अमृतकुमार के.सी.
म सधैं शरण पाउँछु, तिमीले फैलाएको काखमा,
बर्सिरहन्छ ममाथि तिम्रो माया, स्नेहको वर्षा जस्तै।
शीतल छ तिम्रो हाँसो, पूजा जस्तै पवित्र,
अस्ताउनै नदिने घामजस्तै छ तिम्रो अटल आशिर्वाद।
बिउझन्छु म हरेक बिहान तिम्रो सुमधुर आवाजमा,
जसरी फूलहरू फक्रन्छन् पहिलो घामको स्पर्शमा।
जीवनको हरेक पीडा तिमीले आशीर्वादले पखाली दिन्छ्यौ,
आमा, तिमी नै मेरो भगवान्, मेरो पहिलो मन्दिर।
माता तिर्थ औंसीको यो पवित्र घडीमा,
नमन गर्दछु म तिमीलाई, अर्पण गर्दछु यो श्रद्धाको फूल।
जीवनका हरेक साँझ र बिहान, तिम्रै सम्झनामा सजाउँछु,
हे आमा, तिमी सधैं रहनु मेरो मुटुको उज्यालो बनी।
Comments