काठमाडौं । तोकिएकै समयमा स्ववियु निर्वाचन सम्पन्न गर्न माग गर्दै तीन वटा क्रान्तिकारी विद्यार्थी संगठनहरुले एक संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । वक्तव्यमा स्ववियु निर्वाचन सम्पन्न नगर्ने कुनै पनि बहाना नबनाउन त्रिभुवन विश्वविद्यालयसँग माग गरिएको छ ।
वक्तव्यमा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (छैटौं) का संयोजक दिपक पौडेल, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईद्वारा हस्ताक्षरित वक्तव्यमा अगाडि भनिएको छ–“पञ्चायती व्यवस्थामा विद्यार्थीहरुको वलिदानीपूर्ण संघर्षले प्राप्त स्ववियु संस्थालाई गणतन्त्र स्थापना भइसकेको अवस्थामा समेत नियमित निर्वाचन नगरेर विद्यार्थीको अधिकारलाई वञ्चित गराउने षडयन्त्रप्रति हामी तीन विद्यार्थी संगठनको गम्भीर ध्यान आकर्षण भएको छ । संसदवादी विद्यार्थी संगठनका अराजक गतिविधि तथा क्याम्पस प्रशासनको स्ववियु प्रतिको उदासीनताका कारण स्ववियु निर्वाचन नहुने सम्भावना समेत रहेको देखिन्छ । कतिपय क्याम्पसले मतदाता नामावली सार्वजनिक नगर्नु, कतिपय क्याम्पसहरुले निर्वाचन प्रक्रिया अगाडि नबढाउनु , कतिपय क्याम्पसमा संसदवादी विद्यार्थी संगठनले आपसी टकरावका कारण कार्यालयमा ताला लगाउनु लगायतका गतिविधिले स्ववियु निर्वाचन नगर्ने षडयन्त्र भएको देखिन्छ । हामी तीन संगठनले स्ववियु निर्वाचन नगराउने सबैप्रकारका प्रयत्न र षडयन्त्रको विरोध गर्दै, तोकिएको समयमा निर्वाचन गराउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । साथै कुनै कारण देखाएर निर्वाचन स्थगित गरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ।