पहलगाम घटनामा भारतीय विस्तारवादी रवैया

अहिले भारत पाकिस्तानको बीचमा पहलगाम घटनाको विषयलाई लिएर तनाव भएको छ । २०२५ अप्रिल २२ मा भारत पाकिस्तानको सीमास्थित जम्मु काश्मिरको पहलगाममा २६ जना पर्यटकको ज्यान जानेगरी हतियारधारी समुहद्वारा हमला भएको थियो । यो हमलामा परी २० जना घाइते भएका छन् । आक्रमणमा स्वदेशी तथा विदेशी पर्यटकहरु परेका छन् । यो घटनाको जिम्मा पाकिस्तानमा क्रियाशील लस्कर एतैयवासँग सम्बन्धित द रेसिस्टेन्स फ्रन्टले लिएको छ ।आक्रमणकारीहरुले हिन्दुहरुलाई निशाना बनाएको आक्रमणबाट बाँचेकाहरुले बताएका छन् । यो घट्ना पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणमा संलग्न जो सुकैलाई नछोडिने बताएका छन् । आफ्ना सुरक्षा निकायहरुलाई कारबाहीकालागि आदेश दिएका छन् । मृत्युको बदला लिने भनेका छन् ।
यो दुःखद घटना पछि भारतले पाकिस्तानलाई जिम्मेवार ठहराउँदै उसँग भएका सन्धिहरु खारेज गर्ने जस्तै सिन्धु सम्झौता रद्द गर्ने ,पाकिस्तानी नागरिकको भिसा रद्ध गर्ने,अटारी बाघसीमा बन्द गर्ने, ५५ जना भारतस्थित पाकिस्तानी कुटनीतिज्ञहरुलाई घटाएर ३० जना मात्र राख्ने, पाकिस्तानी समानहरुमा २ सय प्रतिशत भन्सार लगाउने जस्ता निर्णयहरु एक तर्फीरुपमा ग¥यो । हतियारधारी समुहले गरेको आक्रमण घटनाको जिम्मा पाकिस्तानले अस्वीकार गरेको छ । आफ्नो देशविरुद्ध भारतले एकतर्फी रुपमा यस्तो कदम चाले पछि पाकिस्तानले १९७२ को शिमला सम्झौता निलम्बन गर्ने, भारतीय विमानहरुकालागि आफ्नो हवाई क्षेत्र बन्द गर्नुका साथै तेस्रो देशहरुमार्फत भारतसँगको सबै व्यापार निलम्बन गर्ने, भारतीय नागरिकहरुको भिसा रद्द गर्ने निर्णय गरेको छ । भारतले सिन्धु जल सन्धिमा भएको सम्झौता विपरीत पानी रोक्ने कार्य गरेमा युद्धको घोषणा भएको सरह हुने पाकिस्तानले बताएको छ ।
भारत पाकिस्तान अहिले युद्धको संघारमा पुगेको अवस्थामा पारिवारिक रुपमा विछोडको अवस्थामा पु¥याएको छ । भारतबाट देश छाड्ने आदेश पाएका पाकिस्तानी नागरिकहरु आफुले आफन्तीलाई छोड्नु पर्दा पीडाका आँसु अटारी बाघ नाकामा पोखिएका छन् । भारत र पाकिस्तानकोबीचमा बढ्दो तनावले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान आकर्षित भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुएट्रेसले दुवै देशले लडाइँबाट नभई शान्तिपूर्ण रुपमा समस्या समाधान हुनुपर्ने बताएका छन् । अमेरिका, टर्की, कतार जस्तादेशहरुले भारत पाकिस्तानबीचको तनाव कम हुने आशा व्यक्त गरेका छन् ।
भारत र पाकिस्तानकोबीचमा विभाजनको समय १९४७ देखि नै आपसी सम्बन्ध राम्रो छैन । झनै बेला बेला हुने यस्तो प्रकारका आक्रमण,हमला तथा सीमानामा सिर्जना हुने खटपटले गर्दा भारत र पाकिस्तानकाबीचमा तिक्तता निरन्तर हुने गरेको छ । अप्रिल २२ को घटना पछि दुइदेशकोबीचमा देखिएको तनावले निकै तरङग पैदा गरेको छ । भारतीय शासकहरुले आक्रमणको बदला लिने बहानामा आफ्नो विस्तारवादी,हैकमवादी ,एकल धार्मिक प्रभुत्ववादी अहमता प्रदर्शन गर्न चाहेको देखिन्छ । आक्रमणकारीलाई कारबाही गर्ने नाममा सिंगो देशमाथि नै योजनाबद्ध रुपमा आक्रमण गर्ने दिशामा अगाडि बढ्नु न्यायसंगत देखिँदैन । भारतले जुन गतिविधि अगाडि बढाइरहेको छ , यसले विगतदेखि सुदृढ नभएको सम्बन्ध अझै खराब दिशातिर जानेछ । भारतका शासकले एकल धार्मिक तथा नश्लीय राजनीति अवलम्बन गर्दै आएको छ । मोदी सरकार आफ्नो शासनकालभरि नै अल्पसंख्यक समुदायमाथि निर्मम रहँदै आएको छ । फरक राजनीति र फरक धर्म अवलम्बन गर्नेहरुमाथि दमनको नीति अपनाउँदै आएको छ । पहलगाम आक्रमण पछि मोदी सरकार जुन रुपमा आएको छ । यसले भारतले सबै उपायहरु अपनाएर वा बहाना बनाएर पाकिस्तानलाई कमजोर बनाउन चाहेको देखिन्छ । यो आक्रमण आतंकवादी आक्रमण बताएर आतंकवादीलाई कारबाही गर्ने नाममा भारतले पाकिस्तानमाथि वा सीमानामा आक्रमण गरेमा दुवै देशको हितविपरीत हुनेछ । राजनीतिज्ञ तथा देश सञ्चालकहरुले आफ्ना देशका नागरिकहरुलाई कुनै पनि बहानामा हिंसा भड्काउन होइन आपसी सद्भाव कायम गर्न प्रोत्साहन गर्नु पर्दछ । पाकिस्तानले घटनाको अस्वीकार गर्दा गर्दै,भारतले जुन तरिका अपनाउँदै छ त्यो आपसी हित तथा अन्र्राष्ट्रिय सम्बन्धको नीति विपरीत छ । यसले क्षेत्रीय अस्थिरतालाई बढावा दिनेबाहेक केही हात लाग्ने छैन । पहलगाममा निर्दोषहरुमाथि जुन घटना घटाइएको छ । त्यसको निष्पक्ष छानविन,सत्यतथ्य पत्ता लगाउने र दोषीहरुलाई कारवाही गर्ने काम दुवै देशबाट हुनु पर्दछ । एक देशमाथि अर्को देशले आक्रमण गरेर ,हतियारको दम्भ देखाएर समस्याको समाधान हुँदैन ।भारतको विस्तारवादी रवैयाले नै यो क्षेत्रमा आतंकवादलाई जन्माइरहेको छ । उसको विस्तारवादी रवैयाले दक्षिण एशियाका अन्य स्वतन्त्र राष्ट्रकालागि पनि खतरा बनिरहेको छ । राष्ट्रिय स्वाधीनताकालागि सम्पूर्ण उत्पीडित राष्ट्रहरु र स्वतन्त्रताप्रेमीहरु स्वाधीनता पक्षधरहरुको एकता आवश्यक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित