साहित्यकार अग्निधरका ‘भिरपाखाका सुसेली’

 

– रामबहादुर बुढा

लेखक तथा साहित्यकार  अग्निधर चन्द बोहोरा ‘तिक्त उपेक्षित’द्वारा लिखित ‘भिरपाखाका सुसेली’ (हाँस्य व्यङ्गात्मक यथार्थवादी कथा संग्रह) मेरो हातमा प¥यो। लेखककै हातबाट मैले २०८२ असोज २३ गते यो पुस्तक प्राप्त गरेंं । सर्वप्रथम   दोस्रो कोसेली पाठकहरूसामु पस्कन सफल हुनुभएकोमा मामा अग्निधर चन्द बोहराजीलाई धेरै धेरै बधाई छ र यहाँको आगामी लेखकीय भविष्य उज्ज्वल र सुन्दर होस् भन्ने शुभकामना दिन चाहन्छु ।

मैले अग्निधर चन्द बोहोराजीलाई मामा साइनोले सम्बोधन गर्छु । उहाँकी जीवन संगिनी जलन घिमिरेजीलाई माइजु भनेर सम्बोधन गर्छु। त्यसको पछाडि खास कारण छ। गुल्मी जिल्ला अग्लुङका दीपक बिष्ट र म रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीमा आइए पढ्दा २०५२ –५३ सालमा एउटै कोठामा दुई वर्ष सँगै बिताएका थियौं । अग्निधर चन्द बोहोरा दीपक बिष्टका सखेद कान्छा मामा हुनुहुन्छ। दीपकजीका मामा भनेपछि साथीका मामालाई मैले पनि मामा नै भनें र भन्छु । हामीले तम्घासमा पढ्दापढ्दै मामा अग्निधर साउदी अरबको मजदुरको जिन्दगी बिट मारेर नेपाल आउनुभयो । प्रवासबाट फर्केपछि उहाँले आफ्नो औपचारिक अध्ययनको कार्यलाई पनि अगाडि बढाउनुभयो । उहाँले तमघासमा आफ्नो क्याम्पसको अध्ययन कार्यलाई अगाडि बढाउने, परीक्षा दिने आदि काम गर्नुभएको थियो । त्यतिबेला नै उहाँले विवाह गर्नुभयो । हामी केही समय सँगसँगै बस्ने अवसर मिल्यो । तीन दशक पुरानो मामा भान्जाको यो नाता र भावनात्मक सम्बन्ध अहिले पनि कायमै छ । त्यसो त अर्खा र अग्लुङ क्रमशः प्यूठान र गुल्मी जिल्ला भए पनि सिमाना जोडिएका गाउँ हुन् । पाइ–भेगका हिसाबले हामी ज्यूंदाका जन्ती र मर्दाका मलामी हौं ।

लेखक तथा साहित्यकार अग्निधर चन्द बोहोराले २०५८ सालमा ‘जनजागृतिको कोसेली’ कवितासंग्रह प्रकाशित गर्नुभएको थियो। मैले उतिबेला हाँक साप्ताहिकमा त्यस कविता संग्रहको बारेमा समीक्षात्मक टिप्पणी लेखेको थिएँ। यसपटक यो कथा संग्रह बारे पनि मैले केही भन्न पाउँदा खुसी लागेको छ । ‘भिरपाखाका सुसेली’ मा जम्मा २३ वटा कथाहरु रहेका छन् । आफूले प्रत्यक्ष भोगेका र सुनेका कुराहरुलाई साहित्यकार अग्निधरले कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । नेपालको मध्य पहाडी भेगको जनजीवनलाई उहाँका कथाहरुले प्रतिबिम्बन गरेका छन् । कथाहरुमा हाँस्य रस मिसाइएको छ , जसले गर्दा कथाहरु रोचक भएका छन्।

भिरपाखाका सुसेली सरसर्ती पढ्दा उहाँका कथाहरू दुई प्रकारका छन्। एक –उहाँले आफैले जीवनमा प्रत्यक्ष रुपमा भोगेका विषयवस्तुहरुलाई कथा बनाउनु भएको छ । दुई – विभिन्न व्यक्तिहरु खास गरिकन उहाँकै बुवा माधव सिंहले सुनाएका कुराहरुलाई कथा बनाउनुभएको छ । यस कृतिलाई लेखकले हाँस्य व्यङ्गात्मक यथार्थवादी कथा भन्नुभएको छ। तर यसलाई आत्मपरक निबन्धहरू वा संस्मरण संग्रह भनेपनि फरक पर्दैन भन्ने लाग्छ।

यस संग्रहको पहिलो कथाको शीर्षक छ, ‘जिउँदा चेपागाडा निल्ने मान्छे’ । अग्निधर चन्द बोहराको घर अग्लुङ फेदीमा पर्दछ ।  पश्चिमतिरबाट झिम्रुक र पूर्व उत्तरबाट अग्लुङ खोला आएर अग्लुङ फेदी गाउँको फेदीमा दुईवटा खोलाहरू भेट हुन्छन् । खोलाको छेउँको गाउँ भएकाले उहाँहरूको जीवन त्यहाँको खोलासँग प्रत्यक्ष रुपमा जोडिनु स्वभाविक हो । साहित्यकार अग्निधर चन्द किशोरकालमा अग्लुङ खोलामा पौडी खेल्ने, माछा मार्ने काम गर्नु हुन्थ्यो। त्यही सन्दर्भमा उहाँका किशोरकालीन साथी राधारामले खोलाबाट चेपागाडाहरु निकालेर ज्यूँदै खाएको घटनालाई बडा रोचक ढंगले कथाकारुपमा प्रस्तुत गर्नु गएको छ । दोस्रो कथाको शीर्षक छ, ‘कालो अरिङ्गालले टोक्दा’ । गाउँघरमा अरिङ्गालको गोलो आगो लगाएर त्यसका छोराहरू निकालेर खाएका, अनि अरिङ्गालबाट टोकाई खाएका थुप्रै कथाहरु ग्रामीण जीवनमा मान्छेहरुले देखेका भोगेका हुन्छन् । उहाँले पनि आफूले प्रत्यक्ष रुपमा भोगेको कुरालाई हाँस्यात्मक तरिकाले प्रस्तुत गर्नुभएको छ। तेस्रो कथाको शीर्षक छ,‘काँक्रो चोर्न जाँदा पिसाबद्वारा नुहाइ’ । कुनैबेला अर्खा निवामीमा कक्षा ६ र ७ मा पढ्ने बेला मेरा रजबरा पोखरा तिरका साथीहरु यामबहादुर बुढा र सुरेन्द्र बुढाहरुले गाउँमा राति काँक्रा चोर्न गएका चोरहरुको कथा सुनाउनुभएको थियो । मालिक्नीले थाहा पाएर हाहा र होहो गर्दै बाहिर निस्किएको र काँक्रा चोर काक्राको झ्याङ मुनि लुकेर बसेको अवस्थामा काँक्रा मालिक्नीले चोर चोर भनेर हल्ला गर्दागर्दै घर भित्र पस्नु पहिले पिसाब फेर्दा चोर पिसावको नुहाइमा परेको कथा सुनिएको थियो । यो कथा पढिसकेपछि मलाई माथि उल्लेखित यामबहादुर बुढा र सुरेन्द्र बुढाले सुनाएको कथाको याद भयो।

‘सुगन्धित खैनी र बुढा मान्छे’ यस संग्रहको चौथो कथा हो। यो पनि उहाँले प्रत्यक्ष देखेको कथा हो । गाउँमा टोबाको सुगन्धित खैनी खाएर कैयौं मान्छेहरु रन्थनीएका कथाहरु प्रशस्तै पाइन्छन् । त्यस्तै कथालाई यहाँ कथाको रुपमा लेखकले प्रस्तुत गर्नुभएको छ। पाँचौ कथाको शीर्षक छ ,‘रारा चाउचाउ खाँदाको पहिलो क्षण’ । उहाँले पुर्कोटदह गुल्मीमा पढ्ने बेला चाउचाउ बोकेर घर ल्याएर झन्डै एक पाथी पानीमा एउटा चाउचाउ हालेर पकाएर परिवारका सदस्यहरुलाई खुवाएको रमाइलो कथा बनाउनुभएको छ । उहाँको यो कथा पढिसकेपछि मैले पनि जीवनमा पहिलो पटक आमाको उपचारको क्रममा पूजाको लेवासी भन्ने ठाउँमा २०४५ सालमा दुर्गबहादुर केसीको पसलमा रारा चाउचाउ खाएको सम्झना भयो । ‘बा पनि छैनन्,बाको समाउने पनि छैन’ यस संग्रहको छैठौं कथा हो । बाको समाउने भन्नाले यहाँ किसानको हलोको अनौलाई भनिएको हो । यो कथा प्युठानको सुदूर उत्तरी गाउँ अर्खाको ठूलाचौर जाँदा उहाँले सुन्नुभएको रहेछ । अनौ हलोबाट फुस्किएर अनौ सितै किसान भिरमा लोटेको कुरा यो कथामा उल्लेख छ । यसले ग्रामीण कृषि कर्म कति गाह्रो छ भन्ने कुरा देखाउँछ। यस कथा संग्रहको एउटा रोचक कथा हो ‘दिम कि नदिम’ । यस कथामा लेखकका दाजु पर्ने बाल नरसिंह चन्द र त्यसै गाउँका भूतपूर्व भारतीय आसाम राइफलका वासुदेव चन्द दुई मुख्य पात्रहरू छन् । यी दुई मुख्य पात्रहरू रक्सी खाइसकेपछि अग्लुङ फेदीको भट्टीमा घमसान लडाई गर्दछन् । दिम कि नदिम भन्ने शब्द वासुदेव चन्दको हो । बाल नरसिंहले हुन्छ दे भनेपछि अनि बासुदेवले बक्सिङ प्रहार गर्दा रहेछन् । वासुदेवले बाल नरसिंहलाई लडाईमा सजिलै जित्दा रहेछन् तर जब बाल नरसिंहले वासुदेवको शरीरको कुनै पनि ठाउँको मासु भेट्दा बित्तिकै दाँतले टोकेर च्वाट्टै मासु निकाल्दा रहेछ । त्यो लडाई हेर्न अग्लुङ फेदिमा मान्छेहरूको भिड लाग्दो रहेछ। जड्याहरू लडाई गरेर अरुलाई मनोरञ्जन दिएको यो कथा पढ्दा मलाई पनि आफ्नो बाल्यकालमा मेला पर्वहरुमा मानिसहरु लडाईभिडाई गरेको ,माघे संक्रान्तिको मेलामा प्युठान अर्खाको मेलामा सिंगो मेला नै रणभूमिमा परिणत भएको घटना सम्झना भयो । ‘भुटुवा चिया र लाहुरे’ भन्ने कथाले ग्रामीण भेगमा रहेका महिलाहरूको भोलाभालापनलाई बताउँदछ।  ‘ठूला बडाको जुवा र विकासी आइमाई ’भनेर उहाँले अर्को कथा बनाउनुभएको छ ।दिदीबहिनीको लडाई र ताबाको डमाई अर्को कथा छ ।यो बाल्यकालको संस्मरण नै हो। गोरखपुर रेल साधु वाले र मृत्युको मुख अर्को कथा हो। यस कथामा २०४९ सालतिर लेखकले पासपोर्ट बनाउन काठमाडौँ गएको र गोरखपुर हुँदै साउदी अरब जानका लागि मुम्बई सम्म पुग्नका लागि रेल चढेको, गोरखपुरमा  साधुवाले बताउने कुल्लीले ठगेको र कष्टकर रेलको यात्रा कथालाई लेखकले यस कथामा व्यक्त भएको छ। अर्को कथा छ पहिलोपल्ट टेलिफोनमा बोल्दा ।यसमा टेलिफोन मालिकबाट ठगिएको कुरा राखिएको छ। अर्को कथा छ मेरो मावि अध्ययनको प्रारम्भिक कारुणिक संक्षिप्त चित्रण । यसमा लेखकले गुल्मीको पुर्कोट दहमा पढ्दाखेरिका दुःखका कुरा समेट्नु भएको छ । अर्को कथा छ अण्डा खोज्न जाँदा …। लेखकले गुल्मीको पुर्कोट दहबाट पढ्न छाडेर प्युठानको बागदुला जनता माविमा  पढ्दाखेरिका जुन घरमा बसिन्थ्यो त्यो घरको कथा, व्यथा, दुःख, हाँसोका कुराहरू यसमा समेटिएको छ ।ट्वाइलेट नहुँदा पाहुनालाई टट्टी गर्न लाँदा, आफ्नै घरतिरको कथा जोडिएको छ । आगाको भागाको भानी भातै मिठो ज्वाईं,  माछा नहुँदा ढुङ्गाको लेउ सुगेर भात खाने मान्छे, गनाउने टट्टीवाल खिर र प्रेममा बज्रपात, पुवाको आशामा भुटुवा खाजा, सरदारजीको छाप, फोटोको पोज लिदा भिरबाट गर्ल्याम्म जस्ता शीर्षकमा कथाहरु लेखिएका छन। साउदी अरब जाँदा प्लेनको सिट बेल्ट र ट्वाइलेट काण्ड , यो कथा संग्रहको अन्तिम कथा हो। कथाकार अग्नि आफ्नै भिनाजुको आग्रहमा दिल्ली हुँदै साउदी अरब पुगेर साउदी अरबमा मजदुरी  गर्नुभएको थियो, त्यही सन्दर्भमा उहाँले आफू सँगसँगै गएका साथीहरुले सँगसँगै जाने सन्दर्भमा खाना खाएको,  यात्रामा  अनजान ठाउँमा वा त्यस्तै अवस्थामा मान्छेले कैयौं कुराहरु नदोहोर्ने ,दुःख पाएको वर्णन गरिएको छ ।

अग्निधर चन्द बोहोराद्वारा लिखित यो कथा संग्रह  पढेपछि कतिपयलाई लाग्न सक्छ यस्ता गाउँघरमा सुन्दै भोग्दै आइरहेका  सानातिना कुरा लेखाइको के अर्थ छ !  तर म यसलाई त्यसो भन्ने पक्षमा छैन। यो वास्तवमा एउटा महान कार्य हो । उहाँले जे गर्नु भएको छ ,धेरै मानिसले यो काम गर्नु पर्ने आवश्यकता छ भन्ने लाग्छ । उहाँको यो कथा पढिसकेपछि मलाई लिलबहादुर क्षेत्रीको बसाइ उपन्यासको सम्झना भएको छ।  लिलबहादुर क्षेत्रीको यो उपन्यास  नेपाली विश्वविद्यालयहरूमा पढाइ हुने एउटा महत्वपूर्ण उपन्यास  हो । लिलाबहादुर क्षेत्रीले नेपालको तेह्रथुम जिल्लाको पहाडी भेगको ग्रामीण जनजीवन आधार बनाएर त्यो उपन्यास लेख्नुभएकोछ  । लेखिसकेपछि एकपटक मेची नदीभन्दा पारिपट्टि दार्जिलिङको पानी टेङ्की बजारको एक होटेलमा उहाँले आफन्तलाई आफूले पुस्तक लेखेको र यो किताब बिक्री गरिदिन भनेर अनुरोध गर्नुभएछ। आफन्त धेरै खुसी हुनुभएछ , ओहो आफ्नो मान्छेले किताब लेख्यो भनेर । पसलबाट पुस्तक  बिक्री भयो कि भनेर उहाँ आफन्तकोमा फर्केर जानुभएछ । ती आफन्तले भनेछन् यस्तो पनि किताब ? म त कति राम्रा कुराहरू राखेको होला, ठूला ठूला धर्मशास्त्रहरूका बाणीहरू उल्लेख गरेको होला,ठूला ठूला विद्वानहरुको कथन उद्यृत गरेको होला भन्ने ठानेको थिएँ। यस्तो जाबो हगे पादेको जस्तो कुरा ! मेला भर्न गएको, पिङ खेलेको, लाहुरेले तरुनी फकाएको यस्तो जाबो पनि किताब  हुन्छ भनेर उल्टो उनले निराश बनाएछन् र एउटा किताब पनि बिक्री नगरिकन जस्ताको तस्तै फिर्ता गरिदिएछन् । तर लिला बहादुर क्षेत्रीले हरेस खानुभएन । उहाँले काठमाडौं आएर प्रज्ञा प्रतिष्ठानमा किताब दिनु भयो । त्यहाँ पनि खासै वास्ता गरेनन् । पुस्तकलाई कसैले पनि पत्याएन। तर पछि प्रज्ञा प्रतिष्ठानमा नयाँ मान्छेहरु आए र ती नयाँ मान्छेहरूले लिलाबहादुर क्षेत्रीको किताबलाई प्रकाशन गरे ।  नेपालको विश्वविद्यालयमा पढाउन थालिएपछि लाखौं प्रति छापिइरहेकाछन् । यो कुरा लिलबहादुर क्षेत्रीले बिबिसी नेपाली सेवालाई अन्तरवार्ता दिंदा भन्नुभएको थियो ।आफ्ना कुराहरू नलेख्ने, आफ्ना कुराहरु नभन्ने, अर्काको मात्रै गीत गाएर हिँड्दाखेरि पनि हामी नेपालीहरु धेरै बिग्रिएका छौ , त्यसैले  आफ्ना कुरा लेख्न सुरु गर्नुपर्छ ।अग्निधर चन्द बोहोराका लेखनीमा   कैयौ कमजोरी हुन सक्छन् । तर उहाँले आफ्नो बारेमा , हाम्रो बारेमा लेख्नुभयो । त्यही नै ठूलो कुरा हो । हाम्रा दुःख र सुखका कथाहरू, हाम्रा मौलिक साहित्यहरू हामीले नै भन्दै नजाने हो वा हामीले नै लेख्दै नजाने हो भने भावी पुस्ताले आफ्नो अतित कसरी थाहा पाउला ?

 

यस कथा संग्रहमा लेखक अग्निदरचन्दले पुस्तकको अन्त्यमा ३५ वटा फोटोहरू  राख्नुभएको छ, जसमा साउदी अरबमा छँदाखेरिका, विद्यार्थी जीवनको, शिक्षक छदाखेरिको,  भिनाजु भेष बहादुर बिष्ट,जीवन संगीनी जलन लगायत सितका फोटाहरु,यी विभिन्न फोटाहरुले लेखकको जीवनको फरकफरक आयामलाई झल्काइका छन्  । उहाँले यस पुस्तकलाई आफ्ना बाबा माधव सिंह र आमा देवकुमारी चन्द बोहराप्रति समर्पण गर्नुभएको छ। कथाको सुरुमा दुईवटा फोटोहरू राखिएका छन् जसमा गुल्मीको आफ्नै गाउँ बस्ती अग्लुङ फेदी र अर्को चाहिँ अग्लङुको खड्ककोत मन्दिरको फोटा दिइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक गितु गिरी, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष शशीधर भण्डारी, राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, साहित्य परिषद् प्युठानका पूर्व अध्यक्ष गेहराज थापा, साहित्य परिषद् प्युठानका अध्यक्ष नवराज आचार्यले शुभकामना मन्तव्य राख्नुभएको छ । यस कथा संग्रहको प्रकाशनको जिम्मेवारी झरना चन्द बोहोरा र अजेय चन्द बोहोराले बोक्नुभएको छ ।  ९५ पृष्ठ रहेको यस पुस्तकको कभर पृष्ठमा सुन्दर हिमाल, पहाड, तलाउको फोटाहरु राखिएका छन्, जसले पुस्तकलाई आकर्षक बनाएको छ। यस पुस्तकको संस्थागत मूल्य ५०० र व्यक्तिगत मूल्य २३५ राखिएको छ।

लेखक तथा साहित्यकार अग्निधर चन्द बोहोरा ‘तिक्त उपेक्षित’

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित