काठमाडौं । नेकपा (मसाल)का युवा नेता तथा अखिल (छैठौं)का निवर्तमान अध्यक्ष बिमल पोखरेलले पार्टी महामन्त्री मोहन बिक्रम सिंह “काङ्ग्रेस बिना बाँच्न नसक्ने” स्थितिमा पुगेको बताएका छन् । मोहन बिक्रम सिंह र चित्र बहादुर केसीले बाटो बिराएको भन्दै पोखरेलले पार्टीलाई काङ्ग्रेस र विदेशीहरूको चक्रव्युहबाट बाहिर निकाल्न मसालका साथीहरूलाई आह्वान गरेका छन् ।
अधिवक्ता समेत रहेका मसालका युवा नेता बिमल पोखरेलले २०७९ फागुन १६ गते बिहान सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै त्यस्तो आह्वान गरेका हुन । वामपन्थीहरूसँग सहकार्य सडकमा हुनुपर्नेमा मसाल एमालेको एकोहोरो विरोध र काङ्ग्रेसको गुणगान गाएर बसेको भन्दै स्टाटसमा पोखरेलले यही तरिकाले अघि बढेमा मसालको राजनीति र संगठन दुवै सकिने दाबी गरेका छन् । आफुले त्यसो भनिरहँदा आफुलाई अनुशासनहीन भन्दै पार्टीबाट कार्वाही गरिए पनि आफुलाई त्यसको प्रवाह नभएको स्पष्ट पार्दै पोखरेलले स्टाटसमा आफुले सत्य बोल्न नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मसालका युवा नेता पोखरेलको उक्त फेसबुक स्टाटस जस्ताको तस्तै ः– “नेत्रविक्रम चन्द, मोहन वैद्य, आहूति, सन्तबहादुर नेपालीहरू कुशासन, भ्रष्टाचार, देशद्रोह र राष्ट्रघातका विरूद्धमा सडकमा छन् । भारतीय षड्यन्त्रसँग हारेर एमाले सरकारबाट बाहिरिएको छ । देश साम्राज्यवादीहरूको खेल मैदान भएको छ । देशको यस्तो जटिल परिस्थितिमा वामपन्थीहरूसँग सहकार्य गरेर सडकमा हुनुपर्ने मसाल एमालेको एकोहोरो विरोध र कांग्रेसको प्रशंसा र गुणगान गाएर बसेको छ । कुनै दिन केपी ओलीविना बाँच्नै सकिन्न, देश बर्बाद हुन्छ भनेर वक्तव्यबाजी गर्ने मोहनविक्रम सिंह आजकल कांग्रेसविना बाँच्नै नसक्ने हुनुभएको छ । चित्रबहादुर केसी विदेशी षड्यन्त्रबाट राष्ट्रपतिको कथित साझा उम्मेदवार बनाइएका रामचन्द्र पौडेलको समर्थनको जाली कागजमा सही धस्काएर, बालुवाटार र शेरबहादुर देउवाको घरमा गएर कालो चिया र बिस्कुट खाएर बस्नुभएको छ ।
मसालका साथीहरू, पार्टीलाई कांग्रेस र विदेशीहरूको षड्यन्त्रको चक्रव्युहबाट बाहिर निकालौं । चित्रबहादुर केसी र मोहनविक्रम सिंहले बाटो बिराउनुभएको छ । देश र जनताका आवाज बोकेर वामपन्थीहरूसँग सहकार्य गरौं । नेत्रविक्रम चन्द, मोहन वैद्य, आहूति, सन्तबहादुर नेपालीहरूसँग सहकार्य गरेरै जनताको आवाज मुखरर गर्न सकिन्छ । कांग्रेससितको अराजनीतिक र अनैतिक लसपसले सीमा नाघिसक्यो । यसरी त हाम्रो पार्टीको राजनीति र संगठन दुवै सकिन्छ । भन्नको लागि मलाई अनुशासन उल्लंघन गरेको भनिएला, कारवाही पनि गरिएला तर सत्य कुरा यही हो ।”