विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनको १७७ औं जन्म दिवस विश्वभर मनाइएको छ । सन् १९७० अप्रिल २२ मा लेनिनको जन्म भएको दिनलाई स्मरण गर्दै लेनिनको जन्म दिवस मनाइएको छ । लेनिनको जन्म दिन पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो । त्यसैले नेपालमा लेनिन दिवस र कम्युनिस्ट पार्टी स्थापना दिवस सँगसँगै मनाउने गरिन्छ ।
माक्र्स र एंगेल्सको विचारलाई समष्टिगतरुपमा माक्र्सवाद भनिन्छ । माक्र्स र एंगेल्सको मृत्युपछि माक्र्सवादको रक्षा र विकासमा लेनिनले आफ्नो समयमा अद्वितीय योगदान गर्नुभयो । उहाँले माक्र्सवादी दर्शन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, माक्र्सवादको मूलभूत सिद्धान्तहरु वर्गसंघर्ष, सर्वहारा अधिनायकवाद, सर्वहारा अन्तर्राष्ट्रवादलाई टेकेर माक्र्सवादलाई विकसित तुल्याउनु भयो । लेनिनको विचार र योगदानलाई लेनिनवाद भनिन्छ । विभिन्न अवसरवादी समाजवादी विचारधाराको विरुद्धमा संघर्ष गरेर माक्र्सवादको स्थापना भएको थियो । त्यसरी नै लेनिनको समयमा पनि विभिन्न अवसरवादी विचारधाराको विरुद्ध संघर्ष गरेर लेनिनवाद निर्माण भएको थियो । लेनिनवाद माक्र्सवादको विकसित रुप हो ।
रुसमा १८९० को दशकमा विभिन्न समाजवादी समूहहरुलाई एकीकृत गरेर रुसी सामाजिक जनवादी पार्टी निर्माण गरिएको थियो । रुसी सामाजिक जनवादी पार्टीभित्र सन् १९०३ को द्वितीय महाधिवेशनदेखि बोल्सेभिक र मेन्सेभिकका बीचमा गम्भीर वैचारिक संघर्ष भयो । १९०५ मा रुसमा सशस्त्र विद्रोह भएको थियो । तर त्यो विद्रोह असफल भयो ।
विद्रोहको असफलताबाट पाठ सिक्दै रुसमा लेनिनको नेतृत्वमा क्रान्तिकारी संघर्ष अगाडि बढ्यो । १९१७ फेब्रुअरीमा जारशाही राजतन्त्रात्मक शासनको अन्त्य भई बुर्जुवा गणतन्त्रको स्थापना भयो । मेन्सेभिकहरु र अरु अवसरवादीहरु बुुर्जुवा गणतन्त्रमै रमाउन थाले तर लेनिनले नेतृत्व गरेको बोल्सेभिक पार्टी क्रान्तिकारी संघर्षलाई अगाडि बढायो र (१९१७ मै फेब्रुअरी क्रान्ति भएको आठ महिना पछि अक्टोबर क्रान्ति अर्थात् समाजवादी क्रान्ति सम्पन्न भयो । नयाँ समाजवादी सत्तालाई ध्वस्त पार्न संसारभरीका साम्राज्यवादी र पुँजीवादीहरुले रुसमाथि आक्रमण गरे । तर जनताको बीचमा गहिरो जरा गाडिसकेको समाजवादलाई प्रतिक्रियावादीहरुले ध्वस्त पार्न सकेनन् । १९२४ मा लेनिनको मृत्युपछि स्टालिनले समाजवादको निर्माण र विकासको नेतृत्व गर्नु भयो ।
स्टालिनको मृत्यु (१९५३) पछि सोभियत संघको कम्युनिस्ट पार्टीको नेतृत्वमा खु्रश्चेभ मण्डलीले पार्टीलाई दक्षिणपन्थी दिशामा लग्यो र १९९० मा शोभियत संघ विघटन भयो । संसारभरीका प्रतिक्रियावादीहरुले शोभियतमा समाजवाद ढलेपछि अब समाजवादी क्रान्ति हुन नसक्ने बताइरहेका छन् । कम्युनिस्टको आवरणमा रहेका अवसरवादीहरुले पनि अब क्रान्तिको भविष्य छैन भन्दै प्रतिक्रियावादीहरुको स्वरमा स्वर मिलाउँदै क्रान्तिकारी आन्दोलनलाई दुत्कार्ने काम गरिरहेका छन् । तर मानव समाजको इतिहासले यो शिक्षा दिन्छ कि समाजवाद ढले पनि समाजवादको भविष्य उज्ज्वल छ । वर्तमान साम्राज्यवादी तथा पुँजीवादी व्यवस्थाले अहिलेका तमाम अन्तर्विरोधलाई हल गर्ने क्षमता गुमाउँदै गएको छ । लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको माक्र्सवाद हो । क्रान्तिकारी आन्दोलनको रक्षा र विकासका लागि लेनिनवादको झण्डालाई उँचो राखौं ।