काठमाडौं । आफ्नो राजनैतिक दस्तावेजमा नेपाली काङ्ग्रेसलाई “वर्ग शत्रु” को कोटामा राखेको मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल), काङ्ग्रेसकै नेतृत्वमा ८ दलिय गठबन्धन बन्दा सबैभन्दा बढी खुशी देखिएको छ ।
मसालका महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७९ फागुन १३ गते जारी प्रेस वक्तब्यमा त्यो खुशी प्रष्ट रुपमा झल्किएको छ । सिंहले जारी गरेको वक्तब्यमा गठबन्धनका अन्य ७ दललाई पनि उछिनेर काङ्ग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन भोट मागिएको छ । “नेकाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको कुरा थाहा भएको छ । त्यो निर्णयलाई हामीले पनि समर्थन गर्दछौँ र उनलाई विजय बनाउन सम्बन्धित सबै पक्षहरूसित अपिल गर्दछौ । ” सिंहको वक्तब्यमा उल्लेख छ ।
वक्तब्यमा एमालेको उम्मेदवार राष्ट्रपति बनेमा देशमा ओलीको तानाशाही शासन कायम हुने भन्दै काङ्ग्रेसको हदै दलाली गरिएको छ । बालुवाटारमा १२ फागुनको साझ भएको एमाले बाहेकका ८ दलको संयुक्त बैठकमा राष्ट्रपतिका लागि गैर एमाले उम्मेदवारको पक्षमा जुटेको सहमतिलाई वक्तब्यमा स्वागत गरिएको छ ।