निर्मल लामालाई सम्झँदा

– प्रभुनारायण बस्नेत
वैशाख २७ गते नेपाली कम्युनिष्ट आन्दोलनका एक महत्वपूर्ण नेता निर्मल लामाको स्मृति दिवस हो । क्यान्सर रोगबाट पीडित भइ २०५७ वैशाख २७ गते निर्मल लामाको निधन भएको थियो । उहाँ २००७ मा नेपाली काँगे्रसको जनमुक्ति सेनाको कमाण्डर बनी राणा हटाउने सशस्त्र संघर्षको नेतृत्व गर्नु भएको थियो । राणा शासनको अन्त्य भएपछि लामा दैलेख जिल्लाको बडा हाकिम बन्नु भएको थियो । वहाँ कांग्रेस छोडेर कम्युनिष्ट पार्टीमा लाग्नु भयो ।

उहाँ २०१५ सालको पहिलो संसदीय निर्वाचनमा दैलेखबाट उम्मेदवार बन्नुभएको थियो,जुन ठाउँ अहिले सुर्खेत समेत पर्दछ । २०१६ साल तिर पर्वत जिल्लाको फलेवासस्थित भवानी विद्यापीठमा शिक्षक बन्नु भयो र पर्वत तथा वाग्लुङ क्षेत्रमा कम्युनिष्ट जनमत सिर्जना गर्न योगदान पु¥याउनु भयो । पञ्चायत कालको प्रारम्भतिर स्नातकहरुको तर्फबाट निर्वाचन लडेर पञ्चायती व्यवस्थालाई चुनौती दिनु भयो । भद्रगोल जेलमा बस्दा मोहनविक्रम सिंह लगायतका नेताहरुसित महिनौं दिन छलफल गरेर नेपाली कम्युनिष्ट आन्दोलनलार्ई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा दस्तावेजहरु तयार पार्न महत्वपूर्ण योगदान दिनु भयो । २०२८ सालमा गठन भएको न्यूक्लियसको वहाँ संस्थापक हुनुहुन्थ्यो । २०३१ सालमा वनारसमा सम्पन्न नेकपाको चोथो महाधिवेशनबाट वहा पिविएम बन्नु भयो । २०३४सालमा मोहनविक्रमसिंह कारबाहीमा परेपछि लामा नेकपाको महामन्त्री हुनु भयो । २०३६ सालमा वहाँ महामन्त्रीबाट हट्नु भयो ।

२०४० सालमा पार्टी विभाजित भइ मशाल र चौम बन्यो । लामाले चौमको नेतृत्व गर्नु भयो । २०४६ सालको जनआन्दोलनमा सात वाम पार्टीहरुको वाममोर्चा बनेको थियो । जसमध्ये एउटा वाम पार्टी चौमको नेतृत्व लामाले गर्नु भएको थियो । २०४६ सालको जनआन्दोलन पछि बनेको संविधान सुझाव आयोगको एक सदस्य लामा पनि हुनुहुन्थ्यो ।२०४७ मा बनेको नेकपा एकताकेन्द्रमा वहाँले एउटा लाइनको नेतृत्व गर्नुभयो ।एकताकेन्द्र विभाजित भएपछि वहाँ पार्टीको मुख्य नेतृत्वमा रहनुभएन।
निर्मल लामाले नेतृत्व गरेको नेकपा चौममा र त्यसपछि एकताकेन्द्रमा पनि रहेर मैले काम गर्न पाएँ । २०४४ सालमा अनेरास्ववियु केन्द्रीय समितिको म अध्यक्ष बनेँ र २०४७ सम्म नै नेकपा एकताकेन्द्र नबन्दासम्म म त्यस संगठनको अध्यक्ष रही काम गरेँ । मैले लामासित धेरै नै संगत गर्ने अवसर प्राप्त गरेँ । लामा जनता र कार्यकर्ताको अत्यन्त इमान्दार र प्रिय नेता हुनुहुन्थ्यो । मैले अहिलेसम्म त्यस्तो प्रष्ट नेता भेटेको छैन । पार्टीमा कैयौं कार्यकर्ताहरु आउँछन् जान्छन् तर पार्टी छोडेर गएपनि गाली गर्दैनन् । अरु पार्टीमा छोडेर गएपछि नेतालाई गाली गर्छन् तर लामालाई गाली गर्दैनन् । कमल चौलागाइँले पार्टी छोडेर गए तैपनि उनले लामा कै गुणगान गाउँथे । लामाले प्रतिष्ठान नबनाउनु भन्नु भएको थियो । तर अहिले लामाको नाम बेचेर प्रतिष्ठान बनाइरहेका छन् । नेताहरु मञ्च पाएपछि लामा लामा भाषण गरिरहन्छन् तर लामा परिस्थितिलाई हेरेर छोटकरी मै सजिलैसित जनतालाई कुरा बुझाउने गरी भाषण गर्न सक्ने नेता हुनुहुन्थ्यो । लामा जी सिद्धान्तवान् ,निष्ठावान र व्यवहारमा लचिलो नेता हुनुहुन्थ्यो ।
निर्मल लामाले आफ्नो अन्तिम समयमा पार्टीभित्र अमिक शेरचन, चित्रबहादुर आले ,विष्णुबहादुर वाइवालाई विश्वास गर्नुहुन्थ्यो । पढालेखा ,दस्तावेज लेख्न सजिलो होस भनेर लामाले नारायणकाजीलाई नेतृत्वमा अगाडि सार्नुभयो । नारायणकाजी र गिरिराजमणिले आस्था निष्ठा बोकेको पार्टीलाई समाप्तै गरेर छाडे ।

लामा जी सितका थुप्रै अविस्मरणीय पलहरु छन् । वहाँ २०४७ सालमा संविधान सुधार सुझाव आयोगको सदस्य भएपछि क्रान्ति गर्ने पार्टी पनि प्रतिक्रियावादी संविधान बनाउन जान हुन्छ ? भनेर धेरै आलोचना भइरहेको थियो । त्यो कुरा मैले पार्टी र लामाजीलाई बताएँ । वहाँहरुको सल्लाह अनुसार नै पाटनको अशोकहल नजिकै कार्यकर्ता भेलाको आयोजना गरियो । कार्यकर्ताको त्यही गुनासो मैले त्यहाँ राखिदिएँ ।लामा जी एकदमै रिसाउनु भयो । तपाइँ मसालको भाषा बोलिरहनुभएको छ । चौमको भाषा बोल्न सिक्नुस भनेर कराउनु भयो ।मैले नरम भाषामा जनताका यी यी कुरा छन् भनेर फेरि कुरा राखेँ । वहाँ झन् रिसाउनु भयो । त्यही कार्यक्रममा एक जना भगतलाल सिंह उठेर तपाइँ नेता भएर कार्यकर्तासँग बोल्ने तरिका यही हो? कार्यकर्ताको अगाडि माफी माग्नु पर्छ भनेर रिसाए । त्यति बेलै लामाले ओहो साथी हो म उत्तेजित भएछु कि क्या हो । सरी है भन्नु भयो । आफ्नो गल्तीलाई सजिलै सितै स्वीकार गर्न सक्ने आत्मआलोचना गर्न सक्ने नेता हुुनुहुन्थ्यो लामाजी । वहाँ एक छत्र मेरो मात्रै प्रभुत्व पार्टीमा हुनु पर्छ भन्ने ठान्नुहुन्थेन । बहुदल आउनुभन्दा पहिले कार्यकर्ताको निकै संकट भएको बेलामा ३५ जना कार्यकर्ता जम्मा गरेर लामालाई बोल्न लगाएको समेत मलाइ सम्झनामा छ ।

जयगोविन्द शाहलाई प्यारालाइसिस भएपछि कसरी उपचार गर्ने भन्ने संकट भयो । त्यतिबेला मान्छेले चन्दा दिँदा एक सुका, एक मोहोर दिन्थे । मैले ५ सय उठाइदिन्छु जनकपुरबाट भनेँ करिब त्यति नै रुपियाँ मैले उठाएर पार्टीलाई दिएँ पनि । पैसा संकलन गर्दा, हिँड्दा, डुल्दा खर्च हुन्छ त्यो कुनै खर्च नगरीकन किन यसरी सबै पैसा दिएको भनेर भन्नुहुन्थ्यो । कार्यकर्ताहरुको धेरै ख्याल राख्ने उहाको बानी थियो।
निर्मल लामाबाट अबको कम्युनिष्ट आन्दोलनले सिक्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा निष्ठा र इमान्दारिता हो । अहिले कम्युनिष्ट आन्दोलनमा नव सामन्तहरु जन्मेका छन् । लामाजी अनावश्यक तडक भडक देखावटी कुरा मन पराउनु हुने थिएन । जनतालाई सँग सँगै लिएर जनता भन्दा एक कदम अगाडि बढेर जनतालाई डो¥याउँदै शोषित पीडित वर्गको आन्दोलन अगाडि बढाउनु पर्छ भन्ने लामाजीको मान्यता थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित