नै आफुहरुलाई समाहित गरेका छन् । तिनै सपनामा समाहित हुने मध्ये का एक हुन मेघराज दाइ ।
दाइ र म समकक्षी होइनौं त्यति धेरै उठबस पनि हुन सकेन । एउटै संगठनको कार्यकर्ता भए पनि एउटै स्तरमा वा एउटै कमिटीमा बसेर काम गर्ने अवसर जुरेन, उहाँ प्रदेशमा हुँदा म गाउँमा बाल्यकाल व्यतित गर्दै थिए । उहाँ गाउँमा आउँदा म पारिवारिक बाध्यताले परदेशिनु परेको थियो । समय परिस्थितिका अगाडि कसको के लाग्थ्यो र म गाउँबाट टाढा जानु प¥यो, उहाँ गाउँमा जनताको पीर मर्का दुःख कष्ट बुझ्ने नेताको अभाव पूर्ति गर्ने अठोटका साथ गाउँमा बस्नु भयो ।
प्रत्येक पटकका चुनाव वा अरु कुनै पार्टीले निर्धारण गरेका महत्त्वपूर्ण कार्यक्रममा हाम्रो भेट हुन्थ्यो, योजना बन्दथे र कार्यान्वयनमा जुट्थ्यौं । त्यही मध्येको एउटा हाम्रो बसाइ २०७४ को स्थानीय निर्वाचनका बेला हुन पुग्यो । म पार्टीको केन्द्रीय कार्यालयले तोकेको लिखित जिम्मा लिएर त्यहाँ (पैयु) गएको थिए । मेरो काम कर्तव्य र जिम्मा सबिस्तार बताए उहाँ उत्साही हुनु भयो ।
दिनभरि हामी काममा नै जुट्थ्यौं साँझ उहाँकै निवासमा खाना खायौं । धेरै नै अन्तरङ्ग कुराकानी भए, दाइले दुइटा गम्भीर कुरा उठाउनु भएको थियो “बाग्लुङको पार्टी मा झाङ्गिदै गरेको जातिवाद र पटकपटक पार्टीमा भएका विभाजन” अधिक समय हाम्रो छलफल मसालको वर्तमान र भविष्यप्रति केन्द्रित रह्यो । विगतका टुट्फुट प्रति दाइको चिन्ता अलिक बढी थियो र निश्कर्षमा नेतृत्वको गलत रवैया नै हो भन्नेमा सहमत भयो । एवम रितले थप १५ दिन हामी पैयुको चुनावी अभियानमा मा लाग्थौं । निर्वाचन सकिए लगत्तै म बुटवल फिर्ता हुने भएकोले मेघराज दाइसँग चुनावकै दिन जनता माविको बुथमा नै बिदा लिएको थिए । १६ आंै दिनका दिन अर्थात् निर्वाचनको भोलिपल्ट म बटौली फिर्ता भए । त्यस लगत्तै संघीय निर्वाचन आयो मेघराज दाइले फोन गर्नु भयो । फोन उठ्दा साथ सामान्य औपचारिक सोधपुछ गरियो र आउँदो चुनावी प्रसङ्गमा प्रवेश गरिहालेउ । धेरै कुरा भए दाइले यो चुनावमा पनि आउ है भनेर आग्रह गर्नुभयो मैले आफुले यही टिकट प्राप्त गरेकोले आउन नसक्ने कुरा बताए । दाइले बधाई दिनुभयो र मलाई धेरै खुशी लाग्यो भाइ भन्नु भयो ।
पार्टीको आठौं महाधिवेशन दौरानको अन्तरपार्टी संघर्षबारे उहाँ जानकार हुनुहुन्थ्यो । महाधिवेशनको परिणाम आएपछि फोन सम्पर्क गर्नुभयो र भन्नु भयो “भाइ पार्टीमा के खटपट छ र ? बुढाहरुले गडबड त गर्दैनन् ! सरकारमा पनि नजानु पर्ने गैहाले, लौ हामीले त उही सर्कुलर आएपछि मात्रै थाहा पाउने हो सर्कुलर नि आउनै ३ महिना लाउँछ तिमीहरु ठाउँमा छौं । सबै कुरा बेलैमा तात्तातै थाहा पाइहाल्छौ हामीलाई पनि समयमै जानकारी दिनु है ।” भनेर फोन वार्तालाप समाप्त गर्नुभयो । उहाँ गाउँमा सकृय नै हुनुहुन्थ्यो हामी प्रति उहाँ जिज्ञासु हुनुहुँदोरहेछ पछि पार्टीले कथित कारबाहीको छडी चलाएपछि केही हामीलाई अध्ययन गरे पनि सम्पर्क गर्नु भएन । कृष्ण थापा माथि भएको अन्यायपछि उहाँलाई अलि बढी नै छोएछ । त्यसपछि बल्ल अलिक लामो समयको अन्तरालमा फोन सम्पर्क गर्नु भयो । सधै जसो औपचारिकताका कुराकानी सक्यौं र उहाँले कृष्ण थापाको प्रसङ्ग जोड्दै भन्नुभयो “तिमीहरुका लेख हेरिरहेको छु, म बुझ्दै छु पहिला पहिला त लाग्थ्यो कि साँच्चै युवा केटाहरू अलि जोशमा आए होलान ! तर राम बहादुर, शशिधर, हाम्रा सम्धी, तो केओइका महेन्द्र हुँदाहुँदै कृष्ण थापालाई समेत कारबाही गरेपछि अब मैले कुरा बुझे ! यसरी आफ्नो मनका कुरा खोल्नु भयो । ४७ मिनेटको फोन वार्तामा धेरै भलाकुसारी ग¥यौं । यसपटक भने दाइले बेलाबेला सम्पर्क गर्नु है भनेर अराउनु भयो मैले हस् भनेर बिदा भए ।
त्यस यता हाम्रो विशेष महाधिवेशन पूर्व म आफैले सम्पर्क गरे हाम्रो आगामी कार्याक्रमबारे सबिस्तार बताए । सम्धी (कृष्ण पौडेल) आउँदा भेट हुन नसकेको कारण बताउनु भयो । तिमीहरूको बिचारको पक्षमा हाम्रो गाउँ म फलाना – फलाना छन् भन्नु भयो म थप उत्साहित भए आगामी योजना के छ ? सोधे दाइले भन्न्नु भयो “बाबु हामीहरु गाउँमा छौं अहिले भर्खरै चुनावमा उता लागेर नेता भका मान्छे छन् । अनि हामी खुलेर आउँदा भोलि सामाजिक रूपमा कतै न कतै केही बाधा पर्छ, हामी सरसल्लाह गर्दै गरौंला तिमीहरू अघि बढ ।”
दाइसँगको त्यो संवाद नै अन्तिम संवाद रह्यो । पौष महिनाको दोस्रो साताको सुरुमै बाबुराम शर्मा (उहाँको जेठो छोरा) सँग फोन संवाद भयो बाबा यतै आउनु भाछ केही उपचार केही घुमफिर गराउँछु चेक जाँच गरेर अनि फर्किने कुरा छ” उनले भने । त्यसको दुई हप्ता न बित्दै उहाँको अकल्पनीय निधनले म र मेरो परिवार मर्माहत बनेका छौं ।
उहाँ लामो समय भारतमा रहेर कम्युनिस्ट आन्दोलनमा जोडिनु भयो । जति सकिन्छ त्यति योगदान पु¥याउनु भयो । यो योगदानले हामीलाई प्रेरणा मिलिरहने छ ।
खुल्ला हृदय, एउटै मन (भित्री बाहिरी नभएका) भएका जे हो त्यही बोल्ने एउटा इमान्दार व्यक्तित्व र गाउँकै अभिभावक हो मेघराज दाई ।
हाम्रो गाउँमा माओवादी खुल्ला राजनीतिमा आए पछि केहि मान्छेहरु मसाल छाडेर माओवादी प्रवेश गरे त्यो ताक पनि उहाँमा निकै दवाब परेको थियो । त्यो दबाबलाई उहाँले वैचारिक राजनीतिक र व्यवहारिक रुपले नै परास्त गरेर अगाडि बढनु भयो ।
निरन्तर इमान्दारीता, धैर्यता, स्वच्छता सहित राजनीतिक र सामाजिक काममा सकृयताका साथ लाग्नु भएका मेघराज दाइ प्रति हार्दिक श्रद्धाञ्जली ।
अलविदा मेघराज दाइ

Comments