(रामबहादुर बुढा)
नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)का बिचमा “पार्टी एकता संयोजन समिति” बनेको छ । २०७९ पौष २६ गते तीनवटै पार्टीका प्रमुखहरू मशालका महासचिव सन्तबहादुर नेपाली, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र बहुमतका संयोजक कञ्चनले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गरी पार्टी एकता संयोजन समिति बनेको जानकारी गराएका थिए । कम्युनिस्ट आन्दोलनमा विभाजन, एकता, गठन, पुनर्गठन, विश्वव्यापी रूपमा र नेपालको सन्दर्भमा पनि हुँदैरचल्दै आइरहेकै प्रक्रिया हो ।
पार्टी एकताका कुरा गर्दा सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो – कुन उद्देश्यका लागि पार्टी एकता गर्ने रु अवसरवादी उद्देश्यका लागि वा क्रान्तिकारी उद्देश्यका लागि रु वर्तमान प्रतिक्रियावादी सत्ताभित्र शक्ति बढाएर व्यक्तिगत, गुटगत, दलगत लाभ लिनका लागि मात्र पार्टी एकता गर्न खोजिन्छ भने त्यो अवसरवादी उद्देश्य हो । प्रतिक्रियावादी व्यवस्थालाई अन्त्य गरी शोषित पीडित वर्गको व्यवस्था स्थापना गर्ने उद्देश्य राखी पार्टी एकता गर्ने प्रयास गरिन्छ भने त्यो क्रान्तिकारी उद्देश्य हो । अहिले तीन पार्टीका बिचमा जुन एकता संयोजन समिति बनेको छ, क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर नै प्रक्रिया अगाडि बढेको छ । हामी आशा गरौँ चालु प्रक्रियाबाट सकारात्मक परिणाम प्राप्त हुने छ ।
संयुक्त प्रेस वक्तव्यमा “औपचारिक अनौपचारिक रूपमा पार्टी एकताका विषयमा छलफल चल्दै आएको” कुरा उल्लेखित छ । अबको कम्युनिस्ट आन्दोलनको दिशाबारे आम रूपमा छलफल गरिनुपर्दछ । पार्टीभित्र, पार्टी बाहिर, सार्वजनिक फोरमहरू, लेख रचनाहरूमा छलफललाई अगाडि बढाइनुपर्दछ । नेकपा (मशाल) अहिले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई ध्रुविकृत र बलियो बनाएर अगाडि बढ्ने पक्षमा छ ।
प्रेस वक्तव्यमा तीनवटै पार्टीको “सिद्धान्त र राजनीतिमा आधारभूत विषयमा समानता” रहेको कुरा स्वीकार गरिएको छ । माक्र्सवाद–लेनिनवादका मूलभूत सिद्धान्तलाई आत्मसात गर्ने, आजको युगमा माओका योगदानहरूलाई आत्मसात नगरी क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने मान्यता, नेपालको सामाजिक चरित्रको बदलिंदो अवस्था खासगरी दलाल पुँजीवादी शोषणको प्रबलता, नेपाली क्रान्तिको स्वरूप नेपालको आफ्नै विशिष्टता अनुरूप हुनुपर्दछ भन्ने निश्कर्ष, संसदीय व्यवस्थाको विकल्पमा नयाँ सत्ता निर्माणको दिशामा सङ्गठन, आन्दोलन सङ्घर्ष अगाडि बढाउनुपर्दछ भन्ने निश्कर्ष–तीन वटै पक्षको दस्तावेजहरूको अध्ययनबाट उल्लेखित आधारभूत विषयमा समानता देखिन्छ ।
संयुक्त प्रेस वक्तव्यमा के कुरा पनि स्वीकार गरिएको छ भने “सिद्धान्त र राजनीतिका आधारभूत विषयमा समानता भए पनि कैयौँ विषयहरू छलफल गरेर टुंग्याउनु पर्ने” छ । एउटै पार्टीभित्र पनि कैयौँ मत मतान्तरण हुन्छन् । नयाँ नयाँ विवादहरू पनि जन्मिन्छन् । फरक फरक पार्टीहरू बिचमा पार्टी एकता गर्न खोज्दा फरक फरक विचार, धारणा, मत हुनु स्वाभाविक हो । त्यस अवस्थामा हामीले हेर्नु पर्ने कुरा के हो भने मूलभूत सिद्धान्तमा समानता छ कि छैन । राजनीतिक कार्यदिशामा एक रूपता कायम गर्न सकिन्छ कि सकिंदैन रु यस्ता आधारभूत कुराहरूमा समानता कायम हुनसक्यो भने तपशीलका विषयहरूलाई छलफल गरेर टुंग्याउन सकिन्छ । छलफल गरेर नटुङ्गिएमा निश्चित विधि, प्रक्रियाबाट टुंग्याउने वा व्यवस्थापन गर्ने काम गर्न सकिन्छ ।
संयुक्त प्रेस वक्तव्यको अन्त्यमा अन्य क्रान्तिकारी शक्तिहरूलाई “एकता प्रक्रियामा आउन आह्वान” गरिएको छ । आफू मात्र क्रान्तिकारी, अरू सबै खराब, कमसल भन्ने चिन्तनबाट हामी मुक्त हुन जरुरी छ । पार्टी, समूह, व्यक्ति सबै क्रान्तिकारी विचार राख्नेहरूसित सहकार्य अगाडि बढाउँदै जानुपर्दछ । कम्युनिस्ट आन्दोलनको भ्रष्टीकरण, क्रान्तिकारी चरित्रको ह्रास, सर्वहारा दृष्टिकोणबाट पतन देखेर चिन्ता गर्ने तथा सच्चा कम्युनिस्ट आन्दोलनको हित चाहने निकै ठुलो जनमत नेपालमा छ । सकिन्छ एकता, सकिंदैन साथ सहयोग र सहकार्य, त्यति पनि सकिंदैन शुभेच्छा समेत सङ्ग्रह गर्दै सच्चा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन जरुरी छ ।
विगतमा नेकपा (मशाल)सित नेकपा (एकीकृत) र (क्रान्तिकारी–माओवादी)ले गरेको एकता प्रयासको सन्दर्भलार्ई यहाँ जोड्नु अन्यथा हुने छैन । २०६३ साल फागुनमा विशेष महाधिवेशन गरेर नेकपा (मसाल) पुनःस्थापना गरिएको थियो । नारायणकाजीहरू २०६५ सालमा नेकपा (माओवादी)सित मिल्न गएका थिए र रामसिंह श्रीसहरूले ऋषि कट्टेल, सिताराम तामाङसितसमेत एकता गरेर २०६४ सालमा नेकपा (एकीकृत) निर्माण गरेका थिए । रामसिंह श्रीसका अनुसार नेकपा (एकीकृत) गठन भएपछि श्रीस, कट्टेल र तामाङ तीन जनाले पार्टी एकताको सम्भावनाबारे कुरा गर्न मसालका मोहनविक्रम सिंहसित काठमाडौँ कोटेश्वर तिनकुने कार्यालयमा भेटघाट गरेका थिए । त्यो भेटमा सिंहले “पार्टी एकता सम्भव छैन ।” भनेका थिए ।
२०६९ मा एकीकृत नेकपा माओवादी विभाजन भई नेकपा–माओवादी निर्माण भयो । नेकपा–माओवादीबाट २०७१ तिर विप्लव समूह विभाजित भई नेकपा निर्माण भयो । २०७२ तिर नेकपा–माओवादीसित नेकपा (एकीकृत)को एकता भएर नेकपा क्रान्तिकारी माओवादी बन्यो । नेकपा (क्रान्तिकारी माओवादी)ले पनि मसालसित पार्टी एकताको प्रयास गर्यो । त्यसबारे मसालका कृष्ण पौडेल र विमल शर्माको कुरा यस्तो छ “क्रान्तिकारी माओवादीले चिठी पठाएका थिए । पार्टीका नेतृत्वमा रहेकाहरूले पहिलो कुरा बैठकमा चिठी नै प्रस्तुत गरेनन् । धेरै पछि मात्र बैठकमा कुरा राखियो । पाँचौँ महाधिवेशनमा हामीलाई धोका दिएको व्यक्तिसित पार्टी एकता गर्न सकिन्न भन्ने थियो ।” मसालले गठन गरेको वार्ता कमिटी र माओवादी केन्द्रले बनाएको वार्ता कमिटीका बिचमा छलफल भएको थियो । उच्चस्तरमा नै छलफल हुनुपर्दछ भनेर मोहन विक्रम सिंहसित मोहन वैद्य र रामसिंह श्रीसले पनि छलफल गरेका थिए । कार्यगत एकता गर्न सकिन्छ, पार्टी एकता गर्न सकिन्न भनेर मोहन विक्रम सिंहले भनेपछि त्यो वार्ता त्यतिकै समाप्त भएको थियो । मलाई सम्झना भएसम्म क्रान्तिकारी माओवादीले पत्र पठाएको जानकारी बैठकमा दिइएको थियो । तर पत्रको व्यहोरा के थियो भन्ने कुरा त्यहाँ पढेर सुनाइएन । जातीयताको प्रश्न, उग्रवामपन्थी चिन्तनको प्रभाव, सङ्घीयता आदिका कारण वैद्यसित एकता हुन्न हाम्रो अन्तिम कुरा यही हो । छलफलसम्म गरौँ भनेर सिंहले बैठकमा भनेका थिए ।
त्यतिबेला वार्तामा बसेका मसालका प्रतिनिधिले बताए अनुसार “कार्यगत एकता गर्दै जाँदा सैद्धान्तिक, राजनीतिक छलफल पनि हुन्छ र पार्टी एकताको आधार पनि तयार हुन्छ भन्ने हाम्रो भनाइ थियो । तर माओवादी केन्द्रले सहकार्य भन्दा पनि पार्टी एकतालाई प्राथमिकतामा राख्यो र वार्ता अगाडि बढ्न सकेन ।” तर रामसिंह श्रीसको भनाइ छ,”एकतामा जानै हुन्न भन्ने मसाल नेतृत्वको कारण वार्ता टुङ्गियो ।”
विगतमा मसालसित भङ्ग भएको वार्ता प्रक्रियालाई नेकपा (मशाल)ले अगाडि बढाएको छ । त्यसमा विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका नेकपा (बहुमत) समेत वार्ता प्रक्रियामा सहभागी छ । यसरी नेकपा (मशाल)ले अहिले छुट्टै नयाँ काम गर्न थालेको भन्दा पनि यसलाई तत्कालीन मसाल नेतृत्वले भङ्ग गरेको वार्ता प्रक्रियालाई पुनः अगाडि बढाइएको हो ।
पार्टी एकताका कारणले मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढ्दैन । क्रान्तिकारी आन्दोलन अगाडि बढ्नका लागि क्रान्तिकारी विचार, नीति र कार्यक्रम चाहिन्छ । जति सुकै ठुलो भीड जम्मा गरे पनि विचार सही भएन भने क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन ।
पार्टी एकता गर्ने भन्दा वित्तिकै पार्टी एकता भइहाल्ने कुरा पनि हैन । त्यसले निश्चित प्रक्रिया पार गर्नु पर्ने हुन्छ । पार्टी सदस्यहरूका बिचमा छलफल गरेर प्रस्ट धारणा निर्माण गरेर अगाडि बढ्नु पर्ने हुन्छ ।
मूलभूत विचार मिल्ने शक्तिहरूसित छलफल, वार्ता, सहकार्य, एकताका सम्भावनाको खोजी नगरेर आफ्नो कार्यक्रममा मात्र ध्यान दिनु पनि सही हुन्न र एकता गर्ने नाममा मूलभूत विचारको पक्षलाई उपेक्षा गर्ने र आफ्नो सङ्गठनको कार्यक्रमहरूप्रति ध्यानै नदिनु पनि सही हुन्न । त्यसैले अहिले एकातिर अन्य क्रान्तिकारी पक्षहरूसित छलफल, सहकार्य, वार्ता तथा आफ्नो पार्टी सङ्गठनको कार्यक्रम दुवैलाई सँगसँगै अगाडि बढाउन जरुरी छ ।
के एकताको प्रक्रिया यी तीन वटा पार्टीको बिचमा मात्र सीमित राख्ने हो ? हैन । आम क्रान्तिकारी शक्तिहरूसित हातेमालो गर्दै अगाडि बढ्ने नीति हामीले लिनुपर्दछ । आबद्धताका हिसावले नेकपा (मसाल)मा रहेका तर सच्चा कम्युनिस्ट आन्दोलनप्रति सकारात्मक सोंच राख्ने नेता, कार्यकर्तासित समेत प्रत्यक्ष वा परोक्षरूपमा सम्बन्ध राख्दै क्रान्तिकारी आन्दोलनलाई सुदृढ गर्नेतिर हाम्रो ध्यान हुनुपर्दछ । माओवादी केन्द्र र एमाले जस्ता दक्षिणपन्थी पार्टीहरूभित्र सच्चा कम्युनिस्ट आन्दोलनप्रति शुभेच्छा राख्नेहरू छन् । उनीहरूको शुभेच्छालाई पनि कम्युनिस्ट आन्दोलनको हितमा प्रयोग गर्न सक्नुपर्दछ । सिद्धान्त–व्यवहार, व्यवहार–सिद्धान्तको प्रक्रियाबाट अगाडि बढौँ ।