बुटवल –पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने

फागुन १२, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड फागुन १३ गते देखि दैनिक आठ घण्टा बन्द हुने भएको छ । बुटवल नजिकै पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि डाइभर्सन बनाउन सो सडक खण्ड बन्द गरिने भएको हो ।

सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले २०७९ फागुन १२ गते सूचना प्रकाशित गरी सडक डाइभर्सनको काम शुरु भएको र सवारी साधन चल्दा दुर्घटनाको जोखिम देखिएकाले फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको जनाएको छ । योजना प्रमुखले निकालेको सूचनामा भनिएको छ – “डाइभर्सन निर्माण स्थलमामाथि पहराबाट ढुंगाहरु खसिरहेकाले कुनै पनि बेला दुर्घटना हुन सक्ने संभावना रहेकाले ढुंगाहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नका लागि वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन आवागमनलाई पूर्णरुपमा बन्द गरिने छ ।”

उक्त अवधिभर पाल्पातर्फबाट आउने सवारी साधनहरु जडिबुटीचोक, सत्यवती जाने बाटो र पाल्पाको तिनाउँ गाउँपालिका– ३ मा रोकेर राख्ने व्यवस्था मिलाइएको र बुटवलतर्फबाट जाने सवारी साधनहरु चिडियाखोला र तल्लो सिद्धबाबा मन्दिरनेर रोक्न कार्यालयले आग्रह गरेको छ । अत्यावश्यक सेवाका साना तथा मझौला सवारी साधनहरुले बेलबास–नुवाकोट–दोभान सडक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख गरिएकोछ ।

स्मरणरहोस् बुटवलबाट पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बागलुङ, कास्की, पर्वत जिल्लालाई जोड्ने यो सिद्धार्थ राजमार्गको बुटवल नजिक पाल्पाको सिद्धबाबा क्षेत्रमा माथिबाट ठूला ठूला ढुङ्गा सहितको पहिरो खसेर बेला–बेलामा दुर्घटना भई ठुलै मानवीय क्षति हुँदै आइरहेको छ । यो क्षेत्रमा ११ सय मिटर लामो सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित