काठमाण्डौ । नेपालका उच्च भेगहरुमा भारी मात्रामा हिमपात हुनुका साथै देशका अधिकांश स्थानमा वर्षा भएको छ । मनाङ,गोरखा,म्याग्दी,रुकुम लगायतका स्थानहरुमा हिमपात भएको छ । उत्तरी गोरखाको विभिन्न स्थानमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिका १ साम्दो र सामागाउँमा सोमबारबाट हिमपात भएको छ । मनाङको माथिल्लो स्थानमा हिमपात भएको छ । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोका कारण स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । २०८२ कार्तिक १० गते राति देखि कार्तिक १२ गतेसम्म हिमपात र वर्षा हुने जलतथा मौसम विज्ञान विभागले जनाएको छ । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा वर्षा र हिमपात भइरहेको छ ।मंगलबार दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने जनाइएको छ । तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय सरकारहरुले सतर्कता अपनाउन र मौसमको बारेमा जानकारी लिएर मात्रै बाहिर निस्कन सबैसँग अनुरोध गरेको छ ।
Comments

