काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि मैदान काठमाडौंमा भएको सिरिज जित्ने नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
‘छोटो समयमा नेपालले क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उचाइ स्थापित गरिसकेको छ । यो सिङ्गो राष्ट्र र आम नेपाली जनताको लागि पनि गौरवको कुरा हो । यस पटक सबै खेल जितेर तपाईहरूले नेपाली जनताको शिर ठाडो बनाउने ऐतिहासिक भुमिका खेल्नुभएको छ । हामी नेपाल सरकारको तर्फबाट प्रेरणास्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्छु ।’ प्रधानमन्त्री निवास बालुवाटारमा ११ फागुनका दिन भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु सङ्गको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भनेका छन – ‘तपाइहरूले चारमा चार खेल जितेर नेपाली जनताको शीर ठाडो बनाउन एउटा भूमिका खेल्नु भएको छ । तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, त्यसका लागि म तपाईंहरुलाई बधाई दिन्छु ।’
उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले खेलकुदको शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै सरकारले खेलकुदलाई उच्च महत्व दिएको बताएका थिए ।
स्मरण रहोस् गत हप्ता त्रिवि क्रिकेट मैदान काठमाडौंमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया बिचको त्रिदेशिय शृङ्खला नेपालले क्लिनस्वीप गरेको थियो । शृङ्खला क्लिनस्विप गरे सङ्गै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलिलाइ बधाई दिदै खेलाडीहरुलाई उचित पुरस्कार दिने घोषणा गरेका थिए ।