लघुवित्त पीडित सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न माग

-गिनिज बुढा 

काठमाडौ । उमेरको भारले भन्दा ऋण को पीडाले झन् बढी थकित देखिन्छिन् ६२ वर्षीय देउपति चौधरी । पीडाका कारण रुँदा रुँदा मोतियाविन्दुको पनि शिकार भएकी छिन् उनी । उमेरका हिसाबले प्रशस्त मात्रामा आराम गर्नुपर्ने समयमा उनी अहिले लघुवित्तीय तथा वित्तीय शोषण विरुद्धको आन्दोलनमा संलग्न हुन बाध्य भएकी छिन् ।

देउपति चौधरी पर्सा जिल्ला , जिराभवानी गाउँपालिका कि वासिन्दा हुन् । दुई जना छोरा थिए उनका , दुई दिदिबहिनी सँग विवाह भएको थियो । जेठो छोरा लघुवित्तको ठगीको सिकार भएपछि पिरमा परेर ६ महिना सम्म बिरामी परे । र ३५ वर्षको उमेरमा आफ्नो ज्यान गुमाए । कान्छा छोराको भने खेतमा काम गर्ने क्रममा दुर्घटना भएर काम गर्न नसक्ने अवस्थामा छन् । जसका २ जना साना छोराहरु छन् । जेठा छोराको ८ र १४ वर्षकि छोरीहरु हजुर आमाको प्रतीक्षामा छन् । चौधरीका श्रीमान अहिले निकै वृद्ध तथा विरामी छन् । बुहारी कामका लागि हिंडिरहेकि छिन् तर घरमा जीविकोपार्जनको लागि बलियो आधार छैन । यी सबै कुराहरु सम्झदा उनका आँखाबाट आँसु खस्छन् । तर पनि आन्दोलनकालागि उनी काठमाडौं सम्म आइपुगिन् । काठमाडौ आउनकालागि उनी सँग केवल २००० मात्र थियोे । १००० त गाडी भाडामा नै खर्च भयो ।
लघुवित्तले धेरै शोषण गरेका कुरा उनी बताउछिन् । रकम भर्पाइ नगरेको भन्दै गाली देखि कुटपिट समेत उनले भोग्नु पर्यो । अहिले शोषण उस्तै रहेकोे तथा गाउँघरमा विकास हुन नसकेको बताउँछिन् उनी ।  -हामी निराश भइ सकेका छौं  भन्दै सरकारले आफ्नो समस्यामा ध्यान नदिएको कुरामा गुनासो गर्छिन् ।
उनी आफै पनि निकै बिरामी छिन् । मोतियाविन्दु तथा रक्तचापको पनि समस्या छ उनलाई । शरीर दुख्दा पनि आन्दोलनमा सहभागी हुन बाध्य छिन् देउपति ।

उनको जस्तो समस्या यहाँ धेरैको छ । सोझा सिधा नागरिक जो प्राय खेती किसानि गरेर आफ्नो जीवन यापन गर्छन् । यस्ता व्यक्तिहरुलाई लघुवित्त तथा वित्तीय संस्थाहरुले ठुलो रकम ऋण प्रदान गर्ने लोभ देखाएर व्याजले थिचेर अत्याचार गरेका छन् । तर अत्याचार धेरै भएमा नागरिक स्वयम् जागरुक हुन्छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको नाराहरु काठमाडौका सडकमा पहिले नगुन्जिएका होइनन् । तर सरकारको वेवास्ताका कारण यी नारा तथा आवाजहरु सडकमा गुन्जाउन बाध्य भएका छन् पीडितहरू।गत वर्ष चैत्र २ गते सरकार द्वारा वार्ता टोली गठन गरेर स्थलगत भ्रमणका लागि प्रतिनिधि खटाइएको थियो । र लघुवित्तीय तथा वित्तीय शोषण भएको प्रमाणीकरण भए पछि ११ बुँदे प्रतिवेदन बन्न सफल भएको हो । तर अहिलेसम्म पनि प्रतिवेदन कार्यन्वयन नगरेका कारण पीडितहरु पुनस्विरोध तथा आन्दोलन गर्न बाध्य भएका छन् ।

यस्तै एक अर्को पीडित सीता विक कंचनपुर जिल्लाकि वासिन्दा हुन् । चैत्र १६ काठमाडौ आएपछि उनी अहिले आन्दोलनमा सक्रिय छिन् । उनी आफ्नो शोषणका कुरा यसरी सुनाउछिन् । ू पहिले गाउँमा संस्थाहरूले मागेर बचत गर्ने भने । बचत गरेपछि अर्को महिना देखि ऋण लिनु पर्छ , तपाई सदस्य हुनुस भनियो । १ लाख ऋण लिदा २० हजार काटियो । २० हजार फिर्ता भएन र २० हजारको पनि व्याज तिर्नु पर्यो । १ लाख को १ वर्षमा १०,५०० महिनैपिच्छे व्याज तिर्दा पनि ऋण घटेन । २ महिनामै नविकरण गराएर त्यो व्याजपनि सावाँमा राखेर आर्थिक शोषण गरियो । पीडितहरु कतिपयले आत्महत्या गरे । कोही आफ्नो घर, जग्गा बेच्न र छोड्न बाध्य भए । यसरी पीडितहरुको आर्थिक , सामाजिक , मानसिक र शारीरिक शोषण गरियो । शोषण विरुद्ध हार नमानेकाहरु अहिले आन्दोलनमा संलग्न छन् ।

लघुवित्तीय तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले आन्दोलन तथा कार्यक्रमहरु गरिनै रहेको छ । यो संघर्ष आजको होईन । २०७८ साल फागुनको महिनादेखि यस अन्याय का विरुद्धमा पहल सुरु भएको हो । अथक संघर्ष पछि प्रतिवेदन निर्माण भइसकेपछि पनि कार्यान्वयन हुन नसक्दा पीडितहरु पुनस्सडकमा ओर्लन बाध्य भएका छन् । हाल उनीहरु क्षेत्रपाटी स्थित पुरानो गोरखा अस्पतालमा बसोबास गरिरहेका छन् ।

सहकारी पीडितहरुले नियन्त्रणमा लिएको पुरानो गोरखा अस्पतालमा अहिले लघुवित्त तथा वित्तीय , सहकारी तथा मिटर व्याज पीडितहरु बसोबास गर्दै आएका छन् । आफुहरुलाई पनि त्यहाँ बस्नका लागि आमन्त्रित गरेकोमा लघुवित्त तथा वित्तीय पीडितहरु सहकारी पीडितहरु प्रति आभारी छन् ।

त्यहाँको बसाई भने अवश्य नै सजिलो छैन । शौचालयको अवस्था ठीक छैन । पानी पनि पर्याप्त मात्रामा उपलब्ध छैन । महिलाहरुको एक समूह नजिकैको धाराबाट जार टाउकोमा बोकेर परम्परागतढंगले पानी ओसारिरहेको दृश्यपनि थियो त्यहाँको परिसरमा । सबै जनाले काम बाँडेर गर्ने थाहा भयो । खाना पनि प्रायस् प्रयाप्त नभएको र कठिनाइ भएको जानकारी लघुबित्तीय तथा बित्तिय शोषण विरुद्ध संघर्ष समिति नेपालको केन्द्रिय सचिवालय सदस्य मनोज पौडेलले दिए । पौडेलका अनुसार लगभग ३०र३५ जिल्लाबाट आएका करिब १००० जनाको अहिलेको कार्यक्रममा सहभागिता छ । कतिपय भने आफन्तको घरमा पनि बसिरहेका छन् । चैत्र १७ देखि लगातार रूपमा आन्दोलन तथा कार्यक्रम भइनै रहेको पौडेल बताउँछन् । लघुवित्तीय तथा वित्तीय शोषण विरुद्ध संघर्षको संगठन हाल ६० जिल्लामा रहेको र १ लाख ९० हजार सहभागिता सम्पुर्ण देश बाट रहेको छ ।

विविध समस्या र कठिनाइका बाबजुद पनि पीडितहरु आफ्ना लागि न्यायको पहल गरि नै रहेका छन् । पौडेल भन्छन् – सरकारले छिटो भन्दा छिटो प्रतिवेदन कार्यान्वयन गर्नु पर्छ ,अनि मात्र हाम्रो आन्दोलन तत्कालका लागि स्थगित हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित