फागुन २१, काठमाडौं । क्रान्तिकारी संयुक्त मोर्चा, नेपालको बैठक नेकपा (मशाल) को सम्पर्क कार्यालय बागबजारमा बसेको छ । फागुन २१ गते बसेको उक्त बैठकले आगामी कार्यक्रम तय गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । नेकपा (मशाल) का पोलिटव्यूरो सदस्य चिन्तामणिशर्माले कार्यक्रम तय गर्न बनेको ७ सदस्यीय समितिमा चिन्तामणि पौडेल, नारायण शर्मा, बाबुराम गजमेर, पुष्कर गौतम, लक्ष्मण उप्रेती र रामकुमार लामा रहेको बताएका छन् ।
नेकपा (मशाल), नेकपा (बहुमत), नेकपा (रातो तारा), क्रान्तिकारी कम्युनिस्ट लिग, पुष्पलाल अध्ययन समाज, माक्र्सवादी एकता अभियान, पुष्पलाल विचार मञ्च, नेकपा (पुष्पलाल), नेकपा (समाजवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी पुनर्गठन अभियान, प्रगतिशील रुपान्तरण अभियान र स्वतन्त्र वामपन्थी व्यक्तित्वहरुको बैठकमा उपस्थिति थियो ।
राष्ट्रियता, जनतन्त्र जनजीविका, न्याय र समानताको पक्षमा संघर्षलाई केन्द्रित गरेर आन्दोलनका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै छरिएर रहेका विभिन्न वामपन्थी शक्ति, व्यक्ति, समूहलाई एकताबद्ध गर्दै अगाडि बढ्ने समेत बैठकले निर्णय गरेको छ । कार्यक्रम तय गर्न बनेको समितिले गोष्ठी, अन्तरक्रिया, प्रकाशन, प्रदर्शन लगायतका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।
बैठकमा फागुन २१ गते झापा विद्रोहका योद्धाहरुलाई सुखानीको जङ्गलमा लगि हत्या गरिएको स्मरणमा सहिदहरु प्रति एक मिनेट मौन धारण पनि गरिएको थियो।