फागुन १०, धनगढी । पुर्व तानाशाह ज्ञानेन्द्र शाहका खलकलाई नै मन्चमा राखेर “राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान” नामको प्रतिगामी यात्रा सुरुवात गरेका व्यवसायी दुर्गा प्रसाईंले राजावादीसँग गठबन्धन गरेका (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पनि पार्टीले कारबाही गर्नु पर्ने बताएका छन् ।
धनगढीमा १० फागुनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले उक्त कुरा बताएका हुन । प्रसाईँको भनाइ थियो – “केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुभयो । उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नु भएको छ । उहाँलाई कारबाही हुनु पर्ने होइन र ?”
सम्बोधनका क्रममा प्रसाईँले सीमित व्यापारी र नेताका कारण देश समस्यामा रहेको बताउँदै त्यस विरुद्ध लड्न तयार हुनुपर्नेमा समेत जोड दिएका थिए– “कि तपाईंहरू डोरी लिएर पेट्रोल लिएर तयार हुनुहोस् कि सामन्तीसँग लड्न तयार हुनुहोस् । यहाँ ५५ जना व्यापारी र १० जना नेताको हातमा पैसा छ । दुवईमा भिल्ला किनेर राखेका छन् । सबै मिलेर लडौँ नत्र बाँच्ने छैनौँ ।”– व्यवसायी प्रसाईँको कथन थियो ।