सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा वैशाख ९ र १० गते कन्क्लेभ सञ्चालन भएको थियो ।
‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद सञ्चालन गरिएको बताइएको छ । कन्क्लेभमा राष्ट्रिय र अन्तर्रास्ट्रिय स्तरबाट विज्ञ वक्ताको रुपमा ४० बढी सहभागी भएका थिए ।२ दिनसम्म सञ्चालन भएको कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल गरिएको छ । कार्यक्रममा भएको छलफल र अन्तक्र्रियाबाट आएको निष्कर्षले कर्णाली प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।
कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रतिनिधि सभा सदस्य, पूर्व मुख्यमन्त्री, मन्त्री, प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरु, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ४०० बढीको सहभागीता रहेको थियो ।२ दिनसम्म चलेको कन्क्लेभमा कार्यक्रमको पहिलो दिन डिजिटल पूर्वाधार र कनेक्टिभिटी, डिजिटल शिक्षा, डिजिटल अर्थतन्त्र र फिनटेक, डिजिटल नेतृत्व, राजनीतिक प्रतिबद्धता र नीतिका विषयमा प्रस्तुती र प्यानल छलफल भएको थियो ।त्यसैगरी दोस्रो दिन ७ बढी कर्णालीका डिजिटल इनिसीएटिभ्सहरूको प्रस्तुतीसँगै टेलिमेडिसिन र डिजिटल हेल्थ, जनशक्ति, सीप विकास र रोजगारी, साइबर सुरक्षा, दिगो विकासमा प्रविधि र इन्नोभेसन, कृषिमा प्रविधि र ई–कमर्स तथा डिजिटल कर्णालीको वे फरवार्ड लगायतका विषयमा प्रस्तुती र प्यानल छलफल भएको थियो ।

