काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले महान दार्शनिक तथा विश्वसर्वहारा वर्गका नेता कार्ल माक्र्सको २०८औं जनदिवसको अवसरमा विश्वभरिका श्रमजीवि तथा आम उत्पीडित समुदायमा न्यानो अभिवादन सहित वर्गीय शोषण तथा जातीय उत्पीडनका विरुद्धको संघर्षमा सफलताको शुभकामना व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहाक महासचिव गौरवले पार्टीको तर्फबाट २०८२ साल बैशाख २२ गते एक प्रेस वक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गर्नु भएको हो । वक्तव्यमा अगाडि भनिएको छ –
आज मई ५, तदनुसार वैशाख २२, महान् दार्शनिक तथा विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको २०८औं जन्म दिवस हो । यस अवसरमा हाम्रो पार्टी विश्वभरिका श्रमजीवी तथा आम उत्पीडित जनसमुदायमा न्यानो अभिवादन गर्दछ र वर्गीय शोषण तथा जातीय उत्पीडिनका विरुद्धको संघर्षमा सफलताको शुभकामना व्यक्त गर्दछ ।
कार्ल माक्र्सको जन्म १८१८ मई ५ का दिन जर्मनीको ट्रियर सहरमा भएको थियो । बुर्जुवाहरुले समेत माक्र्सलाई गत दुई शताब्दीका सर्वश्रेष्ठ दार्शनिकका रुपमा उच्च मूल्यांकन गरेका छन् । आफ्ना सहयोद्धा फ्रेडरिक एङ्गेल्सको सहयोगमा कार्ल माक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अर्थात् माक्र्सवाद विश्व सर्वहारा वर्ग तथा आम उत्पीडित जनसमुदायको मुक्तिको विज्ञान हो । यी दुई शताब्दीका बीचमा सर्वहारा वर्गले यो विज्ञानलाई सोभियत रुस र चीन लगायत विभिन्न देशहरुमा सफल प्रयोग गरेर क्रान्ति सम्पन्न गरेका थिए । ती देशमा साम्राज्यवादी लुटेराहरुका स्वर्ग ध्वस्त भएका थिए, बुर्जुवा अधिनायकत्वको ठाउँ सर्वहारा अधिनायकत्वले लिएको थियो । तर विडम्बना, चीनको प्रतिक्रान्ति पछि विगतका सर्वहारा सत्ता विघटित भएका छन् र अहिले कुनै पनि देशको राष्ट्रिय स्तरमा सर्वहारा वर्गको सत्ता छैन । हामीसँग ती गौरवपूर्ण क्रान्तिका अनुभवहरु छन् । ती अनुभव हाम्रा अमूल्य निधि हुन् । यस अवधिमा भएका प्रयोगका बीचबाट आजसम्म आइपुग्दा माक्र्सवाद, माक्र्सवाद–लेनिनवाद हुँदै माक्र्सवाद–लेनिनवाद–माओवादमा विकसित भएको छ ।
यतिबेला विश्व अत्यन्त गंभीर अवस्थाबाट गुज्रिरहेको छ । श्रम र पुँजीका बीचको अन्तर्विरोध सहित साम्राज्यवाद तथा उत्पीडित राष्ट्रका बीचको अन्तर्विरोध दुवै उत्कर्षमा छन् । एकाधिकारी पुँजीको विस्तारका निमित्त चर्किंदै्र गएको अन्तर–साम्राज्यवादी अन्तर्विरोध यतिबेला व्यापार युद्धमा अभिव्यक्त भएको छ र त्यो तेस्रो विश्वयुद्ध तर्फ उन्मुख हुँदैछ । विश्व व्यवस्थामा यस्तो सङ्कट आउनुु र यो सङ्कट टार्न बुर्जुवा लोकतन्त्र असफल हुँदै जानुका कारण विश्वमा विभिन्न रुपका निरङ्कुशता तथा फासीवादको विकास भइरहेका छन् । पुँजीवादद्वारा सिर्जित उपरोक्त अन्तविरोधहरु र तिनले पैदागरेको सङ्कटको समाधान बुर्जुवा लोकतान्त्रिक शासन व्यवस्थाबाट हुन सक्दैन । माक्र्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद नै विद्यमान सङ्कटको एकमात्र विकल्प हो । यो स्थितिमा माक्र्सवादको सान्दर्भिकता झन बढेर गएको छ ।
विश्वभरि नै दक्षिणपन्थी संशोधनवाद सर्वहारा क्रान्तिको प्रमुख बाधक हो । माक्र्सवादको नाममा विभिन्न रुपका संशोधनवादीहरुले जनताका बीचमा साम्यवादको भ्रम छर्दै आएका छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पछि कहिले एकल त कहिले गठबन्धनका रुपमा कम्युनिस्ट नामका पार्टीहरुले सरकारको नेतृत्व गरेका छन् । तर, विडम्बना देश दिन प्रतिदिन पराधीन बन्दै गएको छ, जनजीविकाका समस्याहरु विकराल बनेका छन् र देशमा फासीवादको विकास भइरहेको छ । नवउदारवादको सिरानी हालेर विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता साम्राज्यवादी आर्थिक संस्थाहरुको निर्देशनमा चल्नेहरु कहिल्यै कम्युनिस्ट हुन सक्दैनन् । ती साम्राज्यवादका दलाल हुन् । माओले संशोधनवाद भनेको अन्ततः प्रतिक्रियावाद हो भन्ने भनाइको अर्थ यहींनेर छ ।
आज हामी माक्र्सको २०८औ वार्षिकी मनाउँदै छौं । वर्षमा एकपटक माक्र्सको वार्षिकोत्सव मनाउँदैमा कोही पनि सच्चा कम्युनिस्ट हुँदैन । साम्राज्यवादका विरुद्ध अथक संघर्ष गर्ने, वर्ग दुश्मनप्रति अपार घृणा गर्ने, संशोधनवादका विरुद्ध निरन्तर संघर्ष गर्ने र वर्ग संघर्षमा दृढतापूर्वक अग्रपंक्तिमा उभिनेहरु सच्चा कम्युनिस्ट हुन् । यस्ताले मात्र माक्र्सवादको रक्षा, प्रयोग तथा विकास गर्न सक्दछन् र माक्र्सलाई स्मरण गर्नुको अर्थ रहन्छ ।