फागुन १४, काठमाडौं । डाक्टरको लापरवाहीका कारण २८ महिने बालिकाको मृत्यु भएको छ ।
हिमाल अस्पतालमा कार्यरत डाक्टर जयदेव यादवको लापरवाहीको कारण बालिका प्रशंसा गौतमको माघ २६ गते राती ११ बजे मृत्यु भएको थियो । मृतकका आफन्तले लापरवाही गर्ने डाक्टरलाई कारवाही हुनु पर्दछ भन्दै आन्दोलन गरिरहेका छन् ।
सामान्य रुघाखोकी, ज्वरो आएपछि बालिकालाई हिमाल अस्पताल लगिएको थियो । अस्पतालका डा. जयदेवले खासै समस्या नभएको भन्दै औषधि दिएर पठाएका थिए । औषधि खाँदै गरेको केही दिन पछि नै बालिकालाई झनै गाह्रो भयो । उनलाई गाह्रो भएपछि उनै डाक्टरकोमा विमारीलाई पुनः लगियो । डाक्टरले औषधि चलिरहेकोले केही हुँदैन भनेर फिर्ता पठाइदिए । डाक्टरले दिएको औषधिले स्थितिमा सुधार नभएपछि बालिकालाई फेरि हिमाल अस्पताल लगियो । त्यसपछि रोग पहिचानका लागि भनेर विभिन्न जाँच गराइयो । जाँचको रिपोर्टमा जटिल किसिमको निमोनिया देखियो । त्यसपछि डाक्टरले बालिकालाई कान्ति बाल अस्पतालमा रिफर गर्यो।
बालिकालाई कान्ति बाल अस्पताल पुर्याउँदा बेड छैन भन्दै उनलाई भर्ना गर्न मानेन । त्यसपछि उनलाई मेट्रो अस्पतालमा लगियो। माघ २६ गते बालिकाको निधन भयो ।
बालिकाको निधनपछि मृत्यु संस्कार सकेर बालिकाका आमा–बुबा आफन्तजनहरू फागुन १० गतेदेखि नियमित रुपमा हिमाल अस्पतालको गेट अगाडि धर्नामा बसी नारा लगाइरहेका छन् भने मृतकका बुबाले बालिकाको मृत्यु भएकै दिन हिमाल अस्पतालका डाक्टर जयदेव यादवलाई जानकारी गराएका थिए । उनीबाट केही पनि प्रतिक्रिया नआएको मृतक बालिकाको बुबा गंगा गौतम दर्पणले बताए । उनी न्यायका लागि नेपाल मेडिकल एसोसियसन, जिल्ला प्रशासन कार्यालय काठमाडों, प्रहरी परिषद् टेकुमा माघ ८ गते निवेदन दिएका छन् ।
मृतकको बुवा दर्पणले अहिलेसम्म अस्पतालले कुनै सुनवाई नगरेको बताउँदै भने “मेरो बच्चको जस्तै स्थिति अरुले भोग्न नपरोस् भन्नाको खातिर हामी आन्दोलित भएका छौं । फागुन १५ गतेदेखि आन्दोलनमा सहभागी हुनको लागि संघसंस्था, विद्यार्थीहरुलाई पनि अनुरोध गरेको छु ।”
हामीले अस्पतालमा पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन भने अस्पतालमा व्यापक प्रहरी तैनाथ गरी सबै सेवा बन्द गरिएको छ । घटनाको जिम्मा अहिलेसम्म अस्पतालले लिएको छैन । धर्नामा ११ वर्षीय मृतककी दाजु,आमा आशीका भण्डारी र आफन्त जनहरु सहभागी छन् ।
सबभन्दा संवेदनशील मानव स्वास्थ्य र जीवन हो । यसमा जोबाट रक्षा सम्भव छ भन्ने विश्वास गरिएको हुन्छ उसैबाट असावधानी अपनाउँदा बालिकाको मृत्यु हुन पुगेको देखिन्छ । अस्पताल प्रशासनले यो सम्वेदनशील घटनालाई बेवास्ता गर्नु सही होइन। सम्बन्धित पक्षहरुले पीडित परिवारको आवाज सुन्न जरुरीछ।