तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका-६ चुहानडाँडामा भीषण आगलागी भएको छ । चुहानडाँडाको हात्तिखर्कमा १२ फागुनको अपरान्नमा भएको उक्त आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा भएको क्षतिको पुर्ण विवरण अझै आइसकेको छैन । तर प्रहरीले ठूलो क्षति भएको अनुमान गरेको छ । प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि आगलागी भइरहेको छ ।
अहिले पनि त्यहाँ आगो निभाउने कार्यमा प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । सुख्खा मौसम भएकाले आगो निभाउन समस्या भएको वडाध्यक्ष कृष्ण बास्कोटाले बताए । पानीसमेत नभएकाले स्याउलाको मद्दतले आगो निभाउने कार्य भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
अपराह्न गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो । अहिले सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको प्रहरीले जनाएको छ ।