माघ ६, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि सांसदहरु इन्दिरा रानामगर र मुक्ता कुमारी यादवको उम्मेवार िपरेको छ ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई आफ्नो तर्फबाट उपसभामुखको उम्मेदवार बनाएको छ । दुवैले २०६९ माघ ६ गते संसद सचिवालयमा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
माघ ६ गते शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
जसअनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । रास्वपाबाट उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा चलेको थियो । स्वयं गौतम पनि आफू उपसभामुखको उम्मेवार बन्नेमा ढुक्क रहेको देखिन्थ्यो । उनका अभिव्यक्तिहरुले त्यही संकेत गरेको थियो । तर अन्तिम समयमा आएर रास्वपाले इन्दिरा रानामगरको नाममा निर्णय गरेपछि सत्ता गठबन्धनका तर्फबाट राना ने उपसभामुखको उम्मेदवार बनेकी हुन् ।
उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन बसेका छन् ।
यस्तै नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ । यादवको उम्मेवारीमा कांग्रेसका बद्री पाण्डे प्रस्तावक रहेका छन् भने समर्थकमा एकीकृत समाजवादीका भेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।
सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।
धनुषाकी यादव समानुपातिक सांसद हुन् । कांग्रेसको१४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।
संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय माघ ६ गते शुक्रबार तोकेको थियो । उपसभामुखको चुनाव माघ ७ गते भोलि हुँदैछ ।
उपसभामुखमा इन्दिरा र मुक्ताको उम्मेदवारी
Comments