–शशिधर भण्डारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ देशभरि नारी दिवस मनाउने निणर्य गरेको छ । आजभोलि नारी दिवस विश्वभरी मनाइन्छ । महिलाहरुले यो दिवसलाई एउटा स्वतन्त्रता र समानताको पर्वका रुपमा मनाइरहँदा इरानका महिलाहरुले हिजाव फ्याँक्ने अधिकार प्राप्त गर्न सकेका छैनन् । अफगानिस्तानका महिलाहरु पढ्ने लेख्ने अधिकार प्राप्त गर्न नसकेर स्कूल र कलेजका गेटहरुबाट फर्कनुपरेको छ । आज एकातिर इस्लामिक कट्टरपन्थले महिलाहरुमाथि यति कठोर र निर्मम व्यवहार गरिरहेको छ भने अर्कोतिर कर्पोरेट पूँजीवादले महिलाहरुलाई विज्ञापन, प्रशाधन, भोगविलास र मनोरञ्जनको साधन बनाएर नांगै सडकमा दौडाएको छ । महिलाहरुले आजसम्म पुरुषसरह पैतृक सम्पत्तिमा कानुनी अधिकार प्राप्त गर्न सकेका छैनन् । पूँजीवादले महिलालाई सम्बन्ध विच्छेद गर्ने र यौन स्वतन्त्रताको अधिकार मात्र प्रदान गरेको छ । आजसम्म विश्वव्यापीरुपमा लैंगिक विभेद र महिला पुरुष असमानताका पर्खालहरु ढलेका छैनन् । त्यसैले महिलाहरुले नारी दिवसलाई एउटा पर्वका रुपमा होइन थप संघर्षको उद्घोषका रुपमा मनाउन जरुरी छ । आज विश्वका महिलाहरुले यही नारी दिवस मनाउन पाउने अधिकार प्राप्त गर्नका लागि पनि निकै ठूलो संघर्ष गर्नुपरेको थियो । ८ मार्चको नारी दिवसको ऐतिहासिक सन्दर्भ निसन्देह समाजवादी आन्दोलनसित जोडिन्छ । विश्वमा सर्वप्रथम एउटा वैज्ञानिक विचारसहित आधा धर्ती र आधा आकाश ढाक्ने महिलाहरुलाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पुरुषसरह अधिकार प्रदान गर्नु पर्दछ भन्ने आवाज माक्र्सवादीहरुले नै उठाएका थिए । युरोपमा भएको पूँजीवादको विकासले सामन्तवादको पर्खालभित्र रहेका महिलाहरुलाई बाहिर ल्याएर श्रममा सहभागी गराएको थियो तर पुरुषसरह अधिकार प्रदान गरेको थिएन । सामन्तवादको पर्खालभित्रका महिलाहरुलाई बाहिर ल्याएर श्रममा सहभागी बनाउनु पनि सामन्तवादी शोषणको तुलनामा एक कदम प्रगतिशील कदम त थियो ।
८ मार्चको ऐतिहासिकता युरोपको समाजवादी आन्दोलनमा क्रियाशील धेरै महिला नेतृ तथा विरांगनाहरुको भूमिकासित सम्बन्धित छ । त्यसमा पनि मुख्य श्रेय जर्मनीको समाजवादी आन्दोलनकी नेतृ क्लारा जेटकिनलाई जान्छ । जेटकिनको जन्म सन् १८५७ मा जर्मनीको सेक्सोनीमा भएको थियो । त्यतिबेला जर्मनीमा महिलामाथि चर्को विभेद गरिन्थ्यो । जेटकिनले कक्षा प्रथम भएर माध्यमिक शिक्षा पास गरे पनि जर्मन विश्वविद्यालयमा पढ्ने अनुमति पाइनन् । क्लारा जेटकिन बच्चा हेर्ने काममा लागिन् । त्यहाँ महिलाहरुलाई कानुनीरुपमा राजनीतिक पार्टीहरुमा काम गर्न प्रतिबन्ध थियो । उनले गोप्यरुपमा जर्मन सामाजिक जनवादी पार्टीमा काम गर्न थालिन् । त्यतिबेला कम्युनिष्ट पार्टीलाई सामाजिक जनवादी पार्टी भनिन्थ्यो । अविवाहित महिलालाई मतदानको अधिकार पनि थिएन । त्यस्तो अवस्थामा सर्वप्रथम महिला मुक्तिको आवाज बोकेर सडकमा आउने महिला यिनै थिइन् । सन् १९०६ मा उनी पार्टीको शिक्षा विभागको सदस्य भइन् । उनले महिलाहरु राजनीतिक पार्टीमा संलग्न हुन पाउनु पर्दछ भनेर संगठित आवाजको नेतृत्व गरिन् । सन् १९०८ मा जर्मन सरकार सो अधिकार प्रदान गर्न बाध्य भयो । त्यसपछि उनी जर्मनीका महिलाहरुको सशक्त संगठन निर्माणमा लागिन । सन् १९०७ मा सम्पन्न अन्तर्राष्ट्रिय महिला सम्मेलनले उनलाई सचिवमा चयन ग¥यो । सन् १९१० मा कोपनहेगनमा सम्पन्न महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा क्लारा जेटकिनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखिन । सो प्रस्ताव पारित भयो र १९११ बाट अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको देखिन्छ । त्यसो त क्लारा जेटकिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी प्रणेता हुन् ।
जेटकिन सन् १९१६ सम्म अन्तर्राष्ट्रिय महिला संगठनको सचिव भएर काम गरिन् । १९३३ मा जर्मनीमा नाजीवादको चकचकी भएको अवस्थामा उनको मृत्यु भएको थियो । महिला मुक्ति र समाजवादी क्रान्तिको सपना पूरा गर्ने संघर्षमा लाग्दा उनले अभाव, दुःख, गरिबी, सरकारी दमन र निर्वासनको कठोर जीवन बाँचिन तर उनी आफ्नो विचारबाट डगमगाइनन् । पूँजीवादको ध्वंश र समाजवादको उदयविना महिला जातिको मुक्ति सम्भव छैन भन्ने विचारमा जेटकिन जीवनभर अटल रहिन् । अन्तर्राष्ट्रिय समाजवादी शिविरमा जेनी माक्र्स, इलेनट माक्र्स, रोजा लक्जेम्वर्ग, नाजेज्दा क्रुप्स्काया, कोलान्तोइ, नाताशा, च्याङचिङ, सुङ चिङलिङ आदि महिना नेतृहरुले समाजवादी आन्दोलनका साथसाथै महिला मुक्ति आन्दोलनमा महत्वपूणर् योगदान पु¥याएका छन् । सिमोन द वोउवार, एडवीनलगायतका महिलाहरुले महिला अधिकारका विषयमा गम्भीर आवाज उठाएका छन् । तिनीहरुको आवाज नारीवादी कोणबाट मुखरित भएको देखिन्छ । आधुनिक नारीवादीहरुले पुरुष वर्चश्वको सत्ताविरुद्ध महिला वर्चश्वको सत्ताको कुरा पनि उठाउँछन् । समाजवादमा पनि महिलाहरु स्वतन्त्र हुन सक्दैनन् भन्ने तिनीहरुको तर्क छ । नारीवादीहरुले पैतृक सम्पत्तिमा समान अधिकारको कुरा मात्र उठाउँदैनन् यौनिक स्वतन्त्रताको कुरालाई समेत उठाउने गर्दछन् । आफ्नो शरीर आफ्नो अधिकार भन्ने पक्षमा उभिने नारीवादका विषयमा आज विश्वव्यापी रुपमा छलफल, बहस र विमर्शहरु भइरहेका छन् । सन् १९६६ मा संयुक्त राष्ट्र संघले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने घोषणा गरेपश्चात ८ मार्चले विश्वका सम्पूणर् महिलाहरुको पर्व दिवसका रुपमा स्थान पाएको देखिन्छ । नेपालमा विपी कोइराला प्रधानमन्त्री भएको बेलामा वि.स. २०१६ सालबाट नारी दिवस मनाउन थालिएको हो । त्यसपूर्व ८ मार्चलाई सबै महिलाहरुको दिवसका रुपमा भन्दा श्रमिक महिला दिवसका रुपमा मनाइएको इतिहास पाइन्छ । नारी दिवसका रुपमा विश्वका सबै महिलाहरुको पर्वका रुपमा मनाउन थालिएपछि नारी दिवसको वैचारिक पक्ष र समाजवादी शिविरका महिलाहरुले शुरुमा उद्घोष गरेको लक्ष्य र सपना पछाडि परेको देखिन्छ । विश्व कम्युनिष्ट आन्दोलनमा पैदा भएको दक्षिणपन्थी भड्काव र सोभियत रुस र पूर्वी युरोपमा पूँजीवादको घोषित पुनस्र्थापनाले महिला मुक्ति आन्दोलनको समाजवादी शिविरलाई पनि अत्यन्त कमजोर दिशामा धकेल्यो । वर्गीय मुक्ति आन्दोलनसित जोडिएर आउने महिला मुक्ति आन्दोलनको वैज्ञानिक धारमा अस्मितावादी राजनीति र विशुद्ध नारीवादी धारको वर्चश्व कायम हुन गयो । अस्मितावादी राजनीति र विशुद्ध नारीवादी विचारधाराले पूँजीवादको अम्रेलामुनि मुक्तिका सपनाहरु बाँड्ने काम गर्दछ । क्लारा जेटकिनहरुले जस्तो पूँजीवादको ध्वंशमा होइन पूँजीवादको संरक्षणमा महिला मुक्तिको सपना देख्छ । यस्तो विचारले सन् १९१० को कोपनहेगन सम्मेलन र ८ मार्चको ऐतिहासिक स्पिरिटसित मेल खाँदैन । नारीवादले मूलरुपमा सम्बन्ध विच्छेदको अधिकार, यौन तथा प्रजनन अधिकारको स्वतन्त्रताको कुरामा जोड दिदै आयो । त्यसकारण आधुनिक पूँजीवादभित्रको महिला मुक्तिको प्रश्न अस्मितावादी राजनीतिको एउटा अंगका रुपमा परिणत भयो । अस्मितावाद परिष्कृत पूँजीवाद हो । आधुनिक परिष्कृत पूँजीवादले महिलाहरुलाई सम्बन्ध विच्छेदको स्वतन्त्रता, यौन तथा प्रजनन सम्बन्धी अधिकार, शिक्षा र स्वास्थ्य अधिकार अनि राज्य सञ्चालनको विधिमा समानुपातिक सहभागिताको प्रतिनिधित्वको अधिकारलाई महिला मुक्तिको पर्यायवाचीका रुपमा व्याख्या गरेको पाइन्छ । यस्ता कतिपय अधिकारहरु नेपालको संविधान र कानुनले पनि नेपाली महिलाहरुलाई प्रदान गरेको देखिन्छ । राज्य सञ्चालनको विधिमा महिलाहरुलाई समानुपातिक प्रतिनिधित्वको प्रणाली मार्फत समावेश गराएर मात्र महिलाहरु अधिकारसम्पन्न भएका हुँदैनन् ।
भारत, बंगलादेश, श्रीलंका, स्केडिभियन मुलुकहरु, पाकिस्तान, ल्याटिन अमेरिकाका कैयन मुलुकहरु युरोप र नेपालमै पनि महिलाहरु सर्वोच्च न्यायालय प्रमुख, सरकार प्रमुख, सभामुख र राष्ट्र प्रमुख सम्म भएका छन् । तर महिलाहरुले आजसम्म पैतृक सम्पत्तिमा पुरुषसरहको हक प्राप्त गर्न सकेका छैनन् । बंगलादेशमा लामो समयदेखि त्यहाँको राजनीतिको कमाण्ड महिलाकै हातमा केन्द्रित हुँदै आएको छ । तर महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएकी नारीवादी लेखिका तसिलमा नसरिनलाई देश छोडेर भाग्नुपरेको छ । यो एउटा उदाहरण मात्र हो । भारतमा इन्दिरा गान्धी पटक–पटक प्रधानमन्त्री भइन । अहिले जनजाति मूलकी महिला राष्ट्रपति छिन तर भारतमा आज पनि कहालीलाग्दो अवस्थामा रहेको दहेज प्रथासम्म अन्त्य हुन सकेको छैन । यस्ता कैयौं उदाहरणहरु छन् । त्यसकारण दर्शन विचार, सिद्धान्त, लक्ष्य र सपनाबिनाको समानुपातिक प्रतिनिधित्व प्रणालीले केही सीमित अभिजात वर्गका महिलाहरुलाई व्यवस्थापन गर्ने काम मात्र गर्दछ । यो प्रणालीले केही उत्पीडित वर्ग र जातिका महिलाहरुलाई माथि उठाउन सक्ला, त्यो अपवाद र आंशिक कुरा हो । तर मूलरुपमा यस्तो सिद्धान्तहीन समावेशी समानुपातिक प्रतिनिधित्वको पूँजीवादी प्रणालीले समग्र महिलाहरुले भोग्नुपरेका समस्याहरुको वैज्ञानिक समाधान गर्न सक्दैन । किनभने महिला मुक्तिको समस्या भनेको एउटा वर्गीय समस्या नै हो । समानुपातिक र समावेशी प्रतिनिधित्वको प्रणालीले सामनतवाद र परम्परागत पूँजीवादको तुलनामा एक कदम मात्रात्मक स्तरको प्रगतिशील महत्व मात्र राख्दछ ।
महिलाहरुलाई पुरुषसरह जन्मसिद्ध अधिकारसम्पन्न बनाउने काम पूँजीवादी राज्य सञ्चालनको विधिमा महिलाहरुलाई प्रवेश गराएको नीतिले मात्र गर्न सक्दैन । त्यसका पछाडि सही दार्शनिक र सैद्धान्तिक समझदारी भएको वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ । रुस र चीनमा कम्युनिष्ट क्रान्तिपश्चात निर्माण भएको मन्त्रिमण्डल महिलाको अनिवार्य प्रतिनिधित्वको सिद्धान्तमा आधारित थिएन । मन्त्रिमण्डलमा पुरुषहरुकै संख्या निकै ठूलो थियो तर रुस र चीनका ती मन्त्रिमण्डलले जति महिला अधिकारसम्बन्धी फैसला गरे त्यति फैसला आजसम्म कुनै पनि देशका स्वतन्त्रताको वकालत गर्ने पूँजीवादी सरकारहरुले गर्न सकेका छैनन् । पूँजीवादले प्रदान गर्ने स्वतन्त्रता भनेको यौन स्वच्छन्दता, सम्बन्ध विच्छेद, गर्भपतन, प्रजनन स्वतन्त्रता र सडकमा अर्धनग्न भएर हिड्न पाउने र कर्पोरेट पूँजीपतिहरुद्वारा आयोजित सुन्दरी प्रतियोगितामा अर्धनग्न भएर उभिनु मात्र हो । आफू गुडिया जस्तो बनेर कर्पोरेट पूँजीपति वर्गलाई आफ्नो नितम्ब, स्तन, कुम र खुट्टाको नाप दिएर स्वतन्त्रताको अनुभूति गर्ने पूँजीवादी महिला विचारकहरु पनि छन् । त्यो एउटा आफ्नो विश्व दृष्टिकोणको प्रश्न हो । तर यथार्थमा एउटी नारीले नारी भएर जन्मेकै कारण पुरुषसरह जन्मसिद्ध अधिकार प्राप्त गर्न नपाउनु न्याय सिद्धान्तको पनि विरुद्धको कुरा हो । मूलरुपमा विश्व कम्युनिष्ट आन्दोलनमा आएको दक्षिणपन्थी संशोधनवादी भड्काव र प्रतिक्रान्तिले समाजवादी महिला मुक्ति आन्दोलनको सही जनदिशालाई भुत्ते बनाएको छ । नेपाल सरकारले ११३ औं नारी दिवसको अवसरमा तय गरेको लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने नारा पूँजीवादका वरिपरि घुम्छ । प्रविधिमा मात्र महिलाको पहुँच विस्तार भएर लैंगिक समानताको बलियो आधार निर्माण हुन सक्दैन । महिला मुक्ति आन्दोलनलाई वर्ग संघर्षको महत्वपूणर् अंगका रुपमा अगाडि बढाउँदै समाजवादी आन्दोलनको दिशामा नजोडिकन लैंगिक समानताको आधार कदापि निर्माण हुन सक्दैन । त्यसो त फेरि पनि महिला मुक्ति आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन ८ मार्चलाई पर्व हैन संघर्ष दिवसका रुपमा मनाउन जरुरी छ ।