मजदुरहरुको हक हितको निम्ति क्रियाशील संगठन क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले मजदुरसँग संवाद अभियान चलाउने योजना अनुसार कार्यक्रम अगाडि बढाइरहेको छ। यो अभियान देशका विभिन्न भागहरुमा मजदुरहरुको स्थिति अध्ययन गरी त्यस सम्बन्धी धारणा बनाउन र संगठनले आगामी दिनमा कस्तो कार्यक्रम लिएर अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने निर्क्यौल गर्न हामी यो अभियान सहित अगाडि बढिरहेका छौं। यसै सन्दर्भमा हाम्रो संगठनले अहिले अगाडि बढाइरहेको छलफलका बिषयमा सामान्य जानकारी पनि गराउन चाहन्छौं।
आदरणीय मजदुर साथीहरू ,
हामीले भोगिरहेका छौं,देखिरहेका छौं कि मजदुरहरुका रोजगारिको स्थायित्व छैन । श्रम बजारमा तलबमान न्यून छ।सामाजिक सुरक्षाको अभाब छ ।असमान ज्यालादर कायम छ।ठेकेदारी,करार,अस्थायी र ज्यालादारी प्रथा वा प्रणालीअनुसारको श्रम सम्बन्ध कायम गरिएको छ।महिला मजदुर माथिको लैङ्गिक उत्पीडन छ। हायर एण्ड फायर र नो वर्क नो पे जस्ता कथित उदारवादी अवधारणालाई अगाडि बढाइएको छ। श्रमलाई हेयकर बनाउने दृष्टिकोण वलशाली बन्दै छ र सामाजिक मर्यादाबाट श्रमिकहरुलाई बन्चित गराइएको छ। प्रतिगामी ट्रेड युनियन ऐन मार्फत संगठन खोल्न र मागहरु राख्ने तथा हडतालको अधिकार समाप्त पारिदै छ।श्रम ऐन र सामाजिक सुरक्षा ऐनद्वारा निर्धारित न्युनतम अधिकार समेत कार्यान्वयन गरिएको छैन।
सरकारले हालै गरेको मासिक तलब १९५५० र दैनिक ज्याला ७५४ निर्धारण गरेको छ। आजको बजार मुल्यलाई मात्रै आधार मान्दा पनि यो तलब रज्याला मजदुरहरुमाथि भइरहेको शोषण कै निरन्तरता हो। हरेक बर्ष बजार मुल्यमा १० प्रतिशत वृद्धि भइरहेको हुन्छ तर तलब–ज्यालामा ६.५ प्रतिशत वृद्धि गरेको घोषणा गरेर मजदुरहरुको आँखामा छारो हाल्ने काम हुँदै आएको छ। तलब –ज्याला कम हुनु भनेको मजदुरहरुको जीवन कठिन हुँदै जानु,शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक क्षेत्रबाट बन्चित हुदै जानु एवं समाजमा असमानता बढ्दै जानु हो भन्ने प्रष्ट छ तर सरकार तथ्य र आधारहिन सुख,समृद्धि र कथित समाजवादको बेसुरको राग निकाली रहेको छ।
यस्तो परिस्थितिमा हाम्रो संगठनले राजनीति,पेशागत लगायत मजदुरहरुमाथि भइरहेका ठेकेदारी शोषण,उत्पीडन र तलब ज्याला एवं सामाजिक सुरक्षा लगायत बिषयमा छलफल अगाडि बढाउन स्थलगत अध्ययन,अनुगमनको कार्यक्रम लिएर अभियान सन्चालन गरिरहेको छ।यस प्रक्रियामा सहभागी भएर सल्लाह,सुझाव र मजदुर आन्दोलन निर्माणको आगामी बाटो खोल्न हामी हार्दिक अपिल गर्दछौं।
हाम्रा केही नाराहरु
मजदुर–संवाद अभियान
१. मजदुरहरुको तलब,ज्याला १०० प्रतिशत वृद्धि गर।
२.मजदुरहरुलाई स्थायी रोजगारी सुनिश्चित गर।
३.मजदुरहरुलाई सामाजिक सुरक्षा सुनिश्चित गर।
४.अस्थायी,करार,ठेकेदारी,ज्यालादारी प्रणाली खारेज गर।
५.संगठित हुने,मागहरू राख्ने एवं हडतालको अधिकार सुनिश्चित गर।
६.हायर एण्ड फायर,नो वर्क नो पे नीति खारेज गर।
७.मजदुरहरुमाथि भइरहेका शोषण,दमन बन्द गर।
८.मजदुरहरुलाई राजनितीक प्रतिनिधित्वको व्यवस्था गर।
९.नयाँ जनवादी(समाजवादी क्रान्ति जिन्दावाद।
१०.क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल जिन्दावाद।
९ नम्बर क्षेत्रीय समन्वय समिति(काठमाण्डौं उपत्यका)
क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल

