काठमाण्डौ — हमास र इजरायलबीच जारी युद्धविराम पछि गाजामा हमासले आफ्ना करिब सात हजार लडाकु तैनाथ गरेको छ । गाजालाई फेरि आफ्नो नियन्त्रणमा लिनका लागि ती लडाकूहरु तैनाथ गरिएको हो । हाल इजरायली सेना पछि हटेका स्थानहरुमा हमासले आफ्ना हजारौं लडाकु तैनाथ गरेको छ । गाजामा शान्ति स्थापना गर्नेबारेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा इजरायलले गत अक्टोबर ९ मा सहमति गरेपछि हमास र इजरायलबीच ७ अक्टोबर२०२३ देखि जारी युद्ध , युद्ध विराममा परिणत भएको छ । युद्धविराम प्रस्तावमा दुवै तर्फका बन्दीहरु रिहा गर्ने ,जारी शत्रुता अन्त्य गर्ने, गाजाबाट इजरायली सेना फिर्ता गर्ने र मानवीय सहायता गाजामा प्रवेश गर्न दिने विषयमा सहमति भएको थियो । सो सहमतिसँगै इजरायली सेना गाजाबाट हटेको हो । गाजामा हालसम्म मारिनेहरुको संख्या ६७ हजार ६८२ रहेका छन् । १लाख ७० हजार भन्दा बढि घाइते भएका छन् । मारिनेहरुमा अधिकांश महिला र बालबालिकाहरु रहेका छन् । इजरायली सेना गाजाबाट हटेसँगै विस्थापित प्यालेष्टाइनीहरु गाजामा फर्किदै गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

