–रोशन जनकपुरी
२०८२ असोज १० गते शुक्रबार बिहान ११ बजे तिरको कुरा हो । महाराजगंज चोकबाट टिचिङ हस्पिटल तिर जाँदै थिएँ । अमेरिकन एम्बेसी नजिक बाटो छेउमा तराई मधेसकी एउटी बूढी आमा बसेकी थिइन्। सम्भवतः सत्तरी उमेर थियो होला उनको। उनको काँखमा उनको बूढो पति सुतेका थिए, दायाँ हात र दायाँ पाउ घुँडा मुनि काटिएको। सम्भवतः कुनै रोगले कुहिएर काट्नु परे जस्तो। बुढी आमा हात जोडेर आउने जानेहरु तिर याचनाको नजरले हेर्ने गर्थिन्। म आफ्नै ध्याउन्नमा उनको छेउबाट गएँ । बिहान म महाराजगंज तिर जानेबेला पनि उनी त्यहीँ थिइन्। यस पटक केही अगाlड गएपछि अकस्मात् मेरो उत्सुकता जाग्यो। म फर्किएर उनको नजिक आएँ र केही रुपियाँ दिएँ । आस मारेको मानिस फर्केर उनलाई केही दिएपछि उनले खुसी भएर मलाई आशिष दिइन्। मैले उनको परिचय सोधेँ । उनी बारा जिल्ला गढी माई निकटकी थिइन्।
पतिको उपचारको क्रममा टिचिङ अस्पतालमा आएकी थिइन् । कुहिन्से छी इहाँ ? –मैले सोँधे । जवाफ एकैचोटी दुइटा आयो। सोझो पतिले भन्यो दुईवर्ष र बुढीले भनिन् दुई महिनादेखि। आफ्नै तिरको भाषा बोल्ने मानिस, मसँग सम्भवतः उनी आफ्नो निरीह स्थिति लुकाउन चाहन्थिन् । पतिको उपचारको क्रममा आएकी ती बुढी आमा माँगेर जीवन निर्वाह गरेको प्रष्ट बुझियो। गाउँमा छोरा छोरीहरु छन् रे ! छोरा छोरीले सहयोग गर्छन् भनेर मैले सोधिन । लामो समयदेखिको काठमाडौं बासले सबै प्रष्ट थियो।
‘गाउँ कहिले जाने ?‘ – मेरो यस प्रश्नको पनि दुइटा उत्तर आयो। पतिले न जानेमा टाउको हल्लायो । बुढीले भनिन् – ‘छठमे जुबै ।’ – मैले अरु कोट्याउन चाहिन । बुझ्नुपर्ने अरु के नै बाँकी थियो र ? वृद्धावस्थामा असहयोगको निरीहता भोगी रहेको नेपाली नागरिक मध्येकी उनीपनि एक थिइन्। फोटो खिँच्ने इच्छा भयो। फेरी सोँचे फोटो न खिचुँ । अनेक गरेर पतिसँगै जीवन निर्वाह गरिरहेकी बुढीआमाकोे स्वाभिमान खण्डित गर्न चाहिन । उनी पौरखी थिइन् । आफ्नो तर्फको भाषा बोल्ने मान्छे भेट्टाएर खुशीको भाव थियो उनको अनुहारमा । केही न बोली टिचिङ तर्फ आफ्नो बाटो लागे म ।
अनेक हेय, घृणा र उपहासका बीच केही मनकारीहरुको बलमा बारा जिल्लाकी यी बुढी आमा जस्तै अनेक वृद्धवृद्धाहरु यस शहरमा जीवन घिसारी रहेका छन्। हुन् यिनी नेपाली नागरिक नै । युवावस्थामा नेपालको निम्ति यिनले पनि रगत पसिना बगाएका होलान्। तर जतिबेला यिनलाई आफन्त, परिवार, समाज र देशको आवश्यकता छ, यिनी कसैको हिसाबमा पर्दैनन्, केही मनकारी बाहेक। यसले हाम्रो सामाजिक संरचना र राजनीतिक व्यवस्थाको औचीत्यमाथी गम्भीर प्रश्न खडा गर्छ । कति असम्वेदनशील हुँदैगएको छ हाम्रो समाज र राज्यव्यवस्था ?
सामाजिक र राजनीतिक परिवर्तनका नयाँ बहसहरु सृजना हुँदै छ । यी बुढी आमाहरुपनि सामाजिक र राज्यव्यवस्थाको बहस र नीतिमा पर्नु पर्छ। राजनीतिक पार्टीहरु, जसले आफुलाई वर्ग, जाति, क्षेत्र र लिंगको प्रतिनिधित्वको दावी गर्छ, उनीहरुको एजेण्डा, बहस र संघर्षमा त यी वृद्धवृद्धाहरु निश्चय पर्नु पर्छ।
नोट ः प्रस्तुत सामग्री लेखक रोशन जनकपुरीको फेस बुक वाल,२०८२ असोज ११ गते (सेप्टेम्बर २७, २०२५)बाट लिइएको हो ।

