काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंको त्रिबिबि क्रिकेट मैदानमा भएको शृङ्खलाको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै शृङ्खलामा शतप्रतिशत जितसहित क्लीनस्वीप गरेको छ । लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।
शृङ्खलाको अन्तिम खेलमा ९ फागुनका दिन नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित पौडेल, अलराउण्डर करण केसी र पुर्व कप्तान सन्दिप लामिछाने नायक बने । करण केसी र रोहितकुमार पौडेलले नवौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए । यस्तै खेलमा ४ विकेट लिएर सन्दिपले स्कटल्याण्डलाई २१२ रनमै रोक्न महत्त्वपूर्ण योगदान पुर्याए ।
स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । १३८ रन हुँदा ८ विकेट गुमाएको नेपालका लागि करण केसी र रोहितकुमार पौडेलले नवौं विकेटका लागि ७५ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।
लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो । नेपालले १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बिच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएका थिए । १०१ बल खेलेका कप्तान रोहितले अविजित ९५ रन बनाए । रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्ल २१ , कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमाउन पुगेको थियो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर दीपेन्द्र व्यक्तिगत ७ रन बनाएर आउट भए । यस्तै सोमपाल कामी २ रन बनाएर आउट भएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका थिए । सन्दीपले यस शृङ्खलामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेलमा ३–३ विकेट लिएका थिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ललित राजवंशी र कुशल मल्लले समान १–१ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।
यो शृङ्खला क्लिनस्विप गरे सङ्गै नेपाल लिग टु मा २८ खेल खेल्दै २६ अंक बटुलेको छ । अब नेपालले यहि फागुन १५ देखि २२ सम्म युएई र पपुवा न्युगिनी सँग युएईमा अर्को त्रिकोणात्मक शृङ्खला खेल्नेछ ।