पूर्व मन्त्री प्रदिप नेपालको निधन

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको थापाथली स्थित नर्भिक अस्पतालमा ७२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि उनी पार्किन्सनका विमारी थिए ।अस्पतालले २०८२ वैशाख २३ गते निधनको घोषणा गरेको हो । नेता नेपालको अति सघन कक्षा ९सिसियु० मा उपचार भएको थियो । उनको उपचार डाक्टर सुरज गुप्तासहितको टोलीले गर्दगर्दै नेपालको निधन भएको थियो ।

वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल काठमाडौंमा मुस्लो परिवारमा सहभागी भई पन्चायत विरोधी गतिविधि गर्दा पक्राउ परेका थिए । नख्खु जेलमा झापा विद्रोहका सीपी मैनाली, राजन राजबंशी, भोगेन राज बंशी लगायतका नेताहरू सहित काठमाडौका मुस्लो परिवारका प्रदिप नेपाल लगायतलाई पनि राखेको थियो । २०३३ चैत्र १३ गते राती नख्खु जेल तोडेर फरार हुने १५ जना मध्ये एक प्रदिप नेपाल पनि थिए । उनी नेकपा (माले)स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

नेकपा (माले)स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए ।उनले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग वैवाहिक जीवन शुरु गरेका हुन् ।

साहित्य तर्फ उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । उनले मुक्त आकाशको खोजीमा जस्ता चर्चित साहित्यिक कृति संजय थापाको नामबाट लेखेका छन् । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । कवि मन्जुल (मेघराज नेपाल) उनका सहोदर दाइ हुन् ।

एमालेको मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादकको जिम्मेवारी पनि बहन गरे ।२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे । १४४ मेघावाटको कालिगण्डकी जलविद्युत परियोजनाको थालनी उनको कार्यकालमा भएको थियो ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित