फागुन १२, धादिङबेसी । लोक तथा दोहोरि गित क्षेत्रका कलाकारहरुको छाता संगठन “राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान”को आठौं केन्द्रीय महाधिवेशन फागुन १२ गते देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सुरु भएको भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले महाधिवेशनको उद्घाटन गरेका छन् । देशभरिका विभिन्न भेगबाट आएका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी सो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री जमरकट्टेलले सांस्कृतिक पक्षको सम्बद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
महाधिवेशनको उद्घाटन सत्र सुरु हुनु अघि विभिन्न सांस्कृतिक झाँकी सहित लोक तथा दोहरी गितका कलाकारहरु सम्मिलित विशाल जुलुशले धादिङबेसी बजार परिक्रमा गरेको थियो ।
महाधिवेशनमा संस्थापन पक्षले रीता थापा मगरलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ । गायक पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी देखिएका छन् । उता पूर्व महासचिव समेत रहिसकेका चर्तित गायक बिष्णु खत्रीले आफू उक्त प्रतिष्ठानबाट अलग्गिएको घोषणा गरिसकेका छन् । खत्री भिन्दै प्रतिष्ठान बनाउने योजनामा रहेका छन् । त्यसैले यो महाधिवेशनमा रिता थापा र पशुपति शर्मा नेतृत्वका प्यानलका बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि शर्माले प्यानलनै बनाएर चुनाब लड्ने संभावना निकै कम रहेको प्रतिष्ठानका एक पदाधिकारीले बताए । उनका अनुसार अध्यक्षमा सकभर चुनावनै नगर्ने गरि सहमतिको प्रयास चलिरहेको छ ।
तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै फागुन १४ गते महाधिवेशन समापन हुनेछ ।