फागुन ५, भरतपुर,चितवन । चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन बन्द हुने भएको छ । फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने कामलाई जारी राखिने भएकोछ ।
सडक आयोजना प्रमुख किरण कार्कीका अनुसार गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रो पटक १–१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरिए पनि अझै नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको हो ।
स्मरणरहोस् उक्त सडकखण्डमा पुल बनाउने ठेक्काको जिम्मा अनक कन्स्ट्रक्सनले पाएको हो । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको छ ।