फागुन ४, काठमाडौँ । बालाजुको माछापोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र लुटपाटबाट भएको क्षतिबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरिएको छ ।
ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात मजदुरहरुले काठमाडौंको गंगबु बसपार्क, माछापोखरी र बालाजु क्षेत्रमा गरेको प्रदर्शन माथि प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलन झनै उग्र र अनियन्त्रित बनको थियो । माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेको थियो । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।
यस्तै फागुन १ मा नै बाहिर प्रहरी र आन्दोलनकारी बिच झडप चलिरहेकै बेला नयाँबसपार्कमा रहेको ल्होत्से मलमा अराजक समुहले लुटपाट मच्चाएको थियो । ल्होत्से मलभित्र रहेको अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो । सोही आन्दोलन र लुटपाटको घटनाको छानवीन गर्न समिति गठन गरिएको हो ।
गठित समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायब उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य रहेका छन् ।