काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलिले आफूबाट काङ्ग्रेस नेतृत्वको गठबन्धनमा बसाइ सरेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई ‘लोभी बिरालो’ को संज्ञा दिएका छन् ।
‘हाम्रो चम्किलो तारा काठमाडौं’द्वारा सहिद परिवार तथा विभिन्न राजनैतिक आन्दोलनको क्रममा घाइते भएकाहरूको सम्मानमा २०७९ फागुन १४ गते काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै ओलिले उक्त कुरा बताएका हुन् ।
‘बिरालो किन्नु पर्दैन एउटा कचौरामा दूध र भात राखिदिए र देखाए छिमेकिको बिरालो नि आफ्नै हुन्छ ।’ प्रचण्डप्रति कटाक्ष गर्दै ओलिले अगाडि भने ‘ठूलो कचौरामा दूध र भात दिए पछि बिरालो पल्लोघर जानू कुनै अनौठो होइन ।’
सम्बोधनका क्रममा ओलिले जनयुद्धको नाममा प्रचण्डले हिंसाको अभियान सुरु गरेको बताए । धोका तथा बेइमानी जस्ता कुराले सहिदले प्राप्त गरेको सहादतको महत्त्व कम नहुने ओलिले स्पष्ट पारे । कसैले धोका दिंदैमा र बेइमानी गर्दैमा वामपन्थी आन्दोलन कमजोर नहुने भन्दै ओलिले जनगायक जीवन शर्माको स्वरमा रहेको ‘साक्षि छ हाम्रो इतिहास’ बोलको गीतको पङ्तीनै सुनाए :
‘मोर्चाहरूको हारले युद्दको हार हुन्न
सहिदहरू बढेर हिम्मत खसेको हुन्न
उठ्छन् ती बस्तिबस्ति आ“धीहरु भिरेर
उदाउँछ्न चन्द्र सुर्य कालो निशा चिरेर …..’
प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने गरेको ओलिले जिकीर गरे। ओलीले सम्बोधनका क्रममा २०६२–०६३ पछि त्यति लामो समयसम्म सरकारमा माओवादी जति अरु कोही नबसेको समेत दाबी गरे। ‘लामो समयदेखि प्रचण्ड लगातार सरकारमा छन् । यति निरन्तर ढंगले सायद २०६२–६३ को आन्दोलनभन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्ता पक्ष भईराखेको छैन होला । जता जोसँग मिलेर भएपनि सत्तामा हुने ।’ ओलिले भने ‘परिवारका मान्छे धनी नै भएका होलान् । भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान् । भाइ भतिजा पनि राम्रै ठाउँमा पुगेका होलान् । छोरी–ज्वाई पनि राम्रै ठाउँमा पुगेका होलान् । तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन ? सहिदका परिवार सम्झनु भएको छ कि छैन ? आफ्नै स्वार्थ, आफ्नै परिवार मात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ ?’
जनगायक जीवन शर्माको समेत साङ्गितिक प्रस्तुति रहेको सो कार्यक्रममा सहिद परिवारका सदस्य तथा जनआन्दोलनका घाइतेहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा अघि बढेको थियो ।