काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका ठूला पार्टीहरू एकै ठाउँमा उभिनु पर्ने बेला आएको बताएका छन् । बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनाबको सन्दर्भमा फेरि पनि एकै ठाउँ उभिनुपर्ने प्रचण्डको भनाइ रहेको छ ।
‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । ‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ ।’ पोखराको लेखनाथमा २०७९ फागुन ८ गते आयोजित नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्– ‘राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’
आफ्नो पार्टीले यहि मान्छे नै राष्ट्रपती हुनुपर्छ भन्ने अड्डि नलिएको प्रचण्डले स्पस्ट पारे । ‘राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प छन् । ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन ।’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो– ‘राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ । तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’
सम्बोधनका क्रममा प्रचण्डले वर्तमान सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै आफ्नो नेतृत्वमा रहेको नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको दाबी समेत गरेका थिए ।