सूर्यको गति र ऋतु परिवर्तनसँग सम्बन्धित छठ पर्वको सन्दर्भ

लोकनारायण सुवेदी

हरेक वर्ष छठ पर्व मौसम परिवर्तनसँगै आउने गर्दछ कार्तिक र चैत्र महिनामा । यो त्यस्तो बेला हो जतिबेला पृथ्वीले सूर्यको किरणहरुको दिशामा हल्का झुकाव बदल्छ र बातावरणमा नयाँ ऊर्जा प्रवाहित हुने गर्दछ भनेर सँस्कृति विज्ञानका ज्ञाताहरु भन्दछन् । यस्तो स्थितिमा सूर्य उपासना आत्मिक शान्तिका लागि भन्दा पनि जैविक सन्तुलन कायम राख्नमा लागि सहायक हुने गर्दछ । अनि योे एउटा जीवन दर्शन, पर्यावरणीय चेतना र बैज्ञानिक सोचको प्रतीक बन्ने गर्दछ भन्ने बिश्लेषण बिज्ञान र सँस्कृतिका ज्ञाताहरु उल्लेख गर्दछन् । एउटा जीवन्त लोक सँस्कृतिको यो पर्वको आस्थाले प्रकृति र विज्ञानलाई एक सुत्रमा बाँधिदिन्छ भन्ने उनीहरुको निश्कर्ष छ । लोक जीवनको यो छठ पूजाले सूर्यको उपासना र मातृशक्तिको आराधना यसैरुपमा अर्थ्याउनुमा नै यसको विशेष महत्व रहन्छ र राखिनु पर्दछ ।

समय सिढीमा हेर्ने हो भने यो छठ पूजाको आरम्भ बैदिक परम्परादेखि भएको मानिन्छ । सूर्य उपासनाको उल्लेख बेदहरुमा बारम्बार पाइन्छ । गायत्री मन्त्रमा पनि सूर्यको आराधना नै मूख्यरुपमा रहेको छ । त्यसमा भनिएको – ओऽम भूर्भूबः स्वः तत्सबितुर्बरेण्यं भर्गो देबस्य धीमहि धियो यो न प्रचोदयात् भन्ने मन्त्रले सूर्यको त्यस ऊर्जाको स्मरण गराउँदछ जसले सम्पूर्ण सृष्टिलाई जीवन प्रदान गर्दछ । बेदहरुमा यूर्यलाई ‘सबिता’ भनिएको छ । जुन जीवन र चेतनाको श्रोत हो । यसै सूर्यकाप्रति कृतज्ञता प्रकट गर्न र प्रकृतिसँग सन्तुलन स्थापित गर्नका लागि छठ पूजाको बिधान बनेको देखिन्छ । पौराणिक मान्यतामा के भनिएको छ भने पाण्डवहरुको बनबासका बेला द्रौपदीले छठ ब्रत बसेर संकटबाट मुक्ति पाएकी थिइन् । अर्कोतिर रामायणमा पनि राम र उनका माता पिताले कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको उपासना गरेको उल्लेख छ । यी कथाहरुले यस पर्बलाई धार्मिक मात्र होइन साँस्कृतिक आधार पनि प्रदान गरेको छ । यस पर्बको साँस्कृतिक महत्वलाई यसका लोकधूनहरु र सामुहीकतमा प्रकट गरेको छ । नदी, पोखरीसँग जोडिएका घाटहरुमा गुञ्जिने लोकगीतमा मातृत्व, भक्ति र प्रकृतिकाप्रति प्रेमको भावनाहरु अभिब्यक्त भएको पाइन्छ । यसका लोक संगीतहरुमा गाउँको धूलो, जल र जनसँग गाँसिएको आत्माको आवाज रहेको हुन्छ र सारा सममाज एक साथ नदी या तालको किनारामा एकत्र भएको हुन्छ । अनि त्यहाँ कुनै जाति, वर्ग या लिंगकोकुनै भेदभाव रहेको हुँदैन भन्ने मान्यता छ ।

छठ पूजा पछाडि निहीत रहेको बैज्ञानिक सोच पनि उत्तिकै गहिरो लाग्दछ । सूर्य यो चराचर जगतको आधार हो । जसको ऊर्जाबिना पृथ्वीमा कुनै कसैको केही अस्तित्व रहन सक्तैन । बेदमा भनिएको पनि छ कि ‘सूर्योेऽत्मा जगस्तस्यषश्चा’ अर्थात् सूर्य चर–असर समस्त सृष्टिको आत्मा हो । छठ पूजाको समयमा पानीमा खडा भएर सूर्यलाई अर्ध्य दिनु स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ । त्यतिबेला सूर्यका किरणहरु कम तीब्र हुन्छन् र तिनको स्पर्शबाट शरीरमा भिटामिन डीको निर्माण गर्नमा सहायक हुने गर्दछ । जलमा खडा हुँदा शरीर भित्रको तापकक्रम सन्तुलित हुन्छ र छाला, आँखा तथा तन्त्रिकाहरुलाई त्यसले लाभ प्रदान गर्दछ । यो एक प्रकारको बैज्ञानिक ध्यान हो, जसले मानसिक एकाग्रता र आत्मिक शान्ति प्रदान गर्दछ । यस ब्रतको अर्को एउटा बैज्ञानिक पक्ष शरीर शुद्धीसँग जोडिएको हुन्छ ।

लगातार उपबास बस्ने र सात्विक भोजन ग्रहण गर्नाले शरीरमा एक प्रकारको डिटक्सिफिकेशन हुन्छ । सख्खर, भात, ऊखु, नरिवल र केरा जस्ता प्रसादका पदार्थहरुमा प्राकृतिक पोषकतत्व रहेका हुन्छन् । तिनले प्राचन प्रणालीलाई स्वच्छ र सन्तुलित राख्न मद्दत गर्दछन् । छठ पूजामा प्रयुक्त सामाग्रीहरु पनि पर्याबरणीय दृष्टिले समेत अनुकूल हुन्छन् । माटोको दीयो, बाँसको नाङ्लो, ऊखुको लाँक्रो,फल र शुद्ध अन्न सबै प्रकृतिबाट प्राप्त हुन्छन् र तिनैलाई पुनः प्रकृतिप्रति नै अर्पण गरिन्छ(त्वमेव बस्तु गोबिन्दम् तुभ्यमेव समर्पयेत्) । तिमीबाट लिइएका कुरा तिमीलाई नै अर्पण गरे भन्ने कुरा वास्तवमा यो जीवन चक्रको निरन्तरताको प्रतीक हो । वर्तालुहरुले जब नदी, पोखरी या तलाऊहरु सफाई गर्दछन् र स्नानका लगि घाट सजाउने गर्दछन् त्यो केवल धार्मिक कर्मका लागि मात्र सीमित रहँदैन र हुँदैन र होइन । त्यसका अतिरिक्त त्यो जल संरक्षण र स्वच्छताको महत्वपूर्ण सामाजिक अभियान पनि बन्दछ ।

परम्परागतरुपमा ‘यथा पिण्डे तथा ब्रह्माण्डे’ को सिद्धान्तसँग पनि यसलाई जोडिएको छ । अर्थात जे जस्तो कुरा शरीरमा छ त्यही ब्रह्माण्डमा पनि हुन्छ भन्ने मान्यता । छठ पूजाले यस बिचारलाई ब्यवहारमा परिणत गर्ने अवसर प्रदान गरेको पनि निष्कर्श निकालिन्छ । भनिन्छ त्यतिबेला मानिस प्रकृतिसँग एकात्म हुन पुग्दछ ।

त्यसैले यो पर्बले के स्मरण गराइरहन्छ भने मानिस र प्रकृतिको सम्वन्ध केवल उपयोगको सम्वन्ध होइन बरु सहयोग र सह–अस्तित्वको सम्वन्ध हो । यस पर्बका बेला जब बर्तालुहरु पानीमा उम्भिएर सूर्यलाई प्रणाम गर्दछन् त्यसले केवल सूर्यलाई मात्र होइन, सम्पूर्ण सृष्टिलाई नै प्रणाम गरिरहेको हुन्छ जसले उसलाई यो जीवन दिएको छ । बेदहरुमा के भनिएको छ भने — ‘सूर्ये तपत्यहर्निशं लोके, तेन जीवनमिदं जगत’। अर्थात् सूर्यले दिन–रात जगलतलाई जीवन दिइरहेको हुन्छ र यसै जीवनको उत्सब हो छठ पूजा । बास्तवमा छठ पूजाले अन्त्यतः निष्कर्शमा के सन्देश दिन्छ भने जहिलेसम्म सूर्य छ तैलेसम्म जीवन छ । अनि जहिलेसम्म आस्था छ तैलेसम्म मानबता छ । यो पर्ब केवल पूजाको पर्ब होइन, यसको सबैभन्दा महत्वपूर्ण पक्ष मानव प्रकृति र विज्ञानका बीच निरन्तर सन्तुलनको खोजी गर्ने उत्सब हो । यसमा गाँसिन आएका अन्ध मान्यताहरुबाट मुक्त किसिमले छठलाई हेरियो भने यसलाई एउटा प्राकृतिक किसिमको पर्यावरणसँग निर्भर रहने र त्यसको संसरक्षण, सम्बर्द्धनम तल्लिन हुने उत्सवकोरुपमा छठलाई देख्न र बुझ्न सकिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित