शान्ति सुरक्षाको समस्या

अहिले देशको राजनीतिक अवस्था निकै तरल छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि नयाँ सरकार बनेको छ । नयाँ सरकार बने पनि सरकारलाई धम्काउने पारामा स्वयम् आन्दोलनकारी भनिएकाहरु प्रस्तुत भइरहेका छन् । जेनजीहरु वास्तवमा को हुन् ?उनीहरु देश र जनताप्रतिको जिम्मेवारीमाथि आम रुपमा प्रश्न उठिरहेको छ ।
देशमा जुन रुपमा आन्दोलन आयोजना गरिएको थियो र जुन रुपमा देशको कार्यपालिका,न्यायपालिका ,व्ययवस्थापिका साथै सरकारी कार्यालयहरुमा आगजनी गरियो यो कुन उद्देश्यले गरिएको थियो ? प्रश्नहरु उठिरहेका छन् ।जेनजीहरुले आन्दोलन गरेर सरकार फेरिए पनि राजनैतिक वातावरण सहज बन्न सकिरहेको छैन । संविधानले व्यवस्था गरेका मौलिक अधिकारहरु नै कुण्ठित हुन पुगेको अवस्था छ । नेपाली जनताले लडेर ल्याएका अधिकारहरु भेला सम्मेलन गर्ने,बोल्ने अभिव्यक्ति दिने,स्वतन्त्रता जस्ता अधिकारहरु खोसिने खतरा पनि छ । आन्दोलनको क्रममा दलका कार्यालयहरु तोडफोड गर्ने आगजनी गर्ने,नेताहरुलाई कुट्ने, पिट्ने,नेताहरुका घरहरु जलाउने गरियो । अहिले पनि सामाजिक संजालहरुमा विभिन्न समुहमार्फत गाली गलौज भइरहेको छ । देशमा क्रियाशील दलहरुलाई निषेध गर्नु पर्ने खालका अभिव्यक्तिहरु आइरहेका छन् । पुराना दलहरुलाई निषेध गर्ने नयाँ भनिएकाहरुले पनि केही नगर्ने अवस्था आउने हो कि भन्ने स्थिति सिर्जना भएको छ । जेनजी आन्दोलन पछि देशमा अशान्तिको वातावरण छ । सरकार फेरिएको पनि ४५ दिन पुगिसकेको छ । यति समय हुँदा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
देशमा दण्डहीनता बढ्दो छ । आन्दोलनको क्रममा भागेका झण्डै पाँचहजार कैदीहरु कारागार फर्किएका छैनन् । प्रहरीबाट लुटिएका हतियारहरु अझै लुकाइए कै छन् । कैदीबन्दीहरुलाई पटक पटक फर्किन अनुरोध गर्दा पनि फर्किएका छैनन् । लुटिएका हतियारहरु फिर्ता नहुँदा समाजमा शान्ति कायम छ भनेर जनता ढुक्क हुन सक्ने अवस्था छैन ।
नवगठित सुशीला कार्कीको सरकारले फागुन २१ गते संसदको चुनाव गराउने घोषणा गरेको छ । चुनाव सम्बन्धी प्रक्रियाहरु अगाडि बढेका पनि छन् तर चुनाव हुनेमा ढुक्क हुने अवस्था छैन । नेपालमा अस्थिरता सिर्जना गर्न चाहने प्रवृतिहरुले अझै अस्थिरता कायम गराउन चुनाव नगराउन पनि खोज्ने देखिन्छ । चुनावमा आफ्नो मत जाहेर गर्ने उचित वातावरण बन्न सक्नेमा शंका छ । अहिले दलहरुले सुरक्षाको महसुस गर्न सकेका छैनन् लुकेर व्यक्ति वा देशमाथि के गर्ने हुन् ? भन्ने आशंका छ । जेनजी भनिएकाहरुका विभिन्न समुहले आ–आफनै पारामा धम्काउने ,आन्दोलनको चेतावनी दिइरहेका छन् । यो हेर्दा जो जसले जे जे उद्देश्यले आनदोलन गरेका थिए उनीहरुको उद्देश्य अझै पूरा भएको छैन भन्ने देखिन्छ । राज्यलाई कमजोर पारिएको छ भन्ने भएको छ । यही अवस्थामा जे पनि गर्न सकिन्छ भन्ने मनो विज्ञानको विकास भएको छ ।
अहिलेको अवस्थामा संयमित रहन भन्दै मानवअधिकार आयोगले सबैमा अनुरोध गरेको छ । जनताको जीउ धनको सुरक्षा कसरी गर्न सकिन्छ ? भन्ने कुरा गम्भीर भएर आएको छ । राष्ट्रिय एकता तथा स्वाधीनतामा आँच आउने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।
यस अवस्थामा देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिन सबैले ध्यान दिनु पर्दछ । राजनीतिक संक्रमणको अन्त्य हुनु पर्दछ । सरकारले देशको नागरिक अधिकारको संरक्षण गर्नुका साथै कानुनी राज्यको प्रत्याभूति दिलाउनु पर्दछ । सरकारले सुरक्षा दिन नसकेमा टोल सुरक्षा,गाउँ सुरक्षा समिति बनाएर जनता आफैले सुरक्षाको व्यवस्थातिर समेत ध्यान दिनु पर्ने देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित