ज्ञानेन्द्रको अभिव्यक्ति असंवैधानिक र अनाधिकृत : अध्यक्ष नेपाल

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई “असंवैधानिक र अनाधिकृत” भनि टिप्पणी गरेका छन् ।

ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै अहिलेको राज्य व्यवस्थाले जनताको सुख र समृद्धिमा योगदान दिन नसकेको बताएका थिए । पुर्व राजा शाहको सोही वक्तव्यप्रति आपत्ति जनाउँदै अध्यक्ष नेपालले पार्टीका तर्फ बाट २०७९ फागुन ८ गते एक विज्ञप्ति जारी गरेका छन् । जारी सोही विज्ञप्तिमा पूर्वराजा शाहको वक्तव्य गणतन्त्र विरुद्धको असंवैधानिक र अनाधिकृत भएको जनाइएको छ ।

“जनताले आफ्ना प्रतिनिधिमार्फत् निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३ औं प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।” अध्यक्ष नेपाल द्वारा जारी विज्ञप्तिमा भनिएको छ “ज्ञानेन्द्र शाहको उक्त वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत वक्तव्य हो ।”

नेता नेपालद्वारा जारी उक्त विज्ञप्तिमा नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि “श्री ५ महाराजधिराज” नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको ज्ञानेन्द्र शाहलाई स्मरण गराइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित