-लाल बहादुर जाग्री –
नेपालमा अहिले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर र कम्युनिस्ट नामधारी दक्षिणपन्थीहरु हावी भएका छन् । जनतन्त्र, जनजीविका र राष्ट्रियताको आन्दोलन अत्यन्त कमजोर भएको छ । मूलतः भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीका दलाल पार्टीहरुले नेपालको शासन सञ्चालन गरेको हुँदा एमसीसी जस्ता राष्ट्रघाती सन्धि पास गरेर कार्यान्वयन गर्दै छन् । सन् १९५० सालको नेपाल–भारत बीचको–असमान सन्धिले नेपाललाई भारतको अर्धउपनिवेश बनायो । त्यसैगरी अहिले एमसीसी सम्झौताले अमेरिकाको पनि नेपाल नवउपनिवेश बनाउँदै छ । प्रचण्ड सरकारले नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने राष्ट्रघाती नागरिकता विधेयक पनि पास गर्ने छ । यसमा एमाले, काँग्रेस, माके सबैको सहमति छ । देशको आन्तरिक स्रोतले कर्मचारीको तलवसम्म दिन नसकिने अवस्था रहेको छ । टाटपल्टिने अवस्थामा देशको अर्थतन्त्र रहेको छ । देशलाई यो अवस्थामा पु¥याउने भूमिका यिनै दलाल पार्टी नेपाली कांग्रेस, एमाले, माके लगायत संसदवादी पार्टीहरुको नै रहेको छ । यस्तो अवस्थामा राष्ट्रको अर्थतन्त्र, सार्वभौमिकता र अखण्डताको सुरक्षा र नयाँ जनवादी क्रान्ति गर्दै समाजवाद जानका लागि नेपालमा रहेको क्रान्तिकारी पार्टी, समुह व्यक्ति, व्यक्तित्वहरु छिन्न भिन्न भएर होइन एकजुट हुनु पर्ने आजको परिस्थितिजन्य आवश्यकता रहेको छ । यसै सन्दर्भमा नेकपा (मशाल), नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत) का बीच पार्टी एकताको छलफल चलिरहेको कुरा बाहिर आएको छ ।
क्रान्तिकारीहरुले आत्मगत अवस्था (संगठनात्मक अवस्था) मजबुत पार्न दुई वटा विकल्पहरु रहेको छन् । सिद्धान्त, विचार र राजनीतिक कार्यदिशा मिल्नेहरुका बीच पार्टी एकता गर्नु र आ–आफुले देशव्यापी संघर्षले संगठन निर्माण गरि आत्मगत अवस्थालाई सुदृढ पार्नु वा सँग–सँगै दुवै काम गरेर जानु दक्षिणपन्थीहरु मध्येका एमाले र माओवादी केन्द्रको इतिहास हेर्ने हो भन्ने अहिलेको एमाले मूलतः २०२८ सालको झापा विद्रोहको लिगेसी हो । २०२८ सालको एक एरिया, एक स्वाक्यर एक एक्सन भन्ने नाराका साथ शुरु गरेको झापा विद्रोहको असफलता पछि झापा, मोरङ, इलाम, सिराहा, बारा र सिन्धुपाल्चोकका केही कार्यकर्ताहरु २०३२ साल जेठ २४ र २५ गते विराटनगरमा भुमिगत रुपमा भेला भइ अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन गठन गरे । २०३५ साल भाद्र १४ गते पुष्पलाल समुहबाट अलग भइ निर्माण गरेको मुक्ति मोर्चा समुह, २०३५ भाद्र २६ गते पूर्वको रातो झण्डा समुह, २०३५ मसिर २७ गते पश्चिमको रातो झण्डा (सन्देश) समुह कोअर्डिनेशन केन्द्रमा आबद्ध भएपछि २०३५ साल पौष ११–१७ गते को राष्ट्रिय सम्मेलनले नेकपा (माले) र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच पार्टी एकता भएर हालको नेकपा (एमाले) भएको हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा नीतिगत रुपमा सामूहिक नेतृत्व भन्ने पनि व्यवहारमा पार्टी नेतृत्वले आफूलाई अघोषित रुपमा प्राधिकार सम्झिने र पार्टीको एक तप्कालाई च्याँपेर सधैभरी पार्टीको सत्ताको दुरुउपयोग गरी भजन मण्डली तयार गर्ने जसले पार्टीभित्रको अन्तरसंघर्षलाई स्वच्छ, मैत्रीपूर्ण र जनवादी तरिकाले सञ्चालन नै नगरी दबाएर राख्ने वा अनुशासनको नाममा पार्टीबाट निष्कासन गरेर उसको राजनीतिक जीवन नै समाप्त पार्ने प्रवृत्ति छ भने अर्को तर्फ पार्टीभित्र विचारमा सामान्य अन्तरविरोध आउने बित्तिकै जे जत्रो हुन्छ फुटेर छुटै झुण्ड बनाउने र त्यसको प्रमुख भएर आत्मारतिमा रमाउने प्रवृत्तिहरु पनि छन् ।
नेकपा (माओवादी–केन्द्र) को पृष्टभूमि भनेको २०२८ साल मसिर २० गते गठन भएको केन्द्रीय न्युक्लियस हो । २ वर्षसम्म अन्तरपार्टी फोरम सञ्चालन गरेर २०३१ भाद्र ३० देखि असोज ७ गते सम्म वनारसमा पार्टीको महाधिवेशन गरी नेकपा (चौथो महाधिवेशन) नामको पार्टी गठन गरियो । २०४० साल कार्तिकमा गोरखपुरमा राष्ट्रिय सम्मेलन आयोजना गरी नेकपा (मशाल) को स्थापना गरे भने २०४० साल फाल्गुनमा निर्मल लामाको नेतृत्वमा नेकपा (चौम) को स्थापना गरे । नेकपा (मशाल) पनि २०४२ साल चैत्र २५–२८ गते सम्म गोरखपुरमा छुट्टै मोहनविक्रमले राष्ट्रिय सम्मेलन गरेर नेकपा (मसाल) स्थापना गरे । मोहन वैद्यले नेतृत्व रहेको नेकपा (मशाल) र नेकपा (चौम), विद्रोही मसाल, सर्वहारावादी श्रमिक संगठन, नेकपा(जनमुखी) बीच पार्टी एकता गरी नेकपा (एकताकेन्द्र) निर्माण र २०५१ साल जेठ १६–२१ को राष्ट्रिय सम्मेलनले एकताकेन्द्र विभाजन भइ नेकपा (माओवादी) गठन गरेको हो । जसको नेतृत्व प्रचण्डले गरिरहेका छन् । आजसम्म यसमा पनि कैयौं विभाजन र विखण्डन हुनुका साथै एमाले र माओवादीकेन्द्रको नेतृत्वमा प्रतिक्रियावादी वर्गमा पतन भइसक्दा पनि यिनै भित्र रहेको नयाँ जनवादी र समाजवादी क्रान्ति पक्षधर कार्यकर्ताहरु भ्रमबाट मुक्त हुन छैनन् ।
अहिले नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताको छलफल चलिरहेको छ । यी पार्टीहरु नितान्त नयाँ र फरक फरक पार्टी नभइ मशाल पार्टीबाट विभिन्न अवस्था, परिस्थिति र परिवेशमा भिन्न हुन गएका पार्टीहरु हुन । अर्को शब्दमा भन्नु पर्दा एउटै नदी बग्ने क्रममा सो नदीका अलग–अलग हुन गएका धारहरु मात्र हुन् । नदीको मुहानबाट बग्ने पानी उही हो मात्र धारहरु फरक हुन् । यी पार्टीहरु बीच एकताको प्रकियामा छलफल चलिरहेको अवस्थामा मोहन विक्रम सिंहले हामीबाट विभाजित हुनेहरु कसैले पनि पार्टी चलाउन सक्दैनन् मोहन वैद्यमा गएर विलय हुनेछन, हाम्रो भविश्यवाणि पुष्टि हुँदैछ भनी मसालभित्रका इमान्दार व्यक्तिहरुलाई भ्रम छरिरहेका छन् । हामीले कुनै गाइ पालेमा सो गाइको दुध खानका लागि पाल्छांै । दुध नदिने थारो गाइ पाल्नुको कुनै अर्थ हँुदैन । मोहनविक्रम सिंहको पार्टी के का लागि हो ? न एक्लै पार्टीको विकास गरेर क्रान्ति गर्न सक्ने ? न विचार सिद्धान्त र कार्यदिशा मिल्नेहरु पार्टी एकता गरेर क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्ने ? पार्टी निर्माणको लक्ष्य भन्ने नयाँ जनवादी क्रान्ति गरेर सत्ता प्राप्त गर्नका लागि हो भन्ने उल्टो बाटोको यात्रा किन ? उहाँहरुको संसदीय मोर्चामा कुनै दिन छ जना सांसद थिए त्यसबाट घटेर तीन जना भए सो बाट पनि घटेर एक जनामा सीमित रहनु परेको छ त्यो पनि कांग्रेसको टेकामा प्राप्त गरेको हो । विशाल सभाको त कुरै नगरौं कोणसभासम्म गर्न नसकिने भए पछि चुलो सभामा खुम्चिनु परेको छ । सीमित व्यक्तिहरुलाई जम्मा गरेर चुलो सभा गर्न, कुनै विषयमा लेख लेखेर विश्लेषण गर्न र वक्तव्य दिन त सकिएला तर जनवादी क्रान्ति गर्न त धेरै टाढाको कुरा हो । सामान्य आन्दोलन पनि गर्न सक्ने ल्याकत मसालमा छैन । यस्तो अवस्थामा मसाललाई आफ्नो चिन्ता छैन अरुको टिप्पणी गर्न मस्त छन् ।
तीन पार्टीका बीच वैचारिक, सैद्धान्तिक र राजनीतिक कार्यदिशामा समानता देखिएमा निश्चित विधि, प्रक्रिया र पद्धति अवलम्वन गरी समानताका आधारमा पार्टी एकता हुन सक्छ । यसरी पार्टी एकता गर्दा कुनै पनि पार्टी अर्का पार्टीमा प्रवेश गरेको भन्ने हुँदैन । विगतमा नेकपा (मसाल) र नेकपा(एकताकेन्द्र) पार्टीहरुका बीच पार्टी एकता भएको हो कि एकअर्कामा प्रवेश गरेका हुन ? कुनै काम आफुले गर्दा ठीक सोही काम अरु गर्दा बेठीक देख्ने एक मनोरोग हो ? यो क्रान्ति र परिवर्तन विरोधी आत्मकुण्ठा संर्किणताको अभिव्यक्ति पनि हो । कसैको ईश्र्या, कुण्ठा र क्रान्तिकारी विचार विरुद्धका कुराले न त क्रान्तिकारीहरु बीचको एकता नै रोकिन्छ न त क्रान्तिकारी परिवर्तन नै छेकिन्छ । नेपालीमा एक नमिठो भनाइ छ– कुकुर भुक्दै गर्छ हात्ती आफ्नो यात्रामा लम्किदै गर्छ । कुकुरको भुकाइले हात्तीको यात्रामा कुनै फरक पर्दैन । त्यसैगरी क्रान्तिकारीहरुका बीचको एकतालाई असफल पार्न जो जसले जहाँ सुकैबाट जे जस्तो हर्कत गरे पनि यो क्रान्तिको यात्रा निरन्तर वेगका साथ अगाडि बढ्ने छ बढिरहने छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा नीतिगत रुपमा सामूहिक नेतृत्व भन्ने पनि व्यवहारमा पार्टी नेतृत्वले आफूलाई अघोषित रुपमा प्राधिकार सम्झिने र पार्टीको एक तप्कालाई च्याँपेर सधैभरी पार्टीको सत्ताको दुरुउपयोग गरी भजन मण्डली तयार गर्ने जसले पार्टीभित्रको अन्तरसंघर्षलाई स्वच्छ, मैत्रीपूर्ण र जनवादी तरिकाले सञ्चालन नै नगरी दबाएर राख्ने वा अनुशासनको नाममा पार्टीबाट निष्कासन गरेर उसको राजनीतिक जीवन नै समाप्त पार्ने प्रवृत्ति छ भने अर्को तर्फ पार्टीभित्र विचारमा सामान्य अन्तरविरोध आउने बित्तिकै जे जत्रो हुन्छ फुटेर छुटै झुण्ड बनाउने र त्यसको प्रमुख भएर आत्मारतिमा रमाउने प्रवृत्तिहरु पनि छन् । यी दुवै प्रवृत्ति नेपालमा विशाल क्रान्तिकारी पार्टी निर्माण गर्न र नयाँ जनवादी र समाजवादी क्रान्ति सम्पन्न गर्न बाधक छन् । चीनको कम्युनिष्ट पार्टीको पचास वर्षको इतिहासमा दश पटक पार्टीभित्र ठूलठूला अन्तर्विरोधहरु सिर्जना भइ समाधान पनि भए तर पार्टी विभाजन भएन । नेतृत्वले पार्टी अन्तसंघर्षलाई सही ढंगले सञ्चालन गर्दाको परिणाम थियो अखण्डित चिनियाँ कम्युनिस्ट पार्टी ।
अहिले तीन क्रान्तिकारी पार्टीहरु बीच पार्टी एकता हुन गइरहेको छ । देशमा रहेका विभिन्न क्रान्तिकारी, देशभक्त समुहहरु, व्यक्ति व्यक्तित्वहरुलाई समेत यो महान कार्यमा समाहित गरेर लिन सकिएमा नेपालमा विशाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्छ । यसबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर देशलाई विस्तारवादी र साम्राज्यवादीहरुको चंगुलबाट मुक्त स्वाधीन स्वाभिमानी राष्ट्र निर्माण गर्न सम्भव छ । यसका लागि सही कार्यदिशाका साथै पार्टी नेता कार्यकर्तामा क्रान्तिप्रति इमान्दारिता, त्याग, बलिदानी कार्यक्षमता, कार्यकुशलता, धैर्यता, संयमता र वर्गपक्षधरता हुनु अति आवश्यक हुन्छ । कम्युनिस्टहरुको विगतको इतिहास पनि विभिन्न समुहहरुलाई एकीकृत बनाएर जानेहरुले नै केही न केही परिवर्तनमा भूमिका निर्वाह गरेका छन् र जनताले विश्वास गरेर र साथ र सहयोग पनि दिएको देखिन्छ ।