माघ ११, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मोहम्मद आदिल आलम र पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम “लाइभ वेटिङ” र “स्पट फिक्सिङ” गरेको आरोपमा प्रहरीद्वारा माघ ९ गते पक्राउ गरिएका छन् ।
राजविराजबाट आदिल र विराटनगरबाट महबुबलाई गिरफ्तार गरी दुवैलाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रहरीको अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म संचालित टी–२० लिग खेलमा मिलेमतो भएको प्रहरीले बताएको छ ।
नेपालमा फुटवल खेलमा म्याच फिक्सिङ भएका उदाहरण थिए । तर नेपाली क्रिकेट खेलको इतिहासमा फिक्सिङकाण्ड यो पहिलो घटना हो । पछिल्लो अवधिमा नेपाली क्रिकेट खेल अन्तर्राष्ट्रिय स्तरमा नै सफलता र प्रतिष्ठा आर्जन गर्दै गएको थियो । यो घटनाले नेपाली क्रिकेट खेलप्रेमीहरुलाई निरास तुल्याएको छ ।
“यथेष्ट प्रमाण प्राप्त भएकाले दुई जनालाई पक्राउ गरिएको हो । थप अनुसन्धान जारी छ ।”–नेपाल प्रहरी स्रोतले हाँक साप्ताहिकलाई बतायो ।
खेलाडीहरु राष्ट्रका गहना हुन् । उनीहरुबाट यस्तो अनैतिक काम हुनु भनेको देशघाती कार्य हो । खेल जगतको प्रतिष्ठान जोगाउन सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी छ ।