फागुन ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध रहेको बताएका छन् ।
त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा २०७९ फागुन ७ गते जनताका नाममा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले उक्त प्रतिबद्धता जनाएका हुन । सन्देशमा प्रचण्डले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उल्लेख गरेका छन् ।
“आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनलगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ ।” – प्रधानमन्त्री प्रचण्डद्वारा जारी सन्देशमा उल्लेख छ । संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको समेत प्रचण्डले सन्देशमा बताएका छन् ।